Biratnagar, Morang, Nepal
२० फागुन २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

प्रेम, सदाचार र नैतिकता प्रवर्द्धनमा श्रीमद्भागवत गीता

यो ग्रन्थ एक जीवनदायिनी शास्त्रको रूपमा प्रकट भएको छ, जसले मानिसलाई मानसिक शान्ति, सदाचार र नैतिक आचरणको अभ्यास गर्न प्रेरित गर्दछ ।
तोमनाथ उप्रेती
१९ फागुन २०८१, सोमवार

Advertisement

श्रीमद्भागवत गीता हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ हो जसले ब्रह्मविद्या र आध्यात्मिक ज्ञानको उत्कृष्ट उपदेश प्रस्तुत गर्दछ । महाभारतको भीष्म पर्वबाट लिएको यो ग्रन्थ १८ अध्याय र ७०० श्लोकहरूमा विभक्त छ  । प्रत्येक अध्यायले कर्मयोग, भक्तियोग, र ज्ञानयोगको महत्व र अभ्यासको बारेमा सन्देश दिएको छ ।

श्रीमद्भागवत गीता एकेश्वरवादको सिद्धान्त, आत्मज्ञान र भक्ति साधनाको माध्यमबाट जीवनलाई उच्च आध्यात्मिक उद्देश्यसँग जोड्ने एक अमूल्य स्रोत हो । यसले साधकलाई आफ्नो कर्म, भक्ति र ज्ञानको माध्यमबाट जीवनलाई आध्यात्मिक उन्नति प्राप्त गर्ने उपायहरू बताउँछ । गीतामा, भगवान श्रीकृष्णले अर्जुनलाई दिव्य सन्देश दिंदै संसारका तात्विक कुराहरू स्पष्ट गरेका छन् । कर्मयोग, भक्तियोग र ज्ञानयोगका प्रत्येक अध्यायले साधकलाई आफ्नो जीवनमा सही मार्गदर्शन प्राप्त गर्नका लागि आवश्यक उपायहरूको बारेमा जानकारी दिन्छ ।

यो ग्रन्थ एक जीवनदायिनी शास्त्रको रूपमा प्रकट भएको छ, जसले मानिसलाई मानसिक शान्ति, सदाचार र नैतिक आचरणको अभ्यास गर्न प्रेरित गर्दछ । श्रीमद्भागवत गीताअनुसार, परमात्माको अनन्त रूपलाई दर्शन गरेर भक्तिको उच्चतम विकास प्राप्त गर्न सकिन्छ । यो भक्तियोगमा कर्म र ज्ञान आपसमा मिलेर कार्य गर्दछ । गीता जीवन र जगतको गहिरो निरीक्षण गर्दै मोह, सुख, र शान्तिका अधीन नपर्न, नाशवान शरीर र अविनाशी आत्मालाई सम्झेर कर्तव्य पालन गर्न प्रेरित गर्दछ ।

गीता मार्गदर्शन दिन्छ कि निःस्वार्थ भावले कर्म गर्नु, सुख-दुःखमा समान भाव राख्नु, सबै कुरा भगवानको अंश मानी उनका स्मरण गर्दै कर्तव्य पालना गर्नु र सबै जीवलाई भगवत प्राप्तिका अधिकारी मान्नु महत्वपूर्ण छ । गीता भन्छ कि संसार भगवानको स्वरूप हो र यसलाई विराट रूपमा स्वीकार गर्नुपर्छ । शरीर, इन्द्रीय, मन, र बुद्धिलाई भगवानमा अर्पण गर्दै सत्व, रज र तमका तीन गुणबाट पार भएर अनन्य भक्ति गर्नुपर्छ । जन्म-मरणको चक्रबाट मुक्त हुने र शुभ कर्म गर्दै भगवानको नाम स्मरण र शरणागति स्वीकार गर्नु अत्यन्त महत्वपूर्ण छ ।

मान्छे जन्मिन्छ केही समय यहीं रहन्छ र मर्छ । त्यसैले तिमी आशक्ति रहित भएर कर्म गर जसले गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ । तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ । यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ । मनलाई बसमा राख्न सकिएन भने यसले स्वयं विरुद्ध शत्रुको व्यवहार गर्दछ  । मनुष्य आफ्नो विश्वासद्वारा निर्माण हुन्छ  । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ  । संसारमा आएपछि कोही कसैले पनि कुनै न कुनै कर्म नगरी बस्न सक्दैन । जीवन धान्नकै लागि पनि कर्म गर्नुपर्ने हुन्छ  । यो प्रवृत्तिको नियम नै हो । त्यसैले गीताले कर्मनिष्ठ जीवन बिताऊ भनेको छ । तर कर्म गर्ने सिलसिलामा हामीले कर्मको नियमको हेक्का राख्नुपर्छ । 

कर्मको नियम धेरै सरल छ । यसले भनेको छ, हामी जे रोप्छौं, त्यसैको बाली काट्छौं  अर्थात् प्रत्येक कारणको त्यस्तै परिणाम हुन्छ भने प्रत्येक परिणामसित त्यस्तै खाले कारण जोडिएको हुन्छ  । हामी जे सोच्दछौं वा गर्दछौं, त्यो नै हाम्रो कर्म हो  । त्यसैको परिणाम हामीले ढिलो-चाँडो भोग्छौं पनि । अरूको हित चिताउने, अरूलाई प्रेम गर्ने सबैको प्यारो हुन्छ भने अरूको खेदो खन्नेले आफैं खस्नाका लागि खाडल खन्दै गर्छ  । कुरा यतिमात्रै हो कि कतिपय अवस्थामा कारणले परिणाम देखाउनको लागि केही समय लिन सक्छ, र समयको अन्तरालले गर्दा हामी कारण र परिणामबीचको तारतम्य बुझन सकिराखेका हुँदैनौं  ।

जब जब धर्मको हानी हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफूलाई प्रकट गरेको हुन्छु  । जसको हृदय पवित्र छ उनीहरू धन्य छन्  । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन्  । जसरी उदाउँदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुन जान्छन्  । जसरी जीवात्माले यस शरीरमा कौमार्य, यौवन  प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ  । यस विषयमा ज्ञानी मोहित हुँदैन । जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ । विषयको चिन्तन गर्ने मानिसको तत् तत् विषयमा आशक्ति हुन जान्छ ।

आशक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पन्न हुन्छ, क्रोधले अविवेक उत्पन्न हुन जान्छ  । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ । तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रीयहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ  । गीताले सन्देश दिएको छ कि जो पुरुष एकनाश बसेर चित्तलाई स्थिर गरेर कुनै पनि कुराको चिन्ता नगरी परब्रह्मालिन हुन्छ, उसका लागि धर्माधर्म, शुभाशुभ केही नभई साक्षात्कार इश्वर मोक्ष तथा सत्यज्ञानको प्राप्ति हुन्छ  ।

मानिसले सुखको असीम चाहना राख्दा तत्वदर्शी योगीहरुले जगतमा जति पदार्थ छन् तिनमा मन लगाउदा जो तृप्ति र सुख मिल्दछ त्यो क्षणिक परिमाणी र अनित्य छ भन्ने कुरा गीताको दिव्य ज्ञानबाटै प्राप्त हुन्छ  । श्रीमद्भागवत गीताले मानव जातिलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै जीवन जिउन सहज बनाएको छ  । किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउँदछौ ? तिमीलाई कसले मार्छ ? आत्मा न जन्म लिन्छ न मर्छ ।

तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर, वर्तमान चलिरहेको छ, तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले के  हरायौ ? तिमीले के पैदा गरेका थियौ र नाश भयो ? तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ  । तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।

परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो । एक क्षणमै तिमी करोडपति बन्दछौ, दोस्रो क्षणमा तिमी दरिद्र बन्दछौ । मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइ देऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवानमा अर्पित हौ । यही नै सबभन्दा ठूलो सहारा हो । जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ भन्ने दिव्य सन्देशहरु गीताले सिकाएको छ  ।

कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मीकरण गर्नु पर्दछ । मानव जातिले भौतिक सुखको धेरै चहाना गर्दछ । तत्वदर्शी योगीहरूले जगतमा पदार्थहरू छन्, तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ, त्यो क्षणिक र परिमणि र अनित्य छ भन्ने देखिन्छ । सबै कुराबाट सुख पाउने अभिलाषा हुन्छ  । तर, यी सबै संसारका पदार्थजन्य सृष्टि र नाशका कारण रूपमा छ । यसमा मनलाई संयुक्त गर्दा जुन सुख वा आनन्दको उदय हुन्छ, त्यो नाश हुँदैन र नित्य नवीन रूपमा आनन्दको उदय हुन्छ  । अनन्त र नित्य हुँदा उपादेयतामुलक मानिन्छ ।

गीताले देखाएको कर्मयोगको सन्देश हो- हामीले राम्रो गर्नु राम्रो हो भन्ने भाव लिई सक्दो राम्रो गर्नाका लागि इमान्दारिताका साथ कर्म नै पूजा हो भन्ने भावले, लगनशील भई स्वधर्म पालन गर्दै रहनुपर्छ  । जे जस्तो फल मिल्दछ त्यो मेरै कर्मको फल हो भनी सहर्ष स्वीकार गरे जीवनको प्रत्येक पाइलामा सन्तुष्टि, शान्ति र आनन्दको अनुभूति मिल्नेछ  । जीवन एउटा रमणीय उत्सव हुनेछ  ।

मानिसले भोग्ने सुख वा दुःख भनेको उसको आफ्नै कर्मको फल हो  । जसरी हामीले विगतमा जे-जस्ता कर्म गर्दै आयौं त्यसैको फलको रूपमा अहिले सुख–दुःख भोग्दैछौं, त्यसरी नै अहिले हामी जे गर्दैछौं त्यसैको राम्रो-नराम्रो फल भविष्यमा भोग्नुपर्ने हुन्छ  । हामी जे सोच्दछौं र जे गर्दछौं, त्यसैले हाम्रो भाग्य निर्माण गर्दछ  । असल कर्म गर्नेको वर्तमान बेला बखत सुविधाको हिसाबले सम्पन्न नदेखिए तापनि सुखी र शान्त बन्छ नै । त्यसको भविष्य भने धेरै आनन्दमय हुनेछ  । सबै कर्मको फल हुन्छ, फल नदिने कुनै कर्म हुँदैन  ।

कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु कर्मभूमिमा  अगाडि बढ्नु पर्दछ ।  हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ  । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मारुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ  ।  त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।

भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ । मानव हृदयमा अन्तरनिहित सद्भाव र सद्गुणहरूलाई आध्यात्मिक ज्ञान र चेतनाको माध्यमबाट पुनः जागृत गरी मानव जीवनलाई सुखी, शान्त र समृृद्ध तुल्याउने हो भने गीताका दिव्य सन्देशहरुलाई व्यवहारमा कुशल ढंगले प्रयोग गर्न सक्नु पर्दछ  । 

भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने, मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने, मान्यजनको सेवा तथा आदर सत्कार गर्ने, जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आफ्नो कर्ममा विश्वास गर्ने, ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने, सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने जस्ता सन्देशले समाजमा सदाचारिता र नैतिक संस्कृतिको विकासमा योगदान दिने छ  । गीताका दिव्य सन्देशहरु, अध्यात्मवादका मूल्य र मान्यताहरुलाई व्यवहारमा अवलम्वन गर्दै स्वच्छ,पारदर्शी, सदाचारयुक्त, नागरिकमैत्री, भ्रष्टाचारमुक्त र नैतिकवान समाजको विकास गर्नु आजको टड्कारो आवश्यकता छ  ।

अन्त्यमा, भागवत गीताको दिव्य ज्ञानले सदाचार र नैतिक संस्कृति विकास गर्न सिकाउँछ । यसको अनुभूतिले मात्रै उत्कृष्ट जीवनको मार्ग देखाउँछ । नागरिक चेतनाको स्तर, समाजको लोकतान्त्रीकरण र प्रविधिको प्रसारले पनि मानव जगतलाई आध्यात्मिक, नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुर्याउँछ  ।मानव जाति बीचमा विश्वास अभिवृद्धि गर्नमा भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता, नैतिकता, आचरण र सदाचारले महत्वपूर्ण भूमिका खेल्दछ  । 

भागवत गीताको दिव्य ज्ञान, अध्यात्मिकता, नैतिकता, आचरण र सदाचारले मानव जगतमा अमूल्य रत्नको काम गर्दछ । सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिबृद्धि गर्नमा भागवत गीताको दिव्य ज्ञान, आध्यात्मिकता, नैतिकता, प्रेम, सद्भाव, आचरण र सदाचारको मार्ग दर्शन हो  ।(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्  ।)

View : 94

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved