धनकुटा । कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले स्वास्थ्य सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनमा लापरवाही गर्ने कर्मचारी तथा कार्यालय प्रमुखहरू जो भए पनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
धनकुटामा शुक्रबारदेखि सुरु भएको ‘मनोसामाजिक परामर्शदाताहरूको लागि ६ महिने मोड्युलर तालिम’ को उद्घाटन गर्दै मन्त्री लिम्बूले कार्यसम्पादनमा हुने ढिलासुस्ती अब सह्य नहुने स्पष्ट पारे ।
उद्घाटन मन्तव्यका क्रममा मन्त्री लिम्बूले स्वास्थ्य सेवालाई जनताको मौलिक अधिकारको रूपमा लिएको भए पनि केही जिल्लाहरूबाट प्राप्त प्रतिवेदन र सूचकहरूको प्रगति सन्तोषजनक नभएकोमा गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले अब समय बहाना बनाउने नभई परिणाम देखाउने भएको बताउँदै तोकिएको लक्ष्य, बजेट खर्च र कार्यक्रम कार्यान्वयनमा कमजोरी देखिए कडा कदम चालिने उल्लेख गरे ।
मन्त्री लिम्बूले विशेष गरी नसर्ने रोग, मानसिक स्वास्थ्य, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै सुधार नआए जिम्मेवारी निर्धारण गरिने चेतावनीसमेत दिए ।
मन्त्रीले आर्थिक अनुशासन र पारदर्शितामा जोड दिँदै वार्षिक कार्यक्रम अनुसार नै बजेट खर्च गर्न र अन्तिम त्रैमासमा हतारमा खर्च गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिए। खरिद प्रक्रियामा ईबिडिङ प्रणाली अनिवार्य प्रयोग गर्नुपर्ने, गुणस्तरहीन सामग्री खरिद भएमा कारबाही हुने र असुल उपर हुनुपर्ने बेरुजु तत्काल सरकारी खातामा जम्मा नगरे कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाइने उनको भनाइ थियो।
भ्रष्टाचार, लापरवाही र गैरजिम्मेवारीप्रति मन्त्रालयले शून्य सहनशीलता अपनाउने बताउँदै उनले औषधि अभाव र सेवा अवरोधका गुनासाहरू दोहोरिन नहुनेमा जोड दिए ।
कोशी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा सुरु भएको यो दोस्रो चरणको तालिममा प्रदेशका ८ जिल्लाका १६ जना मनोसामाजिक परामर्शकर्ताहरूको सहभागिता छ।
तालिममा मोरङ, सुनसरी, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, झापा र तेह्रथुमका स्थानीय तहमा कार्यरत परामर्शदाताहरू सहभागी छन्। ६ महिने मोड्युलर तालिम अन्तर्गतको यो दोस्रो चरणको तालिम १० दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत र स्वास्थ्य तालिम केन्द्रका निर्देशक गजेन्द्रप्रसाद यादवले तालिमको औचित्य र प्राविधिक पक्षबारे प्रकाश पारेका थिए ।
तालिमको सहजीकरण मनोसामाजिक सुपरीवेक्षक नागेन्द्र यादव र मनोविद् चेतन खड्का गरिरहेका छन् ।
View : 131
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved