Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

महामन्त्रीको दौडमा सुनिल शर्मा, कलाकारले माग्दैछन् मत

उद्‌घोष संवाददाता
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ–३ का पूर्व सांसद डा. सुनिलकुमार शर्मा खुलातर्फ महामन्त्रीका उम्मेदवार छन् । 

महामन्त्रीका दाबेदार बनेका शर्मा र उनका सहयोगीहरूले प्रचार अभियान चलाएर खुलामञ्चलाई गुल्जार बनाइरहँदा चर्चित कलाकारहरूले पनि धमाधम भिडियो बनाउँदै उनको मत मागिरहेका छन् । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा खुलातर्फ दुई महामन्त्री पदका लागि आठ जना उम्मेदवार छन् ।

शर्मासहित मोरङकै नेता हालका महामन्त्री गुरुराज घिमिरे, अमरसिंह पुन मगर, उदयशमशेर राणा, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धामा छन् । 

महिलातर्फ एक पदका लागि मोरङकै डा. डिला संग्रौलासहित महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाल उम्मेदवार छन् । 

कलाकारहरू रेखा थापा, निरूता सिंह, पूजा शर्मादेखि माओवादी कार्यकर्ताका रूपमा पहिचान बनाएकी चितवनकी टिकटकर शान्ति बरालसम्म डा. शर्माका लागि भिडियो बनाएर मत मागेका छन् ।

महामन्त्रीका उम्मेदवारमध्येका एक  शर्मा चिकित्सा क्षेत्रको व्यवसाय, मोरङको स्थानीय राजनीति, प्रतिनिधिसभाको निर्वाचन, संसदीय गतिविधि र सामाजिक सेवाका गतिविधिसँगै उनको राजनीतिक परिचय बनेको हो । शर्माले आफू कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय रहेको बताउँदै आएका छन् । 

कांग्रेसको १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा रहँदै आएका उनी यसपटक मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएर महामन्त्रीको प्रतिस्पर्धामा आएका हुन् ।  

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दा शर्माले कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने विषयलाई आफ्नो मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन् । 

उनले कांग्रेसलाई काठमाडौंका बैठक र पार्टी कार्यालयमा सीमित नराखी गाउँका नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी र युवासँग जोड्ने संगठन बनाउनुपर्ने बताएका छन् । शर्माले लोकतन्त्र पुनस्र्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म राजनीतिक गतिविधि र लबिङ गरेको आफ्नो दाबी पनि गर्दै आएका छन् । उनको भनाइमा १२ बुँदे समझदारीदेखि लोकतन्त्र पुनस्र्थापनाको प्रक्रियासम्म उनी विभिन्न तहमा सक्रिय थिए । 

शर्माको राजनीतिक परिचय सबैभन्दा बढी मोरङ–३ को निर्वाचनसँग जोडिएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट यही क्षेत्रका उम्मेदवार थिए । त्यसबेला एमालेका भानुभक्त ढकालसँग उनी पराजित भए ।

ढकालले ४२ हजार ४१३ मत ल्याउँदा शर्माले ४० हजार ५०६ मत पाएका थिए । २०७९ मा भने परिणाम उल्टियो ।  कांग्रेसका शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दै एमालेका ढकाललाई २२ हजारभन्दा बढी मतान्तरले पराजित गरे । ढकालले २५ हजार ८९५ मत पाएका थिए । त्यही निर्वाचनमा राप्रपाबाट अभिनेत्री रेखा थापा पनि मोरङ–३ की उम्मेदवार थिइन् । उनले १० हजार ९८८ मत पाएकी थिइन् । 

२०४८ सालदेखि २०७४ सम्म त्यो  क्षेत्रबाट कम्युनिस्ट उम्मेदवारहरूले जित्दै आएको अवस्थामा कांग्रेसका शर्माले एमालेको त्यो निरन्तरता तोडेका थिए ।

शर्माको निर्वाचन राजनीतिसँग उनको चिकित्सा व्यवसाय पनि जोडिएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजसँग उनको व्यावसायिक सम्बन्ध छ । 

मोरङ–३ मा चुनावी गतिविधि गर्दा उनले स्वास्थ्य सेवा, सहुलियत उपचार, स्वास्थ्य शिविर र एम्बुलेन्स सेवाजस्ता विषयलाई पनि जोड दिँदै आएका छन् । 

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा भने शर्मा पराजित बने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की ३६ हजार ९२४ मतसहित निर्वाचित हुँदा कांग्रेसका शर्माले २४ हजार ३५४ मत पाए । यसरी २०७९ मा ठूलो मतान्तरसहित जितेका शर्मा त्यसपटक तेस्रोपटकको संसदीय प्रतिस्पर्धामा पराजित भए । २०७९ मा सांसद बनेपछि शर्मा संसदमा पनि कतिपय विषयमा आक्रामक रूपमा प्रस्तुत भए । विशेषगरी सुन तस्करी प्रकरणका बेला उनले तत्कालीन गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

कांग्रेसभित्र शर्मा लामो समयदेखि नेता डा. शेखर कोइरालानिकट मानिन्छन् । 

मोरङको राजनीतिमा कोइराला परिवारको प्रभावका बीच शर्माले आफ्नो राजनीतिक स्थान बनाए पनि अहिले डा. शेखर महाधिवेशन प्रक्रियाभन्दा बाहिर छन् । 

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दा उनले कांग्रेसलाई नयाँ परिस्थितिअनुसार परिवर्तन गर्नुपर्ने, युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने र पार्टीको संस्थागत सुदृढीकरण आवश्यक रहेको बताएका थिए । 

उनले आफूले महामन्त्रीको जिम्मेवारी पाएमा देशभरका बस्तीमा समय बिताउने र आर्थिक अभावका कारण उपचार नपाउने कांग्रेस कार्यकर्ताका लागि आफ्नो संयन्त्रमार्फत निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।

View : 20

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved