Biratnagar, Morang, Nepal
१२ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

३९८ किलो गाँजासहितको स्कार्पियो दुर्घटना भएपछि प्रहरी नियन्त्रणमा

उद्‌घोष संवाददाता
११ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकबाट प्रहरीले ३९८ किलो लागूऔषध गाँजासहित स्कार्पियो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब १० बजे प्रहरी चौकी बरगाछीले खडा गरेको आकस्मिक प्रहरी चेक प्वाइन्टमा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीले चेकिङ टोलीलाई देखेपछि गाडी यू–टर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि तत्काल प्रहरी चेकिङ टोलीले स्कार्पियो गाडीभित्र खोली हेर्दा लुकाइछिपाइ राखिएको लागूऔषध गाँजा १३ पोकामा ३९८ केजी फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि स्कार्पियो चालक फरार रहेको र उनको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । ठक्करबाट बा.प्र. ०१–०३० च ४८२२ नम्बरको कारमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जनाइएको छ ।

दुवै सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 40

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved