Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सकियो कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी

बहुआयमिक सुरक्षामा ध्यान

२९ जेठ २०८१, मङ्गलवार

विराटनगर । सोमबार सम्पन्न कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी प्रदेशको बहुआयमिक सुरक्षामा ध्यान दिने निश्कर्षसहित सकिएको छ । कोशी प्रदेशका चारवटै सुरक्षा निकायका प्रदेश र जिल्लाका प्रमुखहरूको सहभागितामा विराटनगरमा आयोजित सुरक्षा गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको जिल्लागत विश्लेषण गर्दै बहुआयमिक सुरक्षामा केन्द्रित हुने निर्णय गरेको जनाइएको छ ।

कोशी प्रदेश सरकारसँगको समन्वयमा आयोजित दुई दिने सुरक्षा गोष्ठीपछिको पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले कोशी प्रदेशभित्रका जिल्लाहरूमा देखा परेका सुरक्षा चुनौती, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापन पूर्वतयारी र प्रतिकार्य, राजश्व चुहावट नियन्त्रण, प्राकृतिक स्रोतको कानुनसम्मत् उपयोग, सार्वजनिक र सरकारी जग्गाको संरक्षण, नेपाल सरकार, प्रदेश सरकार मातहतका निकायहरूको समन्वय र सहकार्य लगायतका विषय केन्द्रित भएर प्रस्तुति भएको जानकारी दिए । 

उनले कोशी प्रदेशमा यस वर्ष बाढी मनसुन सक्रिय हुने पूर्वानुमान रहेको र त्यसबाट उत्पन्न हुने विपद् व्यवस्थापनका लागि सुरक्षा गोष्ठी बढी केन्द्रित रहेको बताए । ‘सुरक्षा गोष्ठीबाट बहुआयमिक सुरक्षामा ध्यान दिने निर्णय गरेका छौं, नागरिकले कुनै पनि कारणले ज्यान गुमाउनु हुँदैन, जोखिममा पर्नु हुँदैन’ उनले भने, ‘अन्य सुरक्षाको जोखिम न्यून रहे पनि यो बर्ष बाढी पहिरोको पूर्वानुमान धेरै छ, मामिसहरू विपत्तिमा नपरुन् भन्नेमा सुरक्षा निकाय सचेत भएका छौं ।’

आइतबारदेखि आयोजित सुरक्षा बैठकमा गृहमन्त्री रवि लामिछानेसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको थियो । बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विपद्का कारणले कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्न प्रभावकारी रुपमा काम गर्न, राहत उद्धार र पुनर्स्थापनाका कामका लागि उपलब्ध स्रोत साधनको अद्यावधिक गर्न र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । 

मन्त्रालयका प्रवक्ता भट्टराईका अनुसार गृहमन्त्री लामिछानेले प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणका थप प्रभावकारी बनाउन र कुनै पनि नागरिकले गुनासो वा समस्या लिएर मन्त्रालयमा पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्न समेत मातहतका सुरक्षा निकायलाई निर्देशन दिए । 

सुरक्षाको बहुआयामिक क्षेत्रमा योजनाबद्ध रुपमा कार्य गर्न र आफ्नो कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गर्न समेत आग्रह गरेको जनाइएको छ ।

कोशी प्रदेशमा सामाजिक, धार्मिक सद्भावका हिसाबले संवेदनशील रहेको र पछिल्लो समयमा नागरिक, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रबाट शान्ति सुरक्षा, सामाजिक एवं धार्मिक सद्भाव अभिबृद्धिमा सहयोग पुगेको सुरक्षा गोष्ठीले निष्कर्ष निकालेको हो ।

त्यस्तै राजश्व चुहावट नियन्त्रण, लागुऔषध नियन्त्रण लगायतका शान्ति सुरक्षासँग सम्बन्धित विषयमा सकारात्मक सहयोग प्राप्त हुने गरेको, अतिरिक्त धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने गरी छिटपुट गतिविधिहरू भएको गोष्ठीमा ल्यौल्याइएको जनाइएको छ । 

पछिल्लो समयमा आर्थिक तथा वित्तीय अपराधका घटना बढ्दै गएको, लागुऔषधको प्रयोग नियन्त्रणका लागि सुरक्षा निकायको निरन्तरको प्रयास रहेको जनाइएको छ । सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी समायोजन नभएसम्म प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारको मातहतमा दिए प्रदेशले उत्कृष्ट ढंगले परिचालन गर्ने सुझाव दिएका थिए । 

‘कतिपय अवस्थामा को प्रहरी गए, को आए थाहा नहुँदा प्रदेशमा काम गर्न गाह्रो भएको छ ।’ उनले भने, ‘यो अवस्थामा यो विकल्प राम्रो हो, हामी यसको सफल प्रयोग गरेर देखाउँछौं, संघीय सरकारले पनि त्यहीअनुरुप सहजीकरण गर्न तयार हुनुपर्छ ।’

प्रदेश सरकारले विगतदेखि नै प्रहरीलाई बलियो बनाउनका लागि काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । उनले आगामी तीन वर्षमा कोशी प्रदेशभित्रका प्रहरी कार्यलयहरू पूर्वाधारयुक्त बनाउने र सबै ठाउँका प्रहरीलाई सवारी साधन पुर्‍याउने योजनाका साथ काम गर्ने बताए । 

मुख्यमन्त्री कार्कीले प्रहरीलाई प्रविधिमैत्री र पूर्वाधारमैत्री बनाउन सकेको खण्डमा थोरै जनशक्तिबाट पनि काम हुने बताए ।

सुरक्षा गोष्ठीका अध्यक्ष गृह सचिव एकनारायण अर्यालले जिल्लागत रुपमा भएका असल अभ्यासहरूलाई अन्य जिल्लाहरूमा पनि अनुशरण गर्न सकिनेबारे जानकारी गराएका थिए । उनले कानुन कार्यन्वयनमा खरो उत्रन, सूचना व्यवस्थापन प्रभावकारी बनाई कुनै पनि प्रकारका गैरकानुनी कार्य र सामाजिक तथा सद्भाव बिथोल्ने गतिविधिहरूलाई समयमै कानुनको दायरामा ल्याउन आग्रह गरे । 

मन्त्रालयको तर्फबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन र कार्ड वितरणलाई थप प्रभावकारी बनाउन र निजी हतियारहरूको नियमन गर्न पनि सुरक्षा निकायलाई आग्रह गरेको प्रवक्ता भट्टराईले बताए ।

View : 233

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved