समाजवाद एउटा पाखण्ड पनि हुन सक्छ
प्राडा गणेश क्षेत्री
१९ औं देखि २० औं शताब्दीसम्म गरिँदै र हुँदै आएका प्रायः जसो आन्दोलन, विद्रोह एवं क्रान्तिहरू, जसलाई सर्वाधिक रूपमा रुचाइयो र जस्तो मान्यता र वैधता समेत प्राप्त गर्न सफल देखिए, ती सबै समाजवादी आन्दोलन र क्रान्तिकै रूपमा चिनिन्छन्। तर, राजनीतिक इतिहासको एउटा वास्तविकता के देखा पर्दछ भने कुनै पनि वाद र शासन प्रणालीले राजनीतिक रूपमा वैधानिकता अपरिहार्य र अनिवार्य हुने गर्छ।
कुनै पनि समाजवादोन्मुख शासन प्रणालीले अधिनायकवादको सट्टा संघीयता र समावेशीतालाई रोज्ने गरे तापनि, त्यसको कार्यान्वयन गर्दा अपनाइने कार्यनीति र रणनीतिहरूले वैधानिकता एवं मान्यता प्राप्त गर्न सक्नुपर्छ।
प्रारम्भतः साम्राज्यवाद लागू गरिने कुनै पनि मुलुकहरूमा निमित्त समाजवाद एउटा नचिनेको र नहिंडेको बाटो हुने गर्दछ। तर, केन्द्रीय राज्य वा शासन सत्ताका सञ्चालकहरूले यिनै एक मात्र मुलुकको बाटो हो र रुचि, चाख एवं अपनत्व जनतामा जगाउने अनिवार्य दायित्व पूरा गर्न सक्नुपर्छ।
रुचि र अपनत्व जगाउने दायित्व पूरा गर्न सत्ता सञ्चालकहरूले पूर्ण संकल्प र रणनीतिका साथ दायित्व पूरा गर्न नसक्दा, समाजवाद एउटा पाखण्डको रूपमा परिणत हुने कुरामा शंका रहँदैन। किनकि, त्यस्ताका समाजवादका निमित्त सत्ता सञ्चालन गर्नेहरूले फ्रान्सेली दार्शनिक मिसेल कुक्रोका कथन अनुसार निम्न दायित्वहरू पूरा गरेका हुँदैनन्:
राजनीतिको कार्यान्वयन र विस्तार मुलुकीहरूको जन्मकालदेखि मृत्यु पर्यन्तसम्म गरिरहेका हुँदैनन्।
उनीहरूले गरेको राजनीतिक पोषणदेखि कुपोषणसम्म पुग्न सकेको हुँदैन।
त्यसैगरी, उनीहरूको राजनीतिक कूल मुलुकीहरूको जन्मदरदेखि मृत्युदरसम्म पुग्न सकेको हुँदैन।
सामाजिक न्यायको विमुखताले गर्दा लोककल्याणकारी राज्यको अभावको सिर्जना हुन्छ।
उपरोक्त चार विशेषताहरूको उपस्थिति हुनासाथ समाजवाद एउटा पाखण्ड हुन पुग्दछ। किनकि, समाजवादी आन्दोलन र क्रान्तिहरूले निर्मित राज्यसत्ता वा प्रणालीको स्वरूप परिवर्तित रूपमा देखा परेता पनि, यसको गुदी तत्व (सबस्टान्स) मा कुनै पनि नौलो परिवर्तन आएको हुँदैन।
कारण:
यो सबै किसिमको अधिनायकवादबाट मुक्त हुन सकेको हुँदैन।
अदृश्य हातहरू र विचौलियाहरूको शिकञ्जाबाट मुक्त हुन सकेको हुँदैन।
भ्रष्टाचार एवं माफियातन्त्रको पञ्जाबाट मुक्त हुन सकेको हुँदैन।
एउटा मुलुक एउटा सिंगो राज्य बन्नबाट बन्देज गरिएको हुन्छ।
यो स्वावलम्बी, स्वभाविक नभै पराश्रित एवं विदेशी चलखेलको चक्रमा पर्न पुग्दछ।
अपारदर्शीले नछोएको राज्यको कुनै अङ्ग रहेको हुँदैन।
अयोग्यहरू र अधमहरूले शासन सत्तामा कब्जा जमाएर योग्य, दक्ष, विशेषज्ञ र निपुणहरू किनारा लाग्दै वा बहिष्कृत हुँदै जान्छन्।
सबै किसिमका राष्ट्रिय हित वा स्वार्थहरू वास्तवहीन हुन पुग्छन्।
समाजवादको बोक्राभित्रको गुदी तत्व (सबस्टान्स) मा परिवर्तन आउन सकेन र उपरोक्त तत्वहरू उल्लेख्य रूपमा देखा पर्नु भनेको नै समाजवाद पाखण्डमा परिणत हुनु हो।
समाजवाद पाखण्ड हुनासाथ, समाजवादी फासीवाद जन्मिन्छ। किनकि त्यसयता राज्यसत्ताले अन्धराष्ट्रवादको बाटो समात्न पुग्दछ। यस्तो राष्ट्रियताको मुद्दालाई राजनीतिक एकल मुद्दा बनाउँदा, जब कि राष्ट्रको मुद्दा राजनीतिक मुद्दा नै होइन।
समाजवादको कार्यान्वयनकर्ताहरूले मुलुकभित्र देखापर्ने वैचारिक विविधताहरू लगायत अनेकताहरूलाई सामंजस्यपूर्ण रूपले समायोजन गर्न अस्वीकार गर्दै लगे भने, तथा समाजवादी चिन्तन अन्तर्गत 'लिनियर डाइनामिक्स' चिन्तनको प्रभाव विस्तार हुन पुग्यो भने, निश्चित रूपमा हिटलरी फासीवादको उदय हुन पुग्दछ।
निर्वाचनबाटै सत्तामा कब्जा जमाउन सफल हिटलर स्वयं पनि फासीवादको चिन्तकको रूपमा देखा परेका हुन् भने रूसमा स्वयं स्टालिनले कैयन कुराहरू राष्ट्रियताकै जगमा कार्यान्वयन गर्दा फासीवादी मौलाउन पुग्यो।
यसरी हेर्दा, मुलुकीहरूको व्यवहारिक जीवनशैली र राजनीतिक दर्शनको बीचमा छिचोल्न नसकिने ठूलो खाडल वा ३६ अङ्कको आकडा देखा परेमा, समाजवाद जुनसुकै थरी र प्रकारको किन नहोस्, 'एउटा पाखण्ड' मात्र देखा पर्न जान्छ।
View : 306
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved