Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यार्थीको दबाबपछि भर्ना खोल्न क्याम्पस सहमत

महेन्द्र मोरङका निमित्त क्याम्पस प्रमुख रोक्का कार्यकक्षमै थुनिए

१२ चैत २०८२, बिहिवार

Advertisement

विराटनगर ।  विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका निमित्त प्रमुख रवि रोक्कालाई विद्यार्थीहरूले बिहीबार दिउँसो करिब सवा एक घण्टा कार्यकक्षमै थुनेका छन् ।

व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह (BBS) प्रथम वर्षको भर्ना प्रक्रिया सुचारु गर्न माग गर्दै दबाब दिने क्रममा विद्यार्थीहरूले उनलाई कार्यकक्ष बाहिरबाट ताला लगाई थुनेका हुन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको निर्देशन अनुसार फागुन महिनादेखि नै स्नातक तहका वार्षिक कार्यक्रमहरूको भर्ना प्रक्रिया देशभर रोकिएको छ ।

सोही निर्देशन पालना गर्दै महेन्द्र मोरङ क्याम्पसले पनि बीबीएस प्रथम वर्षको भर्ना रोकेको थियो। तर, भर्ना हुन नपाएका विद्यार्थीहरूले तत्काल भर्ना खोल्नुपर्ने माग राख्दै आएका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति रोहित यादवको समन्वयमा क्याम्पस प्रशासन र आन्दोलित विद्यार्थीबीच छलफल भएपछि रोक्कालाई थुनामुक्त गरिएको थियो ।

क्याम्पस प्रशासनले विद्यार्थीको माग बमोजिम भर्ना लिन स्वीकार गरेपछि स्थिति शान्त भएको हो ।

यद्यपि, यो भर्ना प्रक्रियामा एउटा महत्वपूर्ण सर्त राखिएको छ:

"क्याम्पसले विद्यार्थीको भर्ना त लिनेछ, तर त्रिविबाट उक्त भर्ना स्वीकृत नभएमा वा भविष्यमा कुनै प्राविधिक समस्या आएमा त्यसको जिम्मेवारी स्वयं विद्यार्थीले लिनुपर्नेछ।"

क्याम्पस प्रमुख बिदामा, बेरुजुको पनि किचलो

निमित्त प्रमुख रोक्काले आफूलाई कार्यकक्षमा थुनिएको पुष्टि गर्दै विद्यार्थीहरूको दबाबका कारण उक्त निर्णय लिनुपरेको बताए। हाल क्याम्पस प्रमुख डा. रामावतार शरण काठमाडौँमा रहेको समयमा यो घटना भएको हो ।

स्मरण रहोस्, पछिल्लो समय क्याम्पसमा कार्यरत प्राध्यापकहरूको नाममा देखिएको बेरुजु रकमका कारण पनि आन्तरिक असन्तुष्टि चुलिएको छ।

सोही समस्या समाधानका लागि क्याम्पस प्रमुख शरण काठमाडौँ धाउनुपरेपछि रोक्काले निमित्तको जिम्मेवारी सम्हालेका थिए ।

View : 713

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved