विराटनगर । नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीचको नयाँ सत्ता गठबन्धन अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती र गण्डकी प्रदेशमा धमाधम सरकार फेरिने प्रक्रिया अघि बढेको छ । तर, कोशी प्रदेशमा भने अहिलेसम्म गठबन्धनकै दलहरुबीच परिणाममुखी सम्वादसमेत हुन सकेको छैन ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री केदार कार्कीले यही सरकारले निरन्तरता पाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै आएका छन् । उनको जिकिरमा फेरिएको नयाँ सत्ता गठबन्धनको एमाले बाहेकका दलहरुले भने अघोषित समर्थन जनाइरहेका छन् ।
कार्की नेतृत्वको सरकार हटाउने प्रक्रियाको विषयलाई देखाएर गठबन्धनका दलका नेताहरु आफू मुख्यमन्त्री बन्ने उपायको खोजीमा केन्द्रित भएका हुन् । कोशीबाहेकका प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्ने प्रक्रिया धमाधम अघि बढिसक्दा गठबन्धन दलहरुलाई दवाव बढ्न थालेको हो ।
अन्य प्रदेशको सरकार फेरिएझैं कोशीमा पनि अब केही दिनभित्रै सरकार फेरिने निश्चित भइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी दाबी गर्छन् ।
‘यहाँ जसरीपनि केदार कार्कीको सरकार फेरिन्छ, त्यसको ठोस तयारी अघि बढिसकेको छ, सरकारै फेरिन नसक्ने भन्ने कहिँकतै व्यवस्था छैन’ उनले भने, ‘अब सबै प्रदेशमा कुरा मिल्दै आइसकेको छ, एमालेले गठबन्धनको सहमति अनुसार नै कोशीमा नेतृत्व गर्ने कुरामा आशंका गर्ने ठाउँ छैन, गठबन्धनभित्रैबाट सरकार फेर्ने अन्तिम तयारी अघि बढ्छ ।’
उनले उपधारा (५) को सरकार फेरिनै नसक्ने भन्ने कुरा गलत भएको कुरा सर्वोच्च अदालतबाट स्पष्ट व्याख्या भइसकेका कारण अब प्रक्रिया अघि बढ्ने जानकारी दिए । तर, एमाले प्रमुख सचेतक भण्डारीकै जस्तो दाबीका लागि गठबन्धनका अन्य दलहरु अहिले नै तयार भइसकेका छैनन् ।
एमालेबाटै विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङले भागबण्डामा कोशी प्रदेश एमालेकै भागमा परेको बताइन् । तर सरकार कसरी फेर्ने भन्ने बिषय भने निकै जटिल रहेकोले अहिले नै निर्णयमा पुग्न नसकिएको जानकारी दिइन् ।
‘कोशीमा अहिलेसम्म सरकार फेरिहाल्ने गरी कुरा अघि बढेको छैन, सातै प्रदेशमध्ये यो प्रदेशमा फरक अवस्था छ, संविधानको धारा १६८ को उपधारा (५) प्रयोगमा ल्याइसकेका कारण अलिक गाह्रो देखिएको सबैलाई थाहै छ’ उनले भनिन्, ‘वर्तमान मुख्यमन्त्रीले पनि सरकारबाट हट्दैहट्दिन भन्ने कुरा गरिरहनु भएको छ, सबै कुरा मिलाउने कुरा भइरहेको छ, मिलेपछि सरकार परिवर्तन हुने फ्रक्रिया अघि बढ्छ ।’
एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले तत्कालीन गठबन्धन दलहरुबाट मन्त्री नियुत्त गरेपछि एमालेले उनको साथ छाडेको थियो । कांग्रेसबाट आठ सांसदसहित विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीप्रति उनैलाई समर्थन गर्ने सांसदहरुसहित कांग्रेसका अघिकांश सांसदहरु रुष्ट छन् ।
मुखैमा आएको मुख्यमन्त्री पद कार्कीकै विद्रोहका कारण गुमाउनु परेको सवैभन्दा ठूलो पीडा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भोगेका छन् ।
एमालेसँग सम्बन्ध बिग्रिएको र कांग्रेसका कार्कीले भाग खोसिएका कारण उनी फेरि पनि मुख्यमन्त्री बन्ने बाटोको खोजीमा छन् । तर, फेरि पनि कोशीको मुख्यमन्त्री एमालेको भागमा परेको भन्दै उनी अर्काको लागि सरकार फेर्न नकुद्ने रणनीतिमा मौन बसिरहेका छन् ।
तर माओवादीकै एक सांसद भने सरकार फेर्ने उपयुक्त बाटोको तय गरेर गठबन्धनको भावना अनुसारकै सरकार बनाउनुपर्ने बताउँछन् । माओवादीले यसपटक पनि कोशीको नेतृत्व गर्न नपाएका कारण दलका नेतासहित कार्यकर्ताहरुमा केही असन्तुष्टि रहेको उनले बताए ।
View : 190
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved