विराटनगर । नेपालमा चराको राजधानी भनेर चिनिने कोशीटप्पुमा ३७ वर्षदेखि चरा गणना हुंँदै आएकोमा यसपालि सबैभन्दा कम चरा पाइएको छ । मानवीय अतिक्रमणले साइबेरियादेखि जाडो छल्न आउने चराको संख्यामा कमी आएको हो । स्थानीय रैथाने जलपंक्षी पनि यस वर्ष कम रहेको पाइएको छ ।
बुधबारदेखि कोशीमा गरिएको जलचरा गणनामा सहभागीले यस वर्ष चराको संख्या निराशाजनक भएको बताए । यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने स्थानीय चराप्रेमीको भनाइ छ ।
२३ वर्षदेखि चरा गणनामा सहभागी हुँंदै आएका कोशी पंक्षी समाजका पूर्व अध्यक्ष अनिश तिम्सिनाले कोशी नदीमा माछा मार्ने मानिसको अनावश्यक आवत–जावतले चराको जाति र संख्यामा कमी पाइएको बताए । कोशी नदीमा २२ प्रजातिका हाँस प्रजातिका चरा पाइने गरेकोमा गत वर्षसम्म गणनामा १० प्रजातिसम्म देखिने गरिएको थियो ।
यस वर्षको गणनाको दुई दिनमा चार प्रजातिका मात्रै हाँस प्रजातिका चरा देखिएको तिम्सिनाले बताए । चराको अध्ययन र अवलोकनका लागि विश्वका बिभिन्न देशबाट पर्यटकहरु कोशी टप्पुमा आउने गरेका छन् । यस वर्षको चराको निराशाजनक तथ्याङ्कले देशकै चर्चित चराको अस्थायी बासस्थान कोशीटप्पुका बासिन्दालाई चिन्तित बनाएको छ ।
चराले नै संसारमा नाम चलेको कोशी टप्पुमा मानिसको अवरोध नरोकेसम्म पाहुना चरालाई सम्मान गर्न नसकिने बताउंदै चराप्रेमी प्रेम थुलुङले कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको क्षेत्रमा पनि मानिसलाई सरकारले रोक्न नसकेको बताए । केही वर्षदेखि हङ्कङ् बस्दै आए पनि हरेक वर्ष चरा गणनामा कोशीटप्पु आउने गरेका उनले कोशीमा माछा मार्नेलाई नियन्त्रण गर्न खोज्दा मन्त्रीको दवाब आउने गरेको जानकारी दिए ।
आरक्षभित्र मानिसको आवत–जावत नियन्त्रणको जिम्मेवारी कोशीटप्पु वन्यजन्तु आरक्ष प्रशासन र नेपाली सेनालाई छ । यस वर्षको चरा गणनाको पहिलो दिन बुधबार नेपाली सेनाको आरक्षण गुल्मले नै सहभागिता नजनाएर बहिस्कार गरे पनि दोस्रो दिन बिहीबार पूर्वी पृतनाका पृतनापति डा आशबहादुर गुरुङनै सहभागी भएर जलपंक्षी गणनालाई समर्थन गरेका थिए ।
उनी जलमार्गबाट बिहानदेखि बेलुकासम्म नदीमा चरा गणनामा सहभागी भएका थिए । ३७ वर्षदेखि कोशीटप्पुमा चरा गणना हुँंदै आएको छ ।
पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाका अनुसार युरोपदेखि उडेर जाडो छल्न आउने चराका कतिपय प्रजातिले बच्चा कोरलेर लैजाने गरेका छन् । बच्चा हुर्काएर फर्कने क्रममा अवरोध भए ती बच्चा बयस्क भएर अर्को वर्ष यस क्षेत्रमा आउने सम्भावना कम रहन्छ ।
कोशी पंक्षी समाजको अगुवाईमा गरिने गणनामा बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउण्डस, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद संघलगायतका संस्थाको संलग्नता रहदै आएको छ ।
विश्वमा पाइने चरा मध्ये नेपालमा ८ सय ९२ प्रजातिका पाइन्छन् भनें कोशी टप्पुमा मात्रै ५ सय ३५ प्रजातिका पाइन्छन् ।
View : 135
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved