Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सन्दर्भ: विश्व श्रवण दिवस

इयरफोनको प्रयोग कत्तिको गर्नुहुन्छ ? बहिरोपना निम्त्याउला है !

जुनु भट्टराई
२१ फागुन २०८०, सोमवार

विराटनगर । तपाईंले इयरफोनको प्रयोग कत्तिको गर्ने गर्नुभएको छ ? फुर्सद भयो कि कानमा इयरफोन लगाएर रमाउने गर्नुभएको त छैन ? यदि त्यस्तो गर्ने गर्नुभएको छ भने सचेत रहनुहोस्, तपाईको यही बानी तपाईको स्वास्थ्यको लागि घातक बन्न सक्छ । 

धेरैले त्यसो गर्दै संगीत सुन्न इयरफोन प्रयोग गर्छन । कतिपयले घन्टौं इयरफोन लगाइ राख्छन् । विज्ञहरुका अनुसार कानमा नियमित लामो समयसम्म इयरफोनका प्रयोगले श्रवणशक्तिमा निकै ह्रास ल्याउने गर्दछ जसकारण  मानिसमा बहिरोपनाको समस्यासमेत निम्तिन सक्छ । 

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को २०१८ को तथ्यांकअनुसार संसारभर ४६ करोड (६.१५ प्रतिशत) मानिसहरुमा श्रवण अशक्तता अर्थात बहिरोपनाको समस्या छ ।  कानले सुन्नसक्ने क्षमता नहुनु नै  बहिरोपना हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार १४ वर्षभन्दा बढी उमेर भएका मानिसमा ४० डेसिबलभन्दा माथि ‘हेयरिङ लस’ छ भने बहिरोपना भनिन्छ । १४ वर्षभन्दा कम उमेरकामा ३० डेसिबल भन्दा कम कान सुनिन्छ भने बहिरोपना हुन्छ । 

डब्लूएचओका अनुसार विश्वमा १० करोड एक लाख युवा चर्को आवाज सुन्नका कारण बहिरोपनको जोखिममा छन् । जसमध्ये धेरैजसो ३५ वर्षमुनिका युवाहरू यस्ता जोखिममा पर्ने गरेको पाइएको छ, यसको कारण भने यो उमेर समूहका युवाहरु गीत सुन्नका लागि इयरफोनको प्रयोग गर्ने गरेका छन् ।

हिजोआज, प्रविधिको विकासका कारण घरबाहिर निस्किदा गीतसंगीत सुन्दै हिड्ने चलन बढेको छ । स्कुल कलेज वा कार्यालय जाँदा आउँदा प्रायले कानमा इयरफोन घुसारेको देख्न पाइन्छ । मर्निङ वाक गर्नेले समेत इयरफोनमार्फत संगीत वा समाचार सुन्दै हिडेको पाइन्छ ।

यतिसम्म कि दुर्घटना हुनसक्ने तथ्यलाई ख्यालै नगरी सवारीसाधन चलाउँदासमेत कानमा इयरफेन लगाइरहेका हुन्छन् । इयरफोनमा गीत सुन्ने बानी छ भने इयरफोनको ठुलो आवाजले पनि श्रवण शक्ति कम हुँदै जान्छ ।

कतिपय किशोरकिशोरी र युवायुवती कोठा बन्द गरेर ठूलो स्वरमा ‘म्युजिक सिष्टम’ बजाएर आनन्द लिने गर्छन । यिनै कारण कानले सुन्ने क्षमतामा ह्रास आएर बहिरोपनाको सम्भावना हुन्छ । हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै छन् ।

कोशी अस्पतालका नाक कान घाँटीरोग बिशेषज्ञ डा. रौनक दाहाल एयरफोन घन्टौंसम्म कानमा लगाउदा यसले सुन्ने क्षमतामा प्रभाव पार्ने र कानसम्बन्धी विभिन्न समस्या निम्त्याउने भएकाले इयरफोनका प्रयोगकर्ताले यस्ता विषयमा सचेत रहन जरुरी भएको बताउँछन् ।  

स्वास्थ्यको दृष्टिकोणले लामो समयसम्म इयरफोनको प्रयोग गर्दा बुढेसकालतिर यसको युवावस्थामै नशा सुक्नुका साथै बुढेसकालमा असर देखिदै जाने समस्या आउन सक्ने उनी बताउँछन् ।

उनका अनुसार इयरफोनको प्रयोग बढी भए सुन्ने क्षमतामा कमी आउने मात्र होइन, कानका भित्री हेयरसेलहरू नष्ट हुनेदेखि लिएर सुनाइ पूरै बन्द हुने पनि देखिन सक्छ । डा दाहालका अनुसार इयरफोन लगातार प्रयोग गर्दा कानमा जाने ब्याक्टेरियाका कारण हुने संक्रमणमा समेत वृद्धि हुने गर्दछ । उक्त समस्यालाई सामान्य सोचेर हेलचेक्य्राइँ गरेमा समस्या बढ्दै गएर बहिरोपनको समस्यासमेत निम्त्याउन सक्छ ।

चिकित्सकहरुको अनुसार लामो समयसम्म इयरफोन प्रयोग गर्नाले दिमागमा समेत नकारात्मक असर पार्छ । इयरफोनबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक तरङ्गले कानसँगै दिमागमा पनि असर पार्छ । इयरफोन लगाउँदा कानमा हावाको प्रवाह रोकिन्छ ।

जसले गर्दा कानमा विभिन्न किसिमका संक्रमण हुन सक्छन् । धेरै समयसम्म इयरफोन प्रयोग गर्ने मानिसले स्पष्ट नसुन्ने समस्या देखिन सक्छ ।

चर्को ध्वनी सुन्दा कानको पर्दा भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । आवाज धेरै चर्को हुँदा र लामो समयसम्म बज्दा कानका श्रवण कोषहरू बिग्रन सक्छन् ।
पहिले–पहिले मानिसहरूको श्रवण शक्ति हराउनुको मुख्य कारण ध्वनी प्रदूषण हुने गर्थ्यो । तर हिजोआज धेरैजसो युवाहरूमा श्रवण शक्ति गुम्नुको कारण धेरै हेडफोन अथवा इयरफोनको प्रयोग गर्नाले हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ ।

यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ । यस्ता इयरफोनले कानका नलीको भित्र गहिराई बनाउने काम गर्छ । जसले बहिरोपना निम्त्याउन सक्ने भएकाले लामो समयसम्म इयरफोनको प्रयोग नगर्न विज्ञहरुले सुझाव दिएका छन् । 

श्रवण स्वास्थ्यको बारेमा जानकारी दिने उद्देश्यलले हरेक बर्ष अंग्रेजी महिना मार्चको ३ तारिखका दिन विश्व श्रवण दिवस मनाइदै आएको छ । यस वर्ष पनि आइतबार विभिन्न कार्यक्रम गरी विश्व श्रवण दिवस मनाइयो ।

दिवस मनाउने क्रममा विज्ञहरुले नेपालमा नेपालका स्वास्थ्य क्षेत्रको नीतिगत रुपमा पछाडि परिएको पहिलो प्रमुख स्वास्थ्य समस्यामा बहिरोपनाको समस्या रहेको गुनासो सरोकारवाहरुको छ । उनीहरुले बिभिन्न तथ्यांककले दक्षिण एशियामा सबैभन्दा बढी बहिरोपनाको समस्यामा नेपाल रहेको देखाएको भन्दै  पनि यसको नीतिगत कार्यक्रमको आवश्यक रहेको बताएका छन् ।

View : 392

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved