Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयभित्रै स्यालले टोक्यो कर्मचारी, मारियो स्याल

उद्‌घोष सम्वाददाता
२० मंसिर २०८१, बिहिवार

कोशी अस्पतालमा उपचारका लागि आएका घाइते कार्की । तस्वीर : उद्घोष

विराटनगर । वन्यजन्तुको आक्रमणमा परियो भने मानिसले पहिले होस गुमाउँछ । त्यो अवस्थामा हिंस्रक जनावरको आक्रमणलाई स्वीकार गरेर शरीर छाड्नुपर्ने अवस्था आउँछ । तर विराटनगरमा बुधबार त्यसको उल्टो घटना भएको छ ।

स्यालको आक्रमणमा परेका नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका स्टोर शाखाका कर्मचारी मानबहादुर कार्कीले घाइते अवस्थामै स्याल मारेका छन् । उनलाई वन्यजन्तु हत्याको मुद्दा लाग्ने अवस्था आएको छ ।  

बुधबार बिहान साढे १० बजे  कार्यालयको स्टोर अगाडि रहेका कार्कीका अगाडि तीन वटा स्याल आए । एकले उनलाई आक्रमण ग¥यो । देब्रे हातको नारी माथिको भागमा दाँत गाडेर अडियो ।

‘बाघले झै छोपेर आयो, हातमा दाँत गाडेर झुण्डिएपछि स्थालको एउटा खुट्टा समाएर भाँचिदिएँ’ कार्कीले भने– ‘मलाई छाडेर गयो, पहिलो भिडियो बनाएँ अनि लखेटेर पछारेर मारेँ ।’

उनलाई एउटाले आक्रमण गरे पनि अरु दुई भागेका थिए । खुट्टा भाँचिएकाले दौडन नसकेको स्याललाई उनले लखेटेर पछारेका थिए । भुईमा लडेको स्याललाई कार्कीले थिचेर बसेको देखेका अर्का कर्मचारी सन्तोष यादव फलामको रड बोकेर दौडदै आए ।

लडेको स्यालको पुच्छर अर्का कर्मचारी टेकेन्द्र थापाले समाए भनें यादवले ल्याएको रडले हिर्काएर कार्कीले टाउकामा प्रहार गरेका थिए । रगताम्मै भएको स्यालले त्यहीँ दम तोडेको थियो ।

‘स्याल थिचेर बसेको देखेर रड बोकेर आएको थिएँ, उहाँ (कार्की) ले नै त्यसको टाउकामा हिर्काएर मार्नु भयो । रडको प्रहारले स्यालको टाउकोमा चोट लागेर रगताम्मै भयो । स्याल मार्नुअघि उसको मुख थिच्दा एउटा आँखा निस्किएको कार्कीले बताए ।

नेपालको वन कानुनले कुनै पनि वन्यजन्तु मारिए मार्ने मानिसलाई कारवाही गर्छ । प्रदेश प्रहरी कार्यालय विराटनगर नजिकै रहेको प्राधिकरणको भण्डार  हाताभित्र भएको घटना आपूmले थाहा नपाएको डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा बताउँछन् ।

उनले प्रहरीमार्फत जानकारी आए स्याल मार्नेलाई वन मुद्दा चलाउने बताए । प्राधिकरणका कर्मचारीले इलाका प्रहरी कार्यालय रानीलाई स्यालले आक्रमण गरेकाले आत्मसुरक्षाका लागि मार्नु परेको जानकारी दिएका छन् ।

‘घटनास्थलको प्रकृति मुचुल्का बनाएर अनुसन्धान गरिन्छ’ थापाले भने– ‘मार्नु हुँदैन थियो, वन्यजन्तुले आक्रमण गर्दा उपचारमा जानु पर्छ सम्बन्धित निकायलाई खबर गर्नुपर्छ । लखेटेर मार्न पाइँदैन ।’

घाइते कार्कीका अनुसार बुधबार बिहान विराटनगर–१६ को दरहिया बस्तीमा खसी मारेर भागेर आएका स्थाल ‘स्टोर कम्पाउण्ड’ मा छिरेका थिए । घाइते कार्कीले कोशी अस्पतालमा रेबिज बिरुद्धको खोप र टिटानासको सुई लगाएका छन् ।

View : 221

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved