Biratnagar, Morang, Nepal
११ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बर्षाले खेल रद्द हुँदा नेपालले बाँड्यो अंक, समुह विजेता बन्दै श्रीलंकालाई क्वाटरफाइनलमा निम्तो

उद्‌घोष संवाददाता
१० असोज २०८३, शनिवार

Advertisement

काठमाडौं । बर्षाले खेल प्रभावित भएर जापानसँग अंक बाड्नु परेपनि एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल समुह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेलमा नेपालले १५० रन लक्ष्य प्रस्तुत गरेपछि वर्षाका कारण शनिबार विहानको खेल नै रद्द भएको हो । 

वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए । त्यस्तै, लोकेश बमले २२ बलमा ६ छक्का र एक चौकाको मद्दतमा अविजित ५२ रनको योगदान दिए । ओपनर आसिफ शेखले २१ रन बनाए ।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए ।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको थियो । लगातार वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै नेपालले दुई खेलबाट तीन अंक जोडेको छ ।

समूह ‘ए’को शीर्ष स्थानमा रहँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved