विराटनगर । कोशी प्रदेशका ग्रामीण क्षेत्रमा साइबर अपराध चुनौतीका रुपमा रहेको छ । जानेर वा नजानेर सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगबाट यस खाले हुने अपराध बढी गरेर गाउँमै हुने गरेका छन् ।
यस्ता अपराधमा कमी ल्याउन प्रहरीले अभियान सञ्चालन गर्दै विभिन्न ठाउँमा सचेतना कार्यक्रम गर्दै आएको छ । खल्तीमा बोकेर हिंड्ने मोबाइल फोनबाटै अरु बिरुद्ध गर्न सकिने अपराधले सोच्दै नसोचेका मानिसका परिवारमै विचलन ल्याउन सक्छ । इन्टरनेटको दुरुपयोगले कतिपय परिवारमा हत्या, आत्महत्या, परिवारमा बेमेल तथा पारपाचुके हुने गरेका छन् ।
चित्त नबुझेका मानिसको फोटो वा ऊ बिरुद्ध प्रचार गर्नु, लिंगका आधारमा हेलागर्नु मात्रै हैन सामाजिक सञ्जालमा कसैको मानमर्दन गर्ने जस्ता अपराध हुने गरेका थिए । हिजोआज बैंकिङ कसुरका अपराध पनि हुने गरेका छन् ।
नेपाल प्रहरीले साइबर अपराधको मुद्दा जिल्ला तहबाटै चलाउने कानुन बनेपछि ग्रामीण क्षेत्रमा मोबाइल फोन बोक्नेहरुबाट यस्ता अपराध बढी हुने गरेको सार्वजनिक हुनथालेको छ ।
जिल्ला तहबाट साइबर अपराधमा प्रहरीले मुद्दा चलाउने अधिकार पाएपछि कोशी प्रदेशका जिल्लामा गएको पाँच महिनामा २४ वटा मुद्दा दर्ता भएर कारवाही अघि बढेको छ ।
‘वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यको परिवारमा यस्ता अपराध बढी हुने गरेको छ’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानका अनुभवित एक उच्च अधिकृतले भने– ‘सामाजिक सञ्जाल प्रयोगबाट हुने साइबर अपराधका बारेमा थाहा नहुने भन्दा पनि केहीले अपराध गर्न नै चाहिरहेको पाइएको छ ।’
उनले यसखाले अपराधको असर र प्रभावका बारेमा थोरै मात्रै नेपालीले थाहा पाएको बताए ।
प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार साइबर अपराधको असर कम गर्न गत आर्थिक वर्षमा दुई हजार एक सय आठ वटा सार्वजनिक कार्यक्रम गरिएको थियो । प्रहरीले नै यो अपराधले नजानिदो तरिकाले मानिस जेलसम्म जाने गरेको कानुन बारे सचेत गराएको थियो ।
यतिका कार्यक्रमबाट ५५ हजार पाँच सय ३५ जनालाई प्रत्यक्ष जानकारी दिइएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले साइबर अपराध रोक्न ग्रामीण क्षेत्रमा पनि सचेत गराउने अभियान चलाइएको जानकारी दिए ।
कानुनले कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर गरिने अपराधलाई साइबर अपराध माने पनि ग्रामीण क्षेत्रमा मोबाइल फोन र त्यसमा सीमकार्डको डाटाबाटै चल्ने सामाजिक सञ्जालबाट बढी समस्या देखिने गरेको छ ।
तर, गाउँ र दुर्गमका मानिस यस्ता अपराधमा पीडित भएको जनाउँदै पीडकलाई कारवाही गराउन प्रहरी कार्यालयसम्म पुग्ने गरेका छैनन् ।
‘सामाजिक सञ्जालको प्रयोगबाट आर्थिक अपराध र देशकै शान्ति सुरक्षामा खलल पुर्याउने काम पनि भएका छन्’ कोशी प्रदेशका प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले भने ।
नयाँ पुस्ता साइबर अपराधमा बढी संलग्न भएको देखिने गरेको छ भने पुराना पुस्ताले नजानेर पनि अपराध गरेको पाइन्छ ।
नेपालको कानुनले कम्प्युटर र इन्टरनेटबाट हुने अपराधलाई साइबर अपराध भएको ब्याख्या गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानमा लामो अवधि काम गरेका एक उच्च अधिकृत भन्छन्– ‘स्मार्ट मोबाइलफोन आफैं कम्प्युटर सरह हो, वैदेशिक रोजगारीमा रहेको परिवारका सदस्यलाई असम्बन्धित ब्यक्तिले चङ्गुलमा फसाएका अपराध अचेल बढी भेटिने गरेका छन् ।’
कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार वार्षिक प्रगति बिवरण सार्वजनिक गर्दै पछिल्लो अवस्थामा साइबर अपराध बढेकाले अभियान चलाएर सर्वसाधारणलाई सुचित गर्ने गरिएको जनाएको छ ।
नायव महानिरीक्षक खापुङले साइबर अपराध नयाँ तर चुनौतिपूर्ण विषय भएकाले पनि हरेक क्षेत्रमा सचेत गराउनु जरुरी रहेको बताए ।
View : 291
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved