२०८३ साल वैशाख १६ गते दिउँसो २ बजेदेखि नै मकालु बहुउद्देश्यीय सहकारी संस्था, विराटनगर ट्राफिक चोकमा निकै भिडभाड थियो।
त्यस दिन सहकारी संस्थाका सदस्यहरूको विराटनगर–पोखरा, पोखरा–जोमसोम, मुक्तिनाथ यात्राको शुभारम्भ हुँदै थियो।
संस्थाका सञ्चालक अध्यक्ष नन्दीकिशोर भण्डारीसहित ३५ जना सदस्य र तीन जना प्राविधिक टोलीसहित ४ बजे प्रस्थान गरेको हाम्रो टोली बाटोमा खाजा र खाना खाँदै बिहान ७ बजे तालक्षेत्र (लेकसाइड) स्थित होटलमा पुग्यो।
महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको मापदण्डमा विस्तार गर्ने क्रममा धेरै ठाउँमा वैकल्पिक मार्ग (डाइभर्सन) भएको हुँदा १०–१२ घण्टामा पुग्नुपर्नेमा पोखरा पुग्न हामीलाई १५ घण्टा लागेको थियो।
विराटनगर–पोखराको सडक मार्गको लम्बाइ बढीमा ५१७ कि.मी. रहेको हिसाबले हाम्रो गाडीको रफ्तार सरदर ३४.५ कि.मी. प्रतिघण्टा देखिन्छ।
१५ घण्टामध्ये ११ घण्टा अँध्यारोमै बित्यो। बाँकी ४ घण्टा चितवन र मुग्लिन–पोखराको बाटोलाई हेर्दा हामी विकसित देशको कुनै बस यात्रामा हिँडेको भन्दा कम आनन्ददायक लाग्दैनथ्यो।
लोभलाग्दो सडक, उज्यालो प्रकाश, सडकका किनार र सुरक्षा बार (रेलिङ) ले गर्दा सडकको दृश्य निकै मनमोहक थियो।
हाम्रो दोस्रो दिनको भ्रमण पोखरामै तय भएको थियो।
भ्रमण सूचीमा पुम्दीकोट शिवमूर्ति, पातले छाँगो (डेभिज फल्स), गुप्तेश्वर महादेव गुफा, विन्ध्यवासिनी मन्दिर र फेवाताल क्षेत्र (लेकसाइड) पैदल यात्रा रहेछन्।
पोखरा धेरै पटक पुगिएको र कतिपय पुरानै ठाउँहरू अवलोकन गर्ने सूचीमा भए तापनि मेरो मनमा भने हरेक स्थानको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र भौगर्भिक थप सौन्दर्य हेर्ने इच्छा छँदै थियो।
पोखरालाई पर्यटनको राजधानी भनेर जुन घोषणा गरियो, त्यहाँ तिनै सम्पदाको मुख्य भूमिका रहेको छ।
जसलाई हेर्न सात समुद्रपारिदेखिका विदेशी पर्यटक र देशभित्रैका आन्तरिक पर्यटकहरू आउने क्रमले गर्दा पोखरा उपत्यकामा रहेका १५ सय होटलमध्ये ७ सयभन्दा बढी लेकसाइडमा मात्र खुलेको पाइयो।
५० हजार पाहुनालाई एकै दिन आतिथ्यता दिन सक्ने होटलको क्षमता रहेको पोखरामा वार्षिक २० लाख पर्यटक पुर्याउने उद्देश्यका साथ पोखरा महानगरपालिका लागेको पाइयो।
होटल, रेष्टुरेन्ट, ट्राभल, प्याराग्लाइडिङ, पदयात्रा, बन्जी जम्पिङ, पर्वतारोहण लगायतका क्षेत्रमा वार्षिक आठ खर्बको कारोबार हुने र ३० हजारभन्दा बढीले यस क्षेत्रमा रोजगार पाएको तथ्याङ्कले पोखराको जीवनस्तर अन्य ठाउँको भन्दा उच्च रहेको जानकारी प्राप्त भयो।
पोखरा घुम्न जाने र घुमिसकेका पर्यटकहरूलाई समेत विशेष जानकारी होस् भन्ने उद्देश्यले मैले जे देखेँ र जे पाएँ, त्यसैका आधारमा पोखरा घुम्ने इच्छा भएकालाई थप जानकारी दिन केही पर्यटन केन्द्रको छोटो परिचय यहाँ प्रस्तुत गरेको छु:
पहिलो यात्रा: पुम्दीकोट शिवमूर्ति
पोखरा महानगरपालिका–२२ मा अवस्थित ५२ फिट अग्लो शिवको मूर्ति पुम्दीकोटमा प्रतिस्थापन गरिएको रहेछ।
यो शिव मन्दिरमा पुग्न पुम्दी भुम्दी हुँदै जानुपर्ने रहेछ। बस, जीप र साना सवारीसाधन सबै पुम्दीकोटसम्मै पुग्दा रहेछन्।
गाडीबाट ओर्लेर १०८ स्वर्गद्वारी सिँढी चढेपछि शिव मूर्ति रहेको ठाउँमा पुगिँदो रहेछ। शिव मूर्तिको वरिपरि १०८ वटै शिवलिङ्ग प्रतिस्थापन गरिएको रहेछ।
खासमा पुम्दीकोटबाट पोखरा उपत्यका, फेवाताल लगायत माछापुच्छ्रे हिमालको मनमोहक दृश्य देखिने कारणले यो स्थान पोखराको नयाँ गन्तव्यस्थल बन्न पुगेको रहेछ।
पातले छाँगो (डेभिज फल्स) पोखराको डेभिज फल्स, जसलाई स्थानीय भाषामा 'पातले छाँगो' पनि भनिँदो रहेछ।
वि.सं. २०१८ मा डेभी नाम गरेकी स्विस महिला छाँगामा खसी बेपत्ता भएपछि यसको नाम 'डेभिज फल्स' राखिएको रहेछ।
पोखरा–१७ छोरेपाटनस्थित फेवातालबाट बगेर आएको पानी जमिनको भित्री सतहमा लुप्त हुँदै गुप्तेश्वर महादेव गुफातर्फ बग्नु नै यसको मुख्य विशेषता हो। केही समय अगाडि यसको रेखदेख छोरेपाटन माविले गर्दै आए पनि हाल पोखरा महानगरपालिकाले व्यवस्थापन गर्दो रहेछ।
गुप्तेश्वर महादेव
पोखराको भौगोलिक विशिष्टता झल्काउने गुप्तेश्वर महादेवको गुफाभित्र ठूलो खुला ठाउँ पनि रहेछ, जहाँ मन्दिर छ। यो गुफा सतहबाट १५० मिटर गहिरो र २,९५० मिटर लामो रहेको उल्लेख छ।
यो गुफा १६ औं शताब्दीमै पत्ता लागे पनि २०४७ सालबाट मन्दिर निर्माण भई सबै भक्तजन तथा पर्यटकहरूका लागि खुला गरिएको बुझिन्छ। यो गुफा दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमध्ये एक रहेको उल्लेख छ।
महेन्द्र गुफा
महेन्द्र गुफा बाटुलेचौर (पोखरा वडा नं. १६) मा रहेको प्राकृतिक गुफाकै रूपमा देख्न सकिन्छ। सम्पूर्ण रूपमा चुनढुङ्गाबाट बनेका प्राकृतिक संरचनाहरू यस गुफाको विशेषता रहेछन्।
यसलाई पहिले 'अँधेरी भ्वाङ' भनेर चिनिँदो रहेछ, पछि मात्र यसको 'महेन्द्र गुफा' नामकरण गरिएको रहेछ।
गुफाको लम्बाइ १२५ मिटर छ। बाहिर ५६ रोपनी जग्गामा रहेका सुन्दर फूलका बगैँचा तथा केही महत्त्वपूर्ण भौतिक संरचनाले महेन्द्र गुफा स्वर्गको टुक्रा जस्तो देखिँदो रहेछ; जहाँ स्वदेशी तथा विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिसहित एउटा महत्त्वपूर्ण पर्यटन केन्द्र बनिसकेको रहेछ।
पोखरा र फेवाताल
पोखरा उपत्यका पर्यटनको राजधानी त्यसै कहलिएको रहेनछ। पोखरा 'तालै तालको सहर' भनेर पनि चिनिन्छ।
त्यहाँ रहेका नौवटा तालमध्ये आठवटा ताल पोखरा उपत्यकामा मात्र रहेछन्। फेवा गाउँको छेउमा रहेको कारण त्यसको नाम 'फेवाताल' रहन गएको रहेछ।
फेवा, बेगनास, रुपा, मैदी, दिपाङ, गुँदे, खास्टे, न्युरेनी र कमलपोखरी तालका कारण पोखरा सुन्दर पर्यटकीय नगरी बन्न गएकोमा कुनै सन्देह छैन।
पोखरेलीहरू सुन्दर पर्यटकीय नगरीका नागरिक भएकोमा गर्व गर्दा रहेछन्।
पोखराको कमलपोखरीमै जन्मनुभएका मेरा मित्र रामचन्द्र पौड्याल भन्नुहुन्छ, 'पोखरालाई सफा र सुन्दर राख्न यहाँका हरेक सम्पदाको संरक्षण र रेखदेख मात्र होइन; विदेशी, स्वदेशी तथा आन्तरिक पर्यटक अतिथिहरूको सत्कार गर्न पाउनुलाई हामीले गौरवका रूपमा लिएका छौँ।'
फेवातालको क्षेत्रफल पहिले १२,४६४ रोपनी कायम भए पनि हाल ११,२५५ रोपनी (५.७२ वर्ग कि.मी.) मात्र कायम रहेछ।
फेवातालको औसत गहिराइ २८ फिट रहेको र हालको ६५ मिटरको सेरोफेरोमा हरियाली पहाड र माछापुच्छ्रे हिमालको आकृति देख्न पाइँदो रहेछ।
फेवातालको बीचमा रहेको तालबाराही मन्दिरले छुट्टै शोभा र छुट्टै आनन्द प्रदान गर्दो रहेछ।
ठूलो सङ्ख्यामा दर्शन गर्न जाने भक्तजनहरू डुङ्गाको सहारा लिएर घण्टौँ मन्दिरमा रमाउँदा रहेछन्।
तालबाराही मन्दिर देवी दुर्गा (बाराही) लाई समर्पित गरी पोखरीको बीच भागमा रहेको टापुमा कास्कीका राजा कुलमण्डन शाहद्वारा स्थापना गरिएको रहेछ।
खासगरी विदेशी पर्यटकको रोजाइमा रहेका फेवाताल, तालबाराही मन्दिर र लेकसाइडमा केही समय बिताउन पाउँदा सबैले गर्व गर्दा रहेछन्। वर्षौँको दुःख र पीडालाई केही समय भए पनि बिर्सिएको अनुभूति हुँदो रहेछ।
View : 513
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved