Biratnagar, Morang, Nepal
८ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस नगर अधिवेशन :

विराटनगर, इटहरी र धरानमा को–को छन् आकांक्षी ?

तीनै नगरमा नेतृत्वका लागि आकांक्षीको संख्या बढ्दै गर्दा प्रतिस्पर्धा रोचक हुने देखिएको छ । आकांक्षीहरू आफ्नो एजेण्डासहित खुलेर मैदानमा उत्रिएका छन् । यसले महानगर र उपमहानगर तहमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास लगभग अन्त्य हुने देखिएको छ ।
उद्‌घोष संवाददाता
७ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनपछि अब नगर नेतृत्व चयनको सरगर्मी बढेको छ । यो सरगर्मीसँगै कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरसँगै सुनसरीका दुई उपमहानगरपालिका इटहरी र धरानमा नगर सभापतिका आकांक्षीहरूको संख्या बढ्दै गएको छ ।

तीनै नगरमा नेतृत्वका लागि आकांक्षीको संख्या बढ्दै गर्दा प्रतिस्पर्धा रोचक हुने देखिएको छ । आकांक्षीहरू आफ्नो एजेण्डासहित खुलेर मैदानमा उत्रिएका छन् । यसले महानगर र उपमहानगर तहमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास लगभग अन्त्य हुने देखिएको छ ।

कोशी प्रदेशकै एकमात्र महानगरमा विराटनगरमा नगर सभापतिका लागि सन्तोष न्यौपाने, कृष्ण कार्की र सुवाशचन्द्र बस्नेतले दाबी प्रस्तुत गरिसकेका छन् । यो दौडमा अरु पनि थपिने सम्भावना रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । अहिलेको महानगर समितिका केही पदाधिकारी समेत सभापति पदका लागि मौका खोजिरहेको उनीहरू निकट कार्यकर्ताको दाबी छ । 

सभापतिका आकांक्षी सन्तोष न्यौपाने २०७८ असोज १६ को नगर अधिवेशनमै सभापतिका उम्मेदवार थिए । उक्त निर्वाचनमा दीपक चापागाईं २१२ मतसहित नगर सभापतिमा निर्वाचित हुँदा न्यौपानेले १६५ मत प्राप्त गरेका थिए । सभापतिकै आकांक्षी कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत पाएका थिए ।

चार वर्षपछि न्यौपाने फेरि नगर सभापतिका लागि सशक्त दाबीका साथ मैदानमा उत्रिएका छन् । २०७९ को स्थानीय निर्वाचनमा विराटनगर–५ को वडाध्यक्ष निर्वाचित भएका न्यौपाने वडाध्यक्ष भएपछि वडाबासीको कामसँगै राजनीतिक गतिविधिमा पनि सक्रिय छन् ।

न्यौपाने नेपाल विद्यार्थी संघ विराटनगरको दुई कार्यकाल सभापति तथा त्यसपछि नेपाल तरुण दलको महानगर सभापति हुँदै जिल्ला सचिवसम्म भइसकेका छन् ।

अघिल्लो अधिवेशनमा भएको पराजयलाई राजनीतिक यात्राको अन्त्य नभई अर्को अवसरका रूपमा लिएको न्यौपाने बताउँछन् । उनको भनाइमा यसपटक संगठनलाई थप व्यवस्थित गर्दै कार्यकर्तासँगको सम्बन्धलाई बलियो बनाउने योजनासहित उनी अघि बढेका छन् ।

कांग्रेसमा विद्यार्थी राजनीतिबाट सक्रिय भएका कृष्ण कार्की यसअघि १४औं महाधिवेशन निकटको नगर अधिवेशनमा पनि सभापतिका प्रत्यासी थिए । कुनै समय नेता कृष्णप्रसाद सिटौलानिकट भनेर चिनिएका कार्की पछिल्लो समय संस्थापन धारमा देखिन्छन् ।

विराटनगरका हरेकजसो सामाजिक काममा अघि सर्ने कार्कीले आफूलाई नगर सभापतिका रुपमा अघि सारिसकेका छन् । उनले पुस्तान्तरण केवल नेतृत्व परिवर्तनको विषय मात्रै नभई नयाँ सोच, ऊर्जा र जिम्मेवारीको सुरुवात भएको बताएका छन् ।  

विराटनगर महानगर कांग्रेसको नेतृत्वका अर्का आकांक्षी सुवाशचन्द्र बस्नेतले पनि पार्टीमा पुस्तान्तरण र नयाँ ऊर्जालाई आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा अघि सारेका छन् ।

वि.सं. २०५५ सालदेखि राजनीतिक रूपमा सक्रिय रहेको बताउने बस्नेतले कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र विचारलाई आफ्नो राजनीतिक आधार बनाउँदै आएको बताएका छन् । बीपी कोइरालाको राजनीतिक दर्शनबाट प्रभावित रहेको बताउने उनले संगठनमा नयाँ सोच र पुस्तान्तरण आवश्यक रहेको धारणा राखेका छन् ।

खेलकुद क्षेत्रमा समेत सक्रिय बस्नेत सम्राट स्पोर्टिङ क्लबका सचिव हुन् । खेलकुदलाई युवाको व्यक्तित्व विकास, अनुशासन र सामाजिक एकताको माध्यमका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ ।

यता आकांक्षीहरू आफ्नो प्रचारप्रसारमा केन्द्रीत बन्दा विराटनगर महानगर समितिको अधिवेशनको मिति भने अन्यौलमा छ । केन्द्रीय कार्यतालिकाअनुसार बुधबार गाउँ नगर अधिवेशन हुनुपर्नेमा विराटनगरको नगर अधिवेशनको मिति तय हुन सकेको छैन ।

महानगर समितिका सचिव तेजिन्द्र भट्टराईले महानगरमा क्षेत्र नम्बर ६ अन्तरगतका केही वडाको वडा अधिवेशनको प्रक्रिया नै बुधबारसम्म टुंगिने भएकोले त्यसपछि मात्रै नगर अधिवेशनको मिति तय हुनेछ ।

वडा नम्बर ६ को वडा समितिको निर्वाचन प्रक्रिया बुधबार मात्रै टुंगिने अवस्था छ, वडा अधिवेशन सम्पन्न नभई नगर अधिवेशनको मिति तोक्न कठिन हुन्छ’ सचिव भट्टराईले भने, ‘भोलि (बुधबार)लाई प्रभावित भयो नै, अब नगर अधिवेशनको मिति पनि बुधबार नै भन्न सकिएला ।’

इटहरीमा पाँच आकांक्षी

सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि नगर सभापतिका लागि आकांक्षीको संख्या बढ्दै गएको छ । नगर सभापतिका लागि विकास केसी, बालकृष्ण विष्ट, कोविदजंग कार्की, विक्रम घिमिरे र रोहित चौधरीले दाबी गरेका छन् ।

विकास केसी यसअघि दुई पटक नगर सभापतिको प्रतिस्पर्धामा पराजित भएका नेता हुन् । अघिल्ला दुवै निर्वाचनमा थोरै मतान्तरले पराजित भए पनि आफू संगठन र कार्यकर्तामाझ निरन्तर सक्रिय रहेको उनले बताउने गरेका छन् ।

यसपटक नेतृत्वमा पुगेर पार्टीभित्रको एकता बलियो बनाउने र आगामी निर्वाचनमा कांग्रेसलाई थप प्रभावकारी बनाउने योजनासहित आफू मैदानमा रहेको केसीले बताएका छन् । इटहरीका २० वटै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन हुनु नगर अधिवेशनका लागि सकारात्मक सुरुवात भएको उनको भनाइ छ ।

इटहरीमा आकांक्षीमध्ये बालकृष्ण विष्ट र कोविदजंग कार्की वर्तमान नगर उपसभापति हुन् भने विक्रम घिमिरे नगर सचिवको जिम्मेवारीमा छन् । अर्का आकांक्षी रोहित चौधरी इटहरी–८ का दुई कार्यकाल निर्वाचित वडाध्यक्ष हुन् । आकांक्षी धेरै भएकाले इटहरीमा बाहिर नेतृत्व तहमा सहमतिको प्रयास गरिएपनि भित्र भने निर्वाचनकै माहौल बन्दै गएको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।

धरानमा सहमतिको प्रयास

धरान उपमहानगर समितिमा भने विराटनगर र इटहरीभन्दा भिन्न वातावरण देखिएको छ । यहाँ नगर सभापतिका लागि वर्तमान नगर उपसभापति प्रवीण राई र देवेन्द्र लिम्बू आकांक्षी देखिएका छन् ।

अहिले नै आकांक्षी दुईजना मात्रै देखिंदा दुवैलाई सहमतिमा ल्याउने प्रसास भइरहेको बताइएको छ । 

प्रवीण राई २०७४ र २०७९ को स्थानीय निर्वाचनमा लगातार धरान–१५ को वडाध्यक्ष निर्वाचित भएका थिए । लामो समय स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव बोकेका उनी अब पार्टीको नगर नेतृत्व गर्ने तहमा पुगेको भन्दै त्यही अवसरको पर्खाइमा छन् ।

धरानमा सहमतिको प्रयास सफल हुन्छ वा निर्वाचनमै जानुपर्ने अवस्था आउँछ भन्ने विषयले नगर अधिवेशनको माहौललाई थप रोचक बनाएको जनाइएको छ ।

विराटनगर, इटहरी र धरानमा आकांक्षीको उत्साहले कांग्रेसको आगामी १५औं महाधिवेशनमा तल्लो तहबाटै नेतृत्व निर्माण र आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गरेको छ ।

१५औं महाधिवेशन अघि वडा हुँदै पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रको नेतृत्व तथा प्रतिनिधि चयन हुँदै केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढ्नेछ । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भइसकेको छ ।

नगर नेतृत्व चयनका क्रममा देखिने सहमति या लोकतान्त्रिक प्रतिस्पर्धाले समेत महाधिवेशनको माहौललाई रोचक बनाउने आंकलन गरिएको छ ।

View : 177

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved