Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

एक सत्य निरूपण

विराटनगरको भव्य रथयात्राका संस्थापक इन्द्रलाल भट्ट

सुरुमै टिनको छानो र इँटाको गारो हालेर मन्दिर बनाइएको थियो, जुन तात्कालिक अवस्थामा विराटनगरकै भव्य मन्दिर मानिन्थ्यो । रथयात्रा पनि खटमै बोकेर बजार घुमाइएता पनि तात्कालिक परिवेशमा उत्तिकै भव्य र उल्लासमय हुने गथ्र्यो भन्ने कुरा अग्रजहरूबाट सुन्दै आएका छौं ।
८ साउन २०८२, बिहिवार

राधाकृष्ण मन्दिर, शिवालय र विराटनगरको भव्य रथयात्राका संस्थापक, समाजसेवी स्वर्गीय इन्द्रलाल भट्ट भगवानका अनन्य भक्त हुनुहुन्थ्यो  । उहाँको जीवनकाल र मन्दिर स्थापनाको वास्तविक इतिहासबारे हाल देखिएका भ्रमहरू चिर्न यो आलेख प्रस्तुत गरिएको छ  ।

मन्दिर स्थापना र भट्टको निष्ठा
वि.सं. १९८७ मा इन्द्रलाल भट्टले विराटनगर–१ को पानीट्याङ्की पोखरियामा केही जग्गा खरिद गर्नुभयो  । त्यसमध्ये बाटोपूर्वको २ कठ्ठामा राधाकृष्णको मन्दिर र छेउमा आफू बस्ने सानो घर निर्माण गरी विसं १९८८ देखि नै राधाकृष्णको सेवा र अर्चना गर्न थाल्नुभयो । छोरालाई बनारस पढ्न पठाएर उहाँ स्वयं जप, ध्यान र सेवापूजामा समर्पित हुनुभयो ।

दूरदर्शी इन्द्रलाल भट्टले भगवानको रथयात्रा चलाउने सोच बनाइ श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्णको विग्रहलाई खटमा राखी हर्षोल्लासका साथ विराटनगर परिक्रमा गराई रथयात्राको थालनी गर्नुभयो । कृष्णभक्त भएकाले उहा“ वृन्दावन आउने–जाने गरिरहनु हुन्थ्यो । श्रीमतीसहित मन वृन्दावनमा रम्न थालेपछि उहाँले वृन्दावनमा पनि शिशमहलमा (बिहारीजीको छेउमा) आफ्नै खर्चमा एउटा कोठा बनाउनु भयो ।

पुजारी व्यवस्थापन र वैराग्य
वृन्दावन आउजाउ गर्दा विराटनगरको मन्दिर सेवामा अवरोध हुने डरले, उहाँले नातामा नाति पर्ने पुण्यप्रसाद पौडेललाई असामबाट ल्याएर पुजारीको सम्पूर्ण जिम्मा दिनुभयो । यसपछि उहाँहरू प्रायः वृन्दावनमै बस्न थाल्नुभयो । यसैबीच, जवान छोराको मृत्युको बज्रपात उहाँले खप्नुप¥यो । यही समयमा ज्वाइँको मृत्युपछि उहाँकी छोरी भागिरथा पोखरेल पनि बसाइँ सरेर विराटनगर आउनुभएको थियो ।

छोराको मृत्युले विरक्तिएका इन्द्रलाल र पवित्रा दासीले छोराको सम्झनामा राधाकृष्ण मन्दिरकै छेउमा छोराको समाधि राखेर त्यसमाथि शिवालय स्थापना गर्नुभयो । मन्दिर पश्चिमको जग्गामध्ये केही पुण्यप्रसाद पौडेललाई दिएर (हाल पोषराज तापडियाको घर रहेको स्थान) र त्यहाँबाट सिधा हाल जनता स्कुल अगाडिको बाटोसम्मको जग्गा छोरीलाई व्यवस्थापन गरी उहाँहरू सदाका लागि विराटनगर त्यागी वृन्दावनवासी बन्नुभयो र त्यहींबाट परमधाम जानुभयो ।

गलत भाष्यको खण्डन र सत्यको उजागर
यसअघिका रथयात्रासम्बन्धि लेखहरूमा मैले यी कुराहरू सामान्य रूपमा उल्लेख गर्दै आएकी थिएँ । तर, अहिले मन्दिरले प्रसिद्धि पाएको र रथयात्राले भव्यता पाएको अवस्थामा मन्दिरको इतिहास खोजिन थाल्यो । इतिहास खोजिनु राम्रो कुरा हो, तर विडम्बना के भयो भने इन्द्रलाल भट्टले किनेको २ कठ्ठा जग्गाको प्रमाण भेटिएन । त्यसैलाई आधार बनाएर तात्कालिक विराटनगरमा निकै ख्याति र प्रतिष्ठा कमाइ सक्नुभएका इन्द्रलाल भट्टको व्यक्तित्वका बारेमा कुनै खोजै नगरी नानाभाँती गलत भाष्य बनाउन थालियो । 

विराटनगरका कतिपय व्यक्तित्वहरूले अनुमानका भरमा उहा“लाई ‘बाटोको छेउमा झुपडीमा राधाकृष्णको विग्रह राखेर मागेर गुजारा चलाउने गरिब ब्राह्मण’, ‘टिनको छाप्रोमा पूजाआजा गर्ने व्यक्ति’, वा ‘बर्मातिरबाट आएका फिरन्ते ब्राह्मण दम्पती’ भनी चित्रण गर्न थाले ।

यो पंक्तिकार स्वयं स्वर्गीय इन्द्रलाल भट्टकी पनातिनी (स्व. श्री नन्दप्रसाद निरौला र तिलोत्तमा निरौलाकी छोरी) भएका नाताले हजुरआमा र आमाले निरन्तर भन्नुभएका केही कुराहरू यहा“ राख्न चाहन्छु । समाजसेवी इन्द्रलाल भट्टकी छोरी स्वर्गीय भागिरथा पोख्रेल (पंक्तिकारकी हजुरआमा) का अनुसार, सो जग्गा सामान्य कागज गरेर खरिद गरिएको थियो । पछि सोमराज मुखिया (सोमराज पौडेल) र उहा“का भाइ कृष्णप्रसाद पौडेलले १६ कठ्ठा जग्गा मन्दिरलाई दान दिएपछि इन्द्रलाल भट्टले किनेको जग्गा पनि उहा“हरूकै नाममा रहेको थियो । धेरै समयपछि मात्र एकमुष्ठ रूपमा उहाँहरूकै नामबाट सबै जग्गा मन्दिरको नाममा नामसारी गरियो । 

कर्मयोगी इन्द्रलाल भट्टले जग्गा कसको नाममा छ भन्ने कुरालाई कहिले पनि महत्व दिनु भएन । उहा“ले निस्वार्थ भावले भगवत् सेवा गरिरहनु भयो ।

इन्द्रलाल भट्टको दूरदर्शिता र योगदानको कदर
स्वर्गीय इन्द्रलाल भट्टबारे गलत धारणा बन्दै गएको देख्दा हामी परिवारजन मर्माहत भएका छौं । परिवारका अग्रजबाट सुनेका यी कुराहरू सबै विराटनगरवासीको जानकारीका लागि उल्लेख गरिएको हो । अब सत्यतथ्य खोज्ने काम समाजको हो ।

आफ्नै जग्गामा छोराको समाधि बनाई शिवालय स्थापना गर्न सक्ने, आराध्यदेव राधाकृष्णको मन्दिर स्थापना गर्न सक्ने, तात्कालिक अवस्थामा छोरालाई बनारस पढ्न पठाउन सक्ने, वृन्दावनमा आफ्नै खर्चमा कोठा बनाउन सक्ने, छोरीलाई त्यत्रो जग्गा व्यवस्थापन गरिदिन सक्ने, पुण्यप्रसाद पौडेललाई २ कठ्ठा जग्गा दिन सक्ने उदार मनका धनी, समाजसेवी इन्द्रलाल भट्टका बारेमा केही सोधखोजै नगरी अनुमानका भरमा समाजका दिग्गज व्यक्तित्वहरूबाटै गलत धारणा व्यक्त हुँदा अत्यन्त दुःख लागेको छ ।

अर्को कुरा, बाटोको छेउमा टहरोमा मन्दिर निर्माण भएको भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यो सरासर गलत हो । सुरुमै टिनको छानो र इँटाको गारो हालेर मन्दिर बनाइएको थियो, जुन तात्कालिक अवस्थामा विराटनगरकै भव्य मन्दिर मानिन्थ्यो । रथयात्रा पनि खटमै बोकेर बजार घुमाइएता पनि तात्कालिक परिवेशमा उत्तिकै भव्य र उल्लासमय हुने गथ्र्यो भन्ने कुरा अग्रजहरूबाट सुन्दै आएका छौं ।

योगदानका विभिन्न आयाम र भविष्यको यात्रा
कुनै पनि सामाजिक कार्यको स्थापना, निरन्तरता, प्रसिद्धि र गौरवमा संस्थापकदेखि लिएर सानोभन्दा सानो योगदान दिने हरेक व्यक्तिको आ–आफ्नो महत्व हुन्छ । कसले के योगदान गरेको छ, सबैको मूल्याङ्कन हुन जरुरी हुन्छ ।  

इन्द्रलाल भट्टले २ कठ्ठामा स्थापना गरेको मन्दिरमा सोमराज मुखिया (सोमराज पौडेल) र कृष्णप्रसाद पौडेलले थुप्रै जग्गा (करिब १६ कठ्ठा) दान दिएपछि मन्दिरको प्राङ्गण फराकिलो बन्न पुगेको र मन्दिर राधाकृष्ण स्कुललाई तथा दक्षिणको बाटो निर्माणका लागि जग्गा दान दिनसमेत सक्षम भएको कुरा हजुरआमाले उहाँहरूको गुनगान गाएको म अझै सम्झिरहेकी छु । उहा“हरूको योगदानको पनि उच्च मूल्याङ्कन हुनुपर्छ ।

इन्द्रलाल भट्टपछि मन्दिरको रेखदेख र पूजाआजा गर्ने पुजारी पुण्यप्रसाद पौडेल, जसले आफ्नो सम्पूर्ण जीवन मन्दिरको संरक्षण र सेवामै व्यतीत गर्नुभयो, उहा“को योगदान पनि उत्तिकै महŒवपूर्ण छ ।
 शिवालयलाई आधुनिक रूपमा जीर्णोद्धार गर्ने स्वर्गीय बेगनलाल साह तेलीको योगदान पनि महत्वपूर्ण छ, उहा“को त शिलालेख नै राखिएको छ । सरकारी खर्च र निजी खर्च जुटाएर राधाकृष्ण मन्दिरको जीर्णोद्धार गर्ने भूपालमानसिंह कार्की, त्यसमा काँधमा काँध मिलाएर सहयोग गर्ने सत्यनारायण धनावत र पुषराज तापडियाको योगदान पनि उत्तिकै महत्पूर्ण छ ।

स्थापनाकालदेखि केही वर्षसम्म (मन्दिरको शैशवकालसम्म) लागि परेर परम्परा धानी दिने यी सबै पात्रहरू अत्यन्त श्रद्धाका भागीदार हुनुहुन्छ । उहाँहरू यसरी लागि नपरेको भए, यसलाई निरन्तरता नदिएको भए, के थाहा आज हामीले मन्दिरको यो रूप, रथयात्राको यो भव्यता देख्न पाउने थियौं कि थिएनौं । यसपटक २०८२ मा त झन् रथ अझ आधुनिक र प्रविधियुक्त नयाँ साजसज्जामा बनाइएको सुन्नमा आएको छ । रथयात्रालाई भव्य र सभ्य बनाउन लागिपर्ने सम्पूर्णमा नमन छ ।

अन्त्यमा, स्वर्गीय इन्द्रलाल भट्टको परिवारको सदस्य भएको नाताले उहा“का बारेमा आफूले थाहा पाएका कुरा समाजलाई जानकारी गराउनु आफ्नो कर्तव्य ठानेर यो आलेख तयार पारी भगवानका चरणमा अर्पण गरेकी छु । आशा छ, यसले यहाँहरूका मनमा उत्पन्न भएका शङ्काको केही हदसम्म समाधान गर्नेछ । भगवान श्री राधाकृष्णको कृपा सबैमा बर्सीरहोस् । जय जय श्री राधे ।

gitanirbha@gmail.com


 

View : 1683

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved