Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

उद्‌घोष सम्वाददाता
२९ मंसिर २०८१, शनिवार

काठमाडौँ, २९ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ ।

काठमाडौँको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए । 

साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोडे । 

पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिए ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । रासस

View : 85

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved