-ओमप्रकाश अग्रवाल
विश्वका हामी सनातनी हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिनाको अत्यन्त ठूलो महत्त्व छ। यस महिनालाई पवित्र भक्तिभाव र प्रकृतिको सामीप्यसँग जोडिएको रूपमा लिइन्छ। वर्षा ऋतुको मध्य समयमा पर्ने यो महिनाले पृथ्वीलाई हराभरा बनाउँछ।
सनातन हिन्दू धर्मावलम्बीहरूको प्रायः सबै महिनामा कुनै न कुनै चाडपर्व परिहाल्छन्। त्यसैअनुसार साउन महिनालाई विशेष गरी भगवान शिवको महिनाको रूपमा मानिन्छ। यसै महिनादेखि चतुर्मास पनि सुरु हुन्छ।
साउन महिनामा हामी परापूर्वकालदेखि नै शिवजीको विशेष ध्यान, पूजा, जलधारा, बेलपत्र, अक्षता, दूध आदि अर्पण गरी भजनका साथ नाचगान गर्दै रमाइलोका साथ शिव मन्दिरमा पूजाआजा गर्ने गर्दछौँ।
साउनको सोमबार र ठूली एकादशी यसै महिनामा पर्छन् भने यस लगत्तै हरितालिका तीज, नागपञ्चमी, रक्षाबन्धन र श्रीकृष्णजन्माष्टमी भदौमा पर्छन्।
श्रावण शुक्ल पूर्णिमासम्म चन्द्रमास अनुसार सोमबारको विशेष महत्त्व रहन्छ।
हरितालिका तीजमा दिदीबहिनीहरू विशेष शृङ्गार गरी व्रत बसेर चोखोनीतो खाई यो पर्व मनाउने गर्दछन्।
नागपञ्चमीका दिन हाम्रा घरका ढोकाहरूमा नागको फोटो टाँसी नागको पूजा गरी आफ्ना घर तथा प्रतिष्ठानमा काँचो दूधको जलधारा दिई भगवान शिवप्रति पूर्ण आस्था राखी नाग देवताको पूजा गर्ने गर्दछौँ।
साउनमा नै धार्मिक यात्रीहरूले काँवर बोकी अमरनाथ, पशुपतिनाथ, बाबाधाम, बासुकीनाथ, हरिद्वार, पिण्डेश्वरीका साथै आफ्ना नजिकका शिवालयमा गई जल, दूध, फूल, बेलपत्र, प्रसाद, भाङ, धतुरो शिवलिङ्गमा अर्पण गरी आफ्ना श्रद्धासुमन व्यक्त गर्दछन्।
यसरी साउन महिनाभरि केवल धार्मिक दृष्टिले मात्र होइन, सामाजिक र सांस्कृतिक दृष्टिले पनि यसको महत्त्व अत्यन्तै धेरै छ।
आजको यो व्यस्त जीवनमा साउन महिनाले हामीलाई केही समय रोकिएर आत्मचिन्तन गर्न सिकाउँछ। भगवान शिवको आराधनाबाट सधैँ धैर्य, सरलता, करुणा र सकारात्मक सोचलाई जीवनमा अपनाउन सके मात्र साउन महिनाको सार्थकता पूर्ण हुनेछ।
नेपालमा अहिले पनि सनातनी पात्रोअनुसार संवत् र महिना दैनिक कार्यमा प्रचलनमा छन्। तर, विश्वमा धेरै हिन्दूहरूको बसोबास रहेको भारतमा ईश्वी संवत् र इसाई महिनाहरूले राष्ट्रिय मान्यता पाएका छन् भने सनातनी महिना र संवत् राष्ट्रिय मान्यता प्राप्त नभएकाले प्रचलनमा छैनन्।
नेपालमा साउन महिना राष्ट्रिय रूपमा मान्यता प्राप्त हुनुका साथै दैनिक व्यवहारमा पनि उत्तिकै मान्यता प्राप्त भएकोले यो उत्तिकै श्रद्धाको महिनाको रूपमा मानिन्छ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved