विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेका गुरुराज घिमिरेले आफूलाई मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।
घिमिरेले महामन्त्री पदमा प्राप्त १ हजार ५१३ मतलाई संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन् ।
महाधिवेशनबाट उपसभापति तथा विभिन्न पदाधिकारीमा निर्वाचित भएका नेताहरूलाई बधाई दिँदै उनले नयाँ कार्यकालमा पार्टीभित्रको एकता र हार्दिकता अभिवृद्धि गर्न, निर्णय प्रक्रिया पारदर्शी बनाउन तथा पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
उनले पार्टी र देशसामु उपस्थित चुनौतीहरूको सामना गर्न आन्तरिक सामथ्र्य वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । साथै, आगामी दुवै तहका निर्वाचनमा विजय हासिल गर्ने दिशामा पार्टीले सफलता प्राप्त गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।
लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै घिमिरेले निर्वाचन परिणामबाट विचलित नभई नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
‘अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ,’ उनले भनेका छन्, ‘जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन् ।’
आफ्नो राजनीतिक यात्रालाई अन्त्य नभई नयाँ सुरुवातका रूपमा व्याख्या गर्दै घिमिरेले नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने बताएका छन् । उनले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved