Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
विचार

पशुबलि प्रथा, धर्म र संस्कृतिमा अन्धविश्वास

नेपाल जहाँ भगवान बुद्धको जन्मभूमि रहेको छ, यहाँ धर्म र परम्पराको नाममा अबोध प्राणीहरूको क्रुर हत्या अमानवीय र असभ्य मानिन्छ । हिन्दू धर्मका मूल शास्त्रहरू, जस्तै वेद र गीतामा कुनै स्थानमा पनि अबोध पशुहरूको बलि दिनुपर्ने कुरा उल्लेख गरिएको छैन । बलि प्रथा केवल दन्त्य कथाहरूमा आधारित छ र यसले हिन्दुत्वको विरुद्धको कुरीति र कुसंस्कारलाई प्रकट गर्छ ।
तोमनाथ उप्रेती
२८ चैत २०८१, बिहिवार

धर्म, आचार, विचार र संस्कारको समग्र रूप हो जसले मानिसको जीवनको दिशा निर्धारण गर्दछ । धर्म केवल विश्वास र आस्थाको मात्र विषय होइन, यसले मानव जीवनलाई सही मार्गमा लैजानका लागि आचार, विचार र व्यवहारका नियमहरू प्रस्तुत गर्दछ । प्रत्येक धर्मको आफ्नै विशेषताहरू छन् जसले समाजमा नैतिकता, सद्भाव र शान्तिको स्थापना गर्न मद्दत पुर्याउँछ ।

धर्मको आचार भनेको सही आचरण र व्यवहारको परिभाषा हो जसलाई समाजमा समर्पण र प्रेमको साथ पालन गर्नुपर्ने हुन्छ । विचार भनेको धर्मको सन्देश र शिक्षा हो जसले जीवनलाई अर्थपूर्ण बनाउँछ । संस्कार भनेको ती शिक्षाहरू र व्यवहारहरूको श्रृंखलाबद्ध अभ्यास हो जसले व्यक्ति र समाजलाई सद्गुण र नैतिकतामा उन्नति गराउँछ ।

आजको समयमा विश्वभरि मानव अधिकारसँगै पशु अधिकारको सवाल पनि उठिरहेको छ, तर हाम्रो देशमा निर्दोष जनावरहरूको बलीको नाममा सामूहिक हत्या भइरहेको अवस्था विद्यमान छ । नेपाल जहाँ भगवान बुद्धको जन्मभूमि रहेको छ, यहाँ धर्म र परम्पराको नाममा अबोध प्राणीहरूको क्रुर हत्या अमानवीय र असभ्य मानिन्छ । हिन्दू धर्मका मूल शास्त्रहरू, जस्तै वेद र गीतामा कुनै स्थानमा पनि अबोध पशुहरूको बलि दिनुपर्ने कुरा उल्लेख गरिएको छैन । बलि प्रथा केवल दन्त्य कथाहरूमा आधारित छ र यसले हिन्दुत्वको विरुद्धको कुरीति र कुसंस्कारलाई प्रकट गर्छ । धर्म र संस्कृतिका बीचको भेद बुझ्न आवश्यक छ, किनकि धर्मले हिंसा र हत्या नगर्न भन्ने शिक्षा दिन्छ, जबकि संस्कृति र परम्परा कहिलेकाहीं गलत धारणामा आधारित हुन सक्छन् ।

नेपालमा धर्म र संस्कृति बीचको भेद स्पष्ट छैन । धेरैजसो परम्पराहरू हिन्दू धर्मसँग सम्बन्धित छन्, जबकि केही परम्पराहरू अज्ञानताको कारण धर्मसाग जोडिएका छन्, जस्तै गढीमाइ बलि प्रथा । देवी मन्दिरहरूमा दशैंको समयमा दिइने बलि र पुरानो समाजमा प्रचलित सती प्रथा यसको उदाहरण हुन् । यद्यपि हामी भौतिक विकासमा अगाडि बढेका छौं, तर अझै पनि नेपाली समाजमा अन्धविश्वास कायम छ ।

उदाहरणस्वरूप, दुई–कोठे घरको ढलान गर्दा पनि बोकाको बलि दिनु, घर बलियो बनाउने विश्वासमा आधारित एक कुरीति हो । यो प्रवृत्ति संस्कृति र धर्मको साँचो ज्ञानको अभावको कारण रहेको छ । न त हामी आधुनिक सभ्य मनिस सरह सोच–कार्य गर्न सक्यौ, न त आफ्नै धर्मको नै पूर्ण ज्ञान लिएर संस्कृति सुधार्न सक्यौं । 

बुद्धको फोटोमा अगरबत्ति जलाउने अनि बलीको नाममा मार हान्न हिड्ने, हातमा लडडु लिई बसेका गणेशलाई ढोग्ने अनि अण्डा फुटाइ चढाइ दिने । यो ब्रह्माण्ड नै भगवानको हो, भगवान त सर्वशक्तिमान छन् भन्ने पनि दिमागमा पाल्ने अनि उनै भगवान चाहिं बोको पाउनको लागि मेरो भाकल पुरा गर्छन् भन्ने पनि सोच्ने । धार्मिक दृष्टिले हेर्दा, यदि कसैले भाकल गरेको नाममा बली दिई हाल्छ भने पनि त्यो अर्थहिन देखिन्छ । सबै प्राणीले आफूलाई जत्तिकै माया गर्ने, अरुप्रति दया, प्रेम र करुणा देखाउने, पूर्ण शाकाहारी, सात्विक भोजन र र योगबाट पवित्र जीवन जिउने व्यक्ति मात्र पूर्ण मानव हुन सक्छ । हिन्दू धर्मको नाममा फैलिएको विभ्रान्ति र त्यसैबाट पैदा भएका कु–संस्कारहरू नेपाली समाजको चुनौती हुन् । 

धर्मको वास्तविक अर्थ हिंसा, हत्या, वा रगत चढाउनु होइन । धर्म भनेको मन, वचन र कर्मले कसैको हिंसा नगर्नु, सबै प्राणीमा सद्भाव राख्नु र अरुलाई दुख नपुर्‍याउनु हो । ‘बलि’ शब्द पनि हिंसा र रगतको अर्थमा प्रयोग भएको छैन ।

बलि भन्नाले, भोजनका लागि पकाइएको हविष्यान्न, फलफूल, गहुँ, चामल आदिलाई सम्मानपूर्वक अर्पण गर्नु हो । मनुष्यको जन्म हिंसा वा मासु खाने उद्देश्यले भएको होइन, बरु धर्म, दया, माया, प्रेम र आत्म–नियन्त्रणका गुण अपनाउनका लागि हो । धर्मको अभ्यासले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ, र यसको उद्देश्य स्वार्थपूर्ति होइन, सबै प्राणीप्रतिको करुणा र सहानुभूति हो ।

पशुबलि प्रथा समाजमा अझै पनि प्रचलित छ, जहाँ मानिसहरू देवदेवीहरूको आशीर्वाद र इच्छा पूर्ति गर्नको लागि निर्दोष पशुहरूको बलि दिने विश्वास राख्छन् । यो प्रथा विशेषगरी देवाली, कुल पूजामा र दसैंजस्ता परम्परागत चाडहरूको क्रममा देखा पर्दछ । पशुबलिको अभ्यासलाई धार्मिक परम्पराको रूपमा स्वीकार गरिएको छ, जबकि अहिंसावादीहरू देवी दुर्गाको उपासना फलफूल अर्पण गरेर गर्छन् । तर बलि प्रथावादीहरूले परम्परा पालन गर्ने नाममा निर्दोष पशुको हिंसात्मक वध गर्छन्, जसले संस्कृतिको पवित्रतामा प्रश्न उठाउँछ ।  यस कुरीतिले समाजमा असभ्यता र अमानवियता फैलाएको छ ।

बलि प्रथा समाजमा विद्यमान रहनुका मुख्य तीन कारण छन् । पहिलो कारण अन्धविश्वास हो, जसका अनुसार अवोध पशुको बलि दिंदा देवता खुशी हुन्छन् र इच्छाहरू पूरा हुन्छन् । यस अन्धविश्वासले कुप्रथाहरूको विकास र निरन्तरतामा योगदान पुर्‍याएको छ ।

दोस्रो कारण राज्यको प्रश्रय हो, जहाँ कुप्रथाहरूलाई परम्पराको नाममा समर्थन गरिन्छ । राज्यले बलि प्रथाको समाप्ति गर्ने सट्टा, विभिन्न शक्तिपीठहरूमा बलि चढाउनको लागि आर्थिक सहयोग दिन्छ, जसले कुप्रथालाई फ्रोत्साहन गर्दछ । तेस्रो कारण धार्मिक व्यक्ति र संस्थाहरूको द्वन्द्व हो । केही रुढिवादी धार्मिक व्यत्ति बलि प्रथालाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने आध्यात्मिक दृष्टिकोण राख्ने व्यक्तिहरू यसका विरोधमा उभिएका छन् । यसले समाजमा बलि प्रथाको अस्तित्वलाई थप जटिल बनाएको छ । अहिले हामिले परम्परा र संस्कारका नाममा जे जति गर्दै आएका छौ त्यो सवै कुआस्था र  कुविस्वास मात्र हो । आस्था र विस्वास छ सवै छ , भगवान छ ,  हामीले श्रद्धा र भक्तिले चढाएको देवीदेवताले ग्रहण गर्छ अनि हामीलाई आशीर्वाद पनि दिनु हुन्छन् । त्यसैले हामी देवी देवताका नाममा फुल, नैबद्य, र मांशाहारी अनि तन्क्र र शत्ति साधना विस्वास  गर्नेहरुले पशु बलि समेत दिने प्रथालाई कायम गरिदै आएका छन् ।

हो मासु खानैका लागि मात्र  मन्दिरमा लगेर परम्परा अनि श्रद्धा भक्तिका नाममा आडम्बरितामा बली पूजा गर्दै बोका काट्न लगाएर मासु खानु   र बली दिने कार्य परम्परा र धर्म संस्कार बिपरित छ । यो धर्मको नाममा कलंक मात्र हो ।  

हिन्दू धर्मलाई सनातन धर्म पनि भनिन्छ । जुगौदेखि चलिआएको भएकालाई यसलाई सनातन धर्म भनिएको जान्ने बुझ्नेहरूको मत छ । वेद, उपनिषद तथा पुराणहरूलाई आधार मान्दै विभिन्न सम्प्रदाय समेट्ने समावेशी जीवनपद्धतिको अर्को नाम हो हिन्दू । विश्वको प्राचीन मत हो हिन्दू । प्रतिशतका आधारमा संसारमै सबैभन्दा धेरै हिन्दू भएको देश नेपाल हो । संख्याको आधारमा सबैभन्दा धेरै हिन्दू मतावलम्बीहरू भएको देश भारत हो । ‘हिंसायाम दूयते या सा हिन्दू’ भनिन्छ । जसको अर्थ हो, जो आफ्नो मन, वचन र कर्मले हिंसाबाट टाढा छ उही नै असल हिन्दू हो ।

तपोभूमि नेपालमै जन्मेका महामानव गौतम बुद्धलाई कतिपय हिन्दूजन भगवान विष्णुको अवतार मानी पुज्छन् । संसारमा अत्याचार र पापाचार बढेका बेला भगवानको बेलाबेला पुनर्जन्म हुने कुरा श्रीमद्भागवतमा छ । बौद्ध दर्शनको अष्टाङ्गमार्ग अन्तर्गत हिंसालाई खराव कर्म भनिएको छ । संयक आजीविका अर्न्तगत मांस वणिज्जा, पशुवणिज्जा, शस्त्रवणिज्जा अर्थात् माशु, पशु र काटमार गर्ने शास्त्रको व्यापारलाई निषेध गरिएको छ । भगवान गौतम बुद्धले मांशभोजन गर्ने व्यक्ति कोही पनि आफ्नो चेला हुन नसक्ने समेत स्पष्ट रुपमा बताउनु समेत भएको छ । 

सबै सन्दर्भको सार हो, हामी कमाउने नाउँमा, ज्यान हाल्ने नाममा, कतिपय ठाउँमा भगवानकै नाम लिएर प्राणीहत्या गरिरहेका छौं र धर्मको खिल्लि उडाइरहेका छौं । हामीलाई वर्षौंदेखि त्यस्तै चलन र स्वाद सिकाइयो । हामीलाई त्यही सही लाग्दै गयो । हामी स्वाद र चलनमा अल्मलिंदै गयौं । तर थोरै प्रयास गर्ने हो भने हाम्रो सनातन करुण दर्शनको पालना हुनेछ । फेरि मासु नखाँदा शरीरलाई कुनै हानी छैन । विज्ञानले धेरै अघि प्रमाणित गरिसकेको छ कि वनस्पतिबाट प्रोटिन, भिटामिनलगायत आवश्यक तत्व वनस्पतिबाटै सम्भव छ । 
धर्मको मूल अहिंसा हो । त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु ।

पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ । पूजा उपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?

पशुबलि प्रथा समाप्त गर्नका लागि सांस्कृतिक पुनर्जागरण कार्यक्रमलाई एउटा अभियानको रूपमा लागू गर्नु अत्यन्त महत्वपूर्ण छ । नेपालमा धार्मिक र सांस्कृतिक परम्पराको नाममा निर्दोष पशुको बली दिने प्रथा प्रचलित छ, जसले समाजमा हिंसा र अमानवियता फैलाउँछ । यस प्रथाले पशुहरूको पीडित अवस्था सिर्जना गर्दछ । मानिसहरूको मानसिकता पनि हिंसा र क्रूरता प्रति संवेदनहीन बनाउँछ ।

सांस्कृतिक पुनर्जागरणको माध्यमबाट हामीले जनचेतना फैलाउन सक्छौं र मानिसहरूलाई धर्म र संस्कृतिको सही अर्थ बुझाउन मद्दत पुर्‍याउन सक्छौं । यसका लागि विद्यालय, मठ–मन्दिर र समुदाय स्तरमा धार्मिक शिक्षक, समाजसेवी  र प्रबुद्ध व्यक्तिहरूको सहयोग आवश्यक छ । यो अभियानले धार्मिक परम्पराको सही अभ्यास र अहिंसा, करुणा र दया जस्ता मूल्यहरूको महत्त्वलाई प्रमुखता दिनुपर्नेछ ।

यस अभियानले पशुबलि दिने परम्परा मात्र होइन, त्यससँग जोडिएका अन्धविश्वास र कुरीतिहरूलाई पनि समाप्त गर्न मद्दत गर्नेछ । समुदायमा सकारात्मक परिवर्तन ल्याउन र धर्म र संस्कृतिका वास्तविक उद्देश्यहरूको पालन गर्न हामीलाई सांस्कृतिक पुनर्जागरणको माध्यमबाट एकजुट हुन आवश्यक छ ।

(उप्रेती नेपाल सरकारका उफसचिव हुन्।)

tomnath2022@gmail.com  

View : 125

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved