सुनसरी । पुख्र्यौली समयदेखि लाउ (नौका) अर्थात डुंगा चलाउँदै आएका माझी समुदायको पेशालाई संरक्षण गर्न कोशी नदीमा नौका दौड प्रतियोगिता हुने भएको छ । आफ्नो पुख्र्यौली पेशाको संरक्षणको माग गर्दै आएका माझी समुदायकै अगुवाईमा नौका (नाउ) दौड हुने भएको जनाइएको छ ।
माझी समुदायको सवैभन्दा ठुलो नदी पूजा अर्थात नदी पूजाको अवसरमा नौका दौड प्रतियोगिता आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
नेपाल माझी उत्थान संघ वराहक्षेत्र नगर कार्यसमितिका अध्यक्ष गुमानसिंह माझीले फागुन १७ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–७ र २ को सिमानामा रहेको सिसौली घाटमा नौका दौड हुने जानकारी दिए ।
नगर खेलकुद विकास समिति वराहक्षेत्रको सहयोगमा प्रतियोगिता हुने जनाइएको छ ।
नगर खेलकुद विकास समितिका संयोजक तथा बराहक्षेत्र–७ का वडाध्यक्ष कपिल आचार्यले माझी समुदायको पुख्र्यौली पेसालाई संरक्षण गर्न नौका दौड आयोजना गरिएको बताए ।
यो दौड गत बर्षदेखि सुरू भएको हो । उक्त दौडका विजेताले नगद १५ हजार रूपैयाँ प्राप्त गर्ने जनाइएको छ । त्यस्तै उपविजेताले १० हजार रूपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना हुनेले ५ हजार रूपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
दौडमा सहभागी हुन दुई जनाको एउटा समूह बनाइने छ ।
तोकिएको समय मध्ये सवैभन्दा छिटो दौड पूरा गर्ने समूह विजेता हुने नियम रहेको जनाइएको छ । यस पटकका लागि कम्तिमा २५ वटा समूहले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।
प्रत्येक फागुन महिनाको तेस्रो मंगलबारका दिन पर्ने लदी (नदी) पूजाको अवसरमा बराहक्षेत्र नगरपालिकाले स्थानीय बिदा समेत दिने गरेको छ । यो बर्ष फागुन २० गते माझी समुदायको लदी पूजा परेको जनाइएको छ ।
कोशी किनारमा हुने लदी पूजामा सुनसरीसहित मोरङ, झापा र उदयपुर जिल्लामा रहेका माझी समुदाय भेला भएर धूमधामका साथ पूजा गर्ने गरेको माझी उत्थान संघका सुनसरी अध्यक्ष घनश्याम माझीले बताए ।
पूजामा उनीहरूले शक्ति स्वरूपिणी जलदेवी र सेतीदेवीको आराधना गर्ने गरेका छन् । उनीहरूले नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा र परेवाको पञ्चबली दिने परम्परा रहेको जनाइएको छ ।
View : 155
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved