विराटनगर । गएको साउन ३० गते मंगलबार बिहान बेलबारी–३ मा रहेको स्थानीय विनोद थापाको निजी वनभित्र हात्तीको पोथी छावा मृत फेला पर्यो । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको सव डिभिजन वन कार्यालय बेलबारीको टोलीले पत्ता लगायो, हात्तीको छावाले विद्युतीय पासोमा परेर ज्यान गुमाएको थियो ।
पासो कसले राख्यो भन्ने खोजी भयो । सोही ठाउँका ४७ वर्षर्यी तेजबहादुर राईले पनि कुरा नलुकाई भनिदिए ‘पासो त मैले नै राखेको थिएँ । घरमा पालेको कुखुरा खाएर न्याउरी मुसाले सोत्तर पार्यो, न्याउरी मार्न थापेको थिएँ । हात्ती पो आएर मरेछ ।’
सामान्य खेती–किसानी गर्दै आएका राईका लागि आफ्नो त्यही बोली अहिले आएर गलपासो बन्यो । हात्ती मारेको अभियोगमा उनी जेल पुगेका छन् । मोरङमा जंगली हात्ती मारेको अभियोगमा अदालतमा मुद्दा चलेर कारागार पुगेका तेजबहादुर पहिलो व्यक्ति हुन् ।
मंगलबार मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले तेजबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यो घटनाको अनुसन्धान अधिकृतको जिम्मेवारीमा रहेका सव डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रले दिएको जानकारी अनुसार तेजबहादुरले विद्युतीय पासो थापेको आफैले स्वीकार गरेको र सोही अनुसार वन प्रशासन अदालत गएको जानकारी दिए ।
‘साउन २९ गते राति २ बजेतिर करेन्ट लागेर हात्ती मरेको रहेछ’, मिश्रले भने ‘त्यो धराप न्याउरी मार्न एक दुई घन्टाका लागि थापेको उनले बताए । उनले त्यो दिन उठाउन बिर्सेको पनि बताएपछि उनलाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका थियौं ।’ हात्तीको पोस्टमार्टम रिपोर्टमा पनि ‘डेथ कज बाई इलेक्टि्रीक सर्ट’ भनिएको थियो ।
‘१७ दिनसम्म थुनामा राखेपछि वन कार्यालयले भदौ १७ मा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरायो’ मिश्रले भने ‘१८ गते पुर्पक्षका लागि थुनाको आदेश भयो ।’ तेजबहादुर अहिले मोरङ कारागारमा छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार तेजबहादुरविरुद्ध मुद्दा दर्ता भएको मिश्रले जानकारी दिए । उक्त दफा अनुसार वन्यजन्तु मारेको अभियोग पुष्टि भए दोषीलाई कम्तीमा ५ वर्षदेखि १५ वर्षसम्मको कैद सजाय र कम्तीमा ५ देखि १० लाख रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ ।
‘ऐनले न्याउरीलाई थापेको पासोमा हात्ती परेको भनेर छुट दिंदैन रहेछ’ मिश्रले भने ‘ ऐन नियमले वन्यजन्तु मार्न विद्युतीय धराप थाप्ने इजाजत दिएको छैन ।’ तेजबहादुरविरुद्ध वन कार्यालयले अधिकतम सजाय माग गरेर मुद्दा दर्ता गरेको उनले जानकारी दिए । मोरङमा यसअघि पनि सुन्दरहरैंचा नगर क्षेत्रमा यस्तै विद्युतीय धरापमा परेर दुई वटा हात्तीले ज्यान गुमाइसकेका छन् । यो तेस्रो घटनामा भने तेजबहादुर कानुनको फन्दामा परेका छन् ।
भनिन्छ, कानुन थाहा थिएन वा जानिना भनेर उन्मुक्ति पाइन्न । कानुनबारेको यही मान्यता अनुसार तेजबहादुर फन्दामा परेको उनका छिमेकीहरु बताउँछन् । ‘उनले न्याउरीलाई पासो थापेको हुँ भनेर नढाँटी भन्नु नै उनी फस्ने कारण बन्यो’ स्थानीयबासीले भने ।
आहाराको खोजीमा मानव बस्तीतिर छिर्ने जंगली हात्ती र आफ्नो बालीनाली तथा घर जोगाउने सर्वसाधारणको प्रयासले धेरैतिर मान्छे र हात्तीबीच द्वन्द्व निम्त्याइरहेको छ । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्लामा हाक्ती र मान्छेबीच लामो समयदेखि यस्तो घम्साघम्सी चल्दै आएको छ । त्यसत्रममा हाक्तीको आत्रमणमा परेर मान्छेले र मानवीय प्रतिरोधका कारण हात्तीले ज्यान समेत गुमाउँदै आएका छन् । बेलबारीका तेजबहादुर राई यही द्वन्द्वको भुंग्रोमा परेका हुन् ।
कानुन अनुसार कुनै पनि वन्यजन्तु मार्ने, आक्रमण गर्ने काम दण्डनीय मानिन्छ । यसबारे बेखबर तेजबहादुरले आफैले अघि सरेर पासो थापेको स्वीकारेका थिए । त्यही सत्य ओकल्दा उनी थुनामा पुगेका छन् । ‘थाहा थिएन भनेर कानुनले छुट दिंदैन, उहाँले कानुन विपरित गतिविधि गरेका कारण सजाय भएको हो’, अधिकृत मिश्रले भने ‘फैसला आउन बाँकी छ ।’
View : 170
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved