Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

महानगरको सौन्दर्यकरण र विरासतका विषयहरू

वास्तवमा यस महानगरमा चर्चायोग्य काम नगरवासीले खोजिरहेका छन् । विराटगरमा बसेर बालेन साह र हर्क साङपाङको चर्चा गर्न चाहन्नन्, त्यो सुहाउँदैन पनि । यहीको विषय चाहिएको छ, तर पाइरहेका छैनन्  । त्यसो त चर्चाका लागि विराटनगरमा टुकुचा खोज्नु वा श्रमपार्क बनाउन खोज्नु पनि भएन ।
यज्ञप्रसाद शर्मा
१७ साउन २०८२, शनिवार

कोशी प्रदेशको राजधानी तथा देशकै एक प्रमुख औद्योगिक र व्यापारिक शहरका रूपमा स्थापित विराटनगर महानगरपालिकाले विकास र समृद्धिको यात्रामा थुप्रै सम्भावनाहरू बोकेको छ । एक स्थानीय सरकारको रूपमा महानगरको भूमिका नगरको भविष्यसँग जोडिनु पर्दछ ।

केवल आफ्ना नियमित योजनाहरू कार्यान्वयन गर्नु मात्र होइन, महानगरवासीलाई सपना देखाउने र सपनाका पछि दौडाउने काम पनि हुनुपर्छ । आफूले गर्ने कामका अतिरिक्त अन्य सरकारी निकायहरूसँग समन्वय गरी नागरिकलाई प्रत्यक्ष लाभ हुने काम गराउन सक्नु पनि हो । 

यसै सन्दर्भमा, विराटनगरको मुहार फेर्न र यहाँको सहज जीवनका लागि तत्कालै ध्यान दिनुपर्ने केही महत्वपूर्ण विषयहरूलाई यहाँ प्रस्तुत गरिएको छ । पैसा धेरै नचाहिने सोच, जागरण र समन्वय भए पुग्ने । आशा छ नगर नेतृत्वका लागि सिर्जनात्मक हिसाबले अगाडि बढ्न सहयोग पुग्ने केही सोचहरू अगाडि सार्ने प्रयास गरिएको छ ।

ट्राफिक लाइट : गरिमा थप
विराटनगरका मुख्य चोकहरूमा ट्राफिक लाइट जडान हुनु महानगरको आधुनिकतातर्फको यात्रामा एक महत्वपूर्ण कदम हो । यसले महानगरको गरिमा बढाएको छ । तर, यसको व्यवस्थापन पक्ष अत्यन्तै फितलो देखिन्छ । उदाहरणका लागि, जलजला चोक जस्तो व्यस्त ठाउँमा साँघुरो सडकमा पार्किङलाई अनुमति दिंदा देब्रे लेन पूर्ण रूपमा अवरूद्ध हुन्छ ।  जरूरी नहुँदा पनि हरियो बत्ती पर्खिएर बस्नुपर्छ, सडकको समस्याले गाडीहरू अगाडि बढ्न सक्दैनन् । जामको समस्या जस्ताको तस्तै छ । महानगरले ट्राफिक प्रहरीसँग समन्वय गरी यस्ता स्थानहरूमा  ‘नो पार्किङ’ कडाइका साथ लागू गर्न र लेन अनुशासन कायम गराउन तत्काल कदम चार्नुपर्छ ।

सडक पूर्वाधार : गुणस्तर र समन्वयको खाँचो
महानगरभित्र पर्ने राजमार्गको अवस्था दयनीय छ । भाटभटेनी अगाडि होस् वा होटल मनश्लु इन अगाडिको क्षेत्र, सडकमा रहेका खाल्डाखुल्डी र उबडखाबडले यात्रालाई असहज र जोखिमपूर्ण बनाएको छ । सडक विभागको कार्यक्षेत्र भएको भए पनि महानगरवासीले भोग्नुपरेको समस्याप्रति स्थानीय सरकार मौन बस्न मिल्दैन । 

छिमेकी ग्रामथान गाउँपालिकाले आफ्नो क्षेत्रको सडक मर्मत गरेर उदाहरण प्रस्तुत गरिसकेको छ भने महानगरले किन सडक विभागलाई घचघच्याउन सक्दैन ? तत्काल समन्वय गरी यी सडकहरू मर्मत गर्न र राजमार्गमा रहेको खाल्डाखुल्डी मिलाउन लगाउनु महानगरको दायित्व हो । साथै, जोगबनी जानेबाटोमा रानी क्षेत्रमा कोशी राजमार्गको ढलान बाटोको गुणस्तरबाट पाठ सिक्दै महानगरभित्र बन्ने सडकहरू ढलान गर्ने, ढलान गराउन नसक्ने स्थानमा कम्तीमा ५–१० वर्ष टिक्ने गरी बनाउने नीति लिनुपर्छ । ‘यो वर्ष बनाउने, अर्को वर्ष मर्मत गर्नेे’ प्रवृत्तिको दीर्घकालीन समाधान खोज्न जरूरी

नगरबसको सपना
विराटनगरमा नगरबस सञ्चालन हुने आश्वासन सुनेको वर्षौं भएजस्तो लाग्दैछ, तर त्यो सपना अझै विपनामा परिणत हुन सकेको छैन । के सा“च्चै नै नगरबस सञ्चालनका लागि उपयुक्त बस ल्याउन नसकिएको हो वा इच्छाशक्तिको कमी ?  यदि टाढाबाट बस ल्याउन प्राविधिक समस्या हो भने विराटनगर आसपासका मोटर कम्पनीहरूसँग सहकार्य गरेर ल्याउने हो कि ? यदि यो सम्भव नै नभएको हो भने महानगरवासीलाई पटक–पटक झूट्टा आश्वासन दिनुको कुनै अर्थ छैन । यसबारे एक स्पष्ट नीति र वास्तविक जानकारी सार्वजनिक गरिनुपर्छ । किन रोकियो भन्ने विषयमा नगरबासीमा अन्योल छ । कि विराटनगर महानगरमा नगर बस चल्न विराटनगर आसपासमा नै मोटर कम्पनी सञ्चालनमा आउन जरूरी भएको हो ? प्रश्नहरू अनेक छन् ।

सौन्दर्यकरणमा साझेदारी
कोशी राजमार्ग, पुष्पलाल चोक, घिनाघाट लगायतका स्थानहरूमा भइरहेका सौन्दर्यकरणका कामहरू प्रशंसनीय छन् । तर, यी संरचनाहरू निर्माण गर्नुभन्दा ठूलो चुनौती तिनीहरूको दिगोपन र निरन्तर मर्मतसम्भार हो । यसका लागि निजी क्षेत्र, सामाजिक संस्थाहरू वा स्थानीय समुदायसँग साझेदारीको मोडल अपनाउनु उत्तम हुन्छ ।

निर्माण सम्पन्न भएपछि संरक्षणको जिमेवारी कसको हो भन्ने स्पष्ट योजना नहुँदा केही समयपछि यी संरचनाहरू कुरूप बन्न सक्छन् । त्यसैले तिनीहरूमा भएको राम्रोपनलाई दीगो बनाउन आवश्यक नीति बनाउन र सोही अनुसार पहल गर्न आवश्यक छ ।

प्रज्ञा प्रतिष्ठानको सक्रियता
विराटनगरमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । यो सुखद् खबर हो । साहित्य र कला क्षेत्रमा रूचि राख्नेहरूका लागि गौरवको विषय पनि हो । यो काम विराटनगरले थाल्यो र उदाहरणीय बन्यो । तर यसको प्रभावकारी सञ्चालनमा हुन्छ । सञ्चालनमा ल्याउन यसको लागि भौतिक र संस्थागत संरचना अनिवार्य छ ।

कम्तीमा एउटा कार्यालय, आवश्यक कर्मचारी र स्वतन्त्र रूपमा काम गर्ने वातावरण नभएसम्म प्रतिष्ठानले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन । अन्यथा, यो केवल राजनीतिक नियुक्ति र नाममा मात्र सीमित हुने र हाँसोको नयाँ विषय बन्न सक्ने खतरा रहन्छ । त्यसैले सरोकारवालसँग आवश्यक छलफल गरेर यसलाई सक्रिय बनाउने दिशामा पहल जरूरी छ । 

सार्वजनिक पार्क र सभा स्थल
यो दुःखको कुरा हो कि विराटनगर जस्तो महानगरमा एउटा पनि व्यवस्थित सार्वजनिक पार्क छैन । पार्क नहुनुमा वर्तमान नेतृत्वको दोष वा कमजोरी पनि होइन । तर पनि वर्तमान महानगर नेतृत्वले आफ्नो कार्यकालमा कम्तीमा एउटा सुन्दर पार्क निर्माण गर्नुपर्दछ भन्ने अपेक्षा मात्र हो । यसका लागि सार्वजनिक–निजी–साझेदारी मोडल अपनाउन सकिन्छ ।  महानगरले नै सम्पूर्ण लगानी गर्नुपर्देन । 

 बाल उद्यान, ज्येष्ठ नागरिक उद्यान र पर्यटन सूचना केन्द्र जस्ता कर्नरसहितको एउटा एकीकृत पार्क विराटनगरको आवश्यकता हो । बाहिरबाट आएर दुईचार घण्टा विताउन चाहने पाहुनालाई घुमाउन लैजाने ठाउँ खोइ ? अलमल्याउने ठाउँ खोइ ? नागरिकले आपसमा भेटर कुराकानी गर्ने खुला ठाउँ खोइ ? खुला ठाउँ, खुला वातावरण र खुला सोच निर्माणका लागि पार्क चाहिन्छ । विश्वका अन्य महानगरहरूले पनि सार्वजनिक पार्कमा त्यसै लगानी गरेका होइनन् । विराटनगरमा पनि खाली जमिनहरू प्रशस्त छन्, केवल व्यवस्थापनको खा“चो हो ।
विराटनगर महानगरपालिका हो । कोशी प्रदेशको राजधानी शहर ।

यत्रो महानगरमा सार्वजनिक सभा, भेला, श्रद्धाञ्जलीसभा वा बिरोध प्रदर्शन गर्ने एउटा निश्चित ठाउँ छैन । जसका कारण सडक नै जाम गर्नुपर्ने बाध्यता छ । महेन्द्र चोकको दक्षिणमा रहेको शनिवार हटिया लाग्ने ठाउँलाई महानगरले लिजमा लिएर एउटा सुन्दर पार्कसहितको सार्वजनिक स्थल बनाउन सक्छ । सबैका लागि सुलभ ठाउँ । विगतमा जनआन्दोलन चोक रहेको स्थान नजिकै छ । यहाँ मानिसहरू फुर्सदमा घुम्न पनि सक्छन् र आवश्यक पर्दा शान्तिपूर्ण भेला तथा कार्यक्रम पनि गर्न सक्छन्् । शहरमा सामूहिकताको भाव प्रकट गर्ने ठाउँ चाहिन्छ । अझ सामाजिक सञ्जालमा हराएर परिवारमा समेत सामूहिक कुराकानी घट्दो क्रममा रहेको बेला सामाजिक भेटघाट र सामूहिक भाव प्रकट गर्ने स्थलको महत्व अझै बढिरहको छ ।

राजमार्गका चोकहरूको सौन्दर्यकरण  
कोशी राजमार्गमा पर्ने केही चोकहरूको पहिचान र नामकरणमा ध्यान दिनु आवश्यक छ । तीन मध्ये एक बरगाछी चोक । नाम ‘बरगाछी’ अर्थात् बरको रूख भएको स्थान भए पनि चोकमा त्यसको कुनै चिनो छैन । चोकको आइल्यान्डमा प्रतीकात्मक रूपमा बरको बोट वा प्रतिमा राख्दा यसको पहिचान स्थापित हुनेछ । त्यसतर्फ नगर नेतृत्वको ध्यान जान र सोही अनुसार पहल गर्न आवश्यक छ ।

महेन्द्र चोक ; मूर्तिविहीन ठुटो स्तम्भ भएको चोक बनेको छ, यसले चोकलाई नै कुरूप बनाएको छ । चोकको नाम ‘महेन्द्र चोक’ नै रहिरहने हो भने पूर्वराजा महेन्द्रको शालिक स्थापना गर्नु सान्दर्भिक हुन्छ । यसले कम्तीमा गणतन्त्रमा राजावादीहरूको पनि आस्थाको सम्मान हुन्छ भन्ने सन्देश जान्छ ।  वर्षमा केही पटक उनीहरूले श्रद्धा व्यक्त गर्ने ठाउँ पाउँछन्, निराशाको निकासस्थल बन्न सक्छ । मुख्य कुरा विराटनगरको केन्द्रमा रहेको महेन्द्रचोक कुरूप हुनबाट जोगिन्छ, सौन्दर्यकरण हुन्छ ।
भट्टी चोक : महेन्द्र चोकको उत्तरमा रहेको ‘भट्टी चोक’ को नाम असान्दर्भिक छ । त्यहाँ आसपासमा भट्टी भएको बेला नामकरण गरिएको होला त्यसको । तर, अहिले त्यहाँ भट्टीहरू छैनन् । बाहिरबाट आउने यात्रुहरू भट्टिचोकमा गाडीबाट उत्रिन्छु भन्न हिचकिचाउँछन् । रक्सी खान ओर्लिएको जस्तो अर्थ लाग्न सक्छ भन्छन् ।

 त्यहीँबाट बर्जु गाउँपालिका कार्यालय जाने गाडी छुट्छ । केशलिया खोला हुँदै जाने भएकोले केशलिया जाने बाटोलाई केशलिया मार्ग वा रोड भन्ने गरिएकै छ । त्यसैले यो मोडलाई केशलिया मोड नाम राखे अर्थपूर्ण देखिन्छ ।
अन्त्यमा, उपरोक्त सुझावहरू विराटनगरको उन्नति र दिगो विकासप्रति समर्पित छन् । यी आलोचना होइनन् महानगर नेतृत्वलाई आगामी दिनमा काम गर्न सहयोग पुग्ने मार्गचित्र हुन् । एक सक्षम र दूरदर्शी नेतृत्वले यस्ता रचनात्मक सुझावहरूलाई आत्मासात् गर्दै विराटनगरलाई अझ व्यवस्थित, सुन्दर र बस्न रहर लाग्ने शहर बनाउने दिशामा ठोस कदम चाल्न सहयोग पुगोस् भन्ने चाहना हों ।

वास्तवमा यस महानगरमा चर्चायोग्य काम नगरवासीले खोजिरहेका छन् । विराटगरमा बसेर बालेन साह र हर्क साङपाङको चर्चा गर्न चाहन्नन्, त्यो सुहाउँदैन पनि । यहीको विषय चाहिएको छ, तर पाइरहेका छैनन्  । त्यसो त चर्चाका लागि विराटनगरमा टुकुचा खोज्नु वा श्रमपार्क बनाउन खोज्नु पनि भएन । बरू विराटनगर राजनीतिक शहर हुनुको नाताले राष्ट्रिय राजनीतिको बहस गर्ने शहरकोरूपमा विकास गर्न सकिन्छ । विकासका मोडेल, समसामयिक नीति र सिद्धान्तका बारेमा जमेर बहस र परिचर्चा गरेर ज्ञान उत्पादन गर्ने शहरका रूपमा विकास गर्न सकिन्छ । यसका लागि विज्ञ व्यक्तित्वहरूको साझा थलो एलिट क्लबजस्ता ज्ञान उत्पादनको काम गरिरहेको संस्थाहरूसँग सहकार्य गर्न सकिन्छ ।  
 

View : 546

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved