विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य ‘बिलौनै बिलौना’को दोस्रो संस्करण लोकार्पण भएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्वारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको हो ।
आयोजक पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, नेपाली लेखक संघकी केन्द्रीय सदस्य निर्मला कोइराला, साहित्यकार बलराम पोखरेल, मेदनी शर्मा लगायतले सो कृतिको लोकार्पण गरे ।
विसं २०४५ सालमा पहिलो संस्करण प्रकाशित भएको कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करणमा १० वटा कविता संग्रहित छन् । उक्त संग्रहभित्र चन्द्र कान्ति कवितासंग्रह पनि समावेश गरिएको छ । सो संग्रहमा १८ वटा कविता समावेश छन् । कट्टेलले २०४५ सालदेखि नै छन्दोबद्ध कविता लेख्दै आएका हुन् । उनका अधिकांश रचना पनि छन्दमा नै लेखेको पाइन्छ ।
लोकार्पण कार्यक्रममा नेपाली लेखक संघकी केन्द्रीय सदस्य निर्मला कोइरालाले लघुकाव्यमा समावेश भएका रचनाको समीक्षा गरेकी थिइन् । कार्यक्रममा कट्टेलकी छोरी प्रज्ञा कट्टेल लगायतले लघुकाव्य भित्रका केही कविता वाचन गरेका थिए । बिलौनै बिलौना कट्टेलको आठौं कृति हो ।
यसअघि कट्टेलका अनावृत आकृति छन्दोबद्ध कवितासंग्रह, आँखामा अल्झिएका आँखाहरू गजलसंग्रह, मुटु टुक्रिएपछि मुक्तकसंग्रह, काँडा टेकेर फूलका कुरा गजलसंग्रह, माधवआनी खण्डकाव्य र हिउँचुलीमा हिउँ बाल कविता संग्रह प्रकाशित भइसकेका छन् ।
View : 28
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved