विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले अस्पताल परिसरभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सार्वजनिक महत्वका संरचना भत्काइने भन्ने चर्चा निराधार रहेको स्पष्ट पारेको छ ।
अस्पताल प्रशासनले क्षयरोग अस्पतालको मुख्य भवन, नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक, गणेश मन्दिर तथा देवकोटा पुस्तकालयका भवन यथावत् रहने जनाएको छ ।
यद्यपि अस्पतालको स्वामित्वको जग्गामा निर्माण गरी व्यावसायिक प्रयोजनका लागि सञ्चालनमा रहेका २६ वटा सटर भने हटाइने भएका छन् ।
अस्पतालले दिएको सात दिने अन्तिम समयसीमा सकिन एक दिन बाकी रहदा शनिबारदेखि ती सटरमा सञ्चालन हुँदै आएका व्यवसायीहरूले सामान सार्ने र संरचना खाली गर्ने काम सुरु गरेका छन् ।
अस्पतालले सोमबारदेखि डोजर प्रयोग गरेर अतिक्रमित संरचना हटाउने तयारी गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले पछिल्ला दिनमा विभिन्न माध्यमबाट गणेश मन्दिर, ब्लड बैंक, क्षयरोग अस्पताल तथा देवकोटा पुस्तकालयका भवन भत्काइने भन्ने भ्रम फैलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको थियो ।
अस्पतालका अनुसार सार्वजनिक सरोकारसँग जोडिएका यी संरचनाको संरक्षण गर्दै सेवा विस्तार र पूर्वाधार विकासको काम अघि बढाइनेछ ।
अस्पतालका प्रशासन प्रमुख तथा जनसम्पर्क अधिकारी नवराज लुईँटेलका अनुसार भत्काइने संरचनामा चार संस्थाअन्तर्गत सञ्चालनमा रहेका २६ वटा व्यावसायिक सटर मात्रै पर्छन् ।
तीमध्ये गणेश मन्दिर परिसरका ५, क्षयरोग निवारण संस्थाका ९, नेपाल रेडक्रस सोसाइटीका ६ तथा देवकोटा पुस्तकालयअन्तर्गतका ६ वटा सटर रहेका छन् ।
ती सटरहरूमा रातो स्टिकरसमेत टाँस गरिसकिएको उनले जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले मुख्य भवनहरू नभत्काइने र व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका सटर मात्र हटाइने बताए ।
उनका अनुसार ती संरचनाले अस्पतालको दीर्घकालीन गुरुयोजना कार्यान्वयन तथा आधुनिक स्वास्थ्य पूर्वाधार विस्तारमा अवरोध पुर्याइरहेका छन् ।
अस्पतालले आफ्नो स्वामित्वको जग्गाको संरक्षण, सेवा विस्तार तथा आधुनिक स्वास्थ्य सेवा विस्तारलाई केन्द्रमा राखेर योजना अघि बढाएको जनाएको छ ।
यसअन्तर्गत अस्पताल परिसर वरिपरि कम्पाउन्ड पर्खाल निर्माण गरिने, अत्याधुनिक उपकरणसहित क्याथ ल्याब स्थापना गर्न नयाँ भवन निर्माण गरिने तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिने योजना रहेको छ ।
डा. झाले नयाँ पूर्वाधार निर्माणपछि मुटुरोगलगायत जटिल प्रकृतिका रोगको उपचार सेवा प्रदेशमै थप प्रभावकारी, आधुनिक र सहज रूपमा उपलब्ध गराउन सकिने बताए ।
अस्पतालका अनुसार विराटनगर–७ स्थित आफ्नो स्वामित्वको बहुमूल्य जग्गामा लामो समयदेखि चार संस्थाले व्यावसायिक सटर सञ्चालन गर्दै आएका छन् ।
ती सटरबाट सम्बन्धित संस्थाहरूले मासिक लाखौं रुपैयाँ भाडा उठाउँदै आएका छन् ।
अस्पतालले भने उक्त जग्गा आफ्नै गुरुयोजना कार्यान्वयन, स्वास्थ्य सेवा विस्तार तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आवश्यक रहेको जनाएको छ ।
यसअघि अस्पतालले १५ दिने सूचना जारी गरेको थियो ।
त्यसपछि पनि अतिक्रमित संरचना खाली नभएपछि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी सात दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार अतिक्रमण हटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनले धार्मिक, सामाजिक तथा सार्वजनिक महत्वका संरचनाको संरक्षणमा आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै ऐतिहासिक भवन भत्काइने भन्ने भ्रममा विश्वास नगर्न आग्रह गरेको छ ।
विकास निर्माण र स्वास्थ्य सेवा विस्तारसँगै स्थानीय समुदायको भावना तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई सन्तुलनमा राखेर काम अघि बढाइने अस्पतालको भनाइ छ ।
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved