Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा नर्सहरूको आन्दोलनः न्यूनतम पारिश्रमिक र सुरक्षाको माग

जुनु भट्टराई
१३ कार्तिक २०८२, बिहिवार

विराटनगर । निजी स्वास्थ्य संस्थाहरूले नर्सहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै विराटनगरमा नर्सहरू आन्दोलित भएका छन् । 

नेपाल नर्सिङ संघको आह्वानमा सुरु भएको आन्दोलनमा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

नेपाल नर्सिङ संघ मोरङको अगुवाइमा कोशी अस्पतालका नर्सहरूले बुधबार बिहान दुई घण्टा अस्पताल परिसरमै प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । 

उनीहरूले ‘नर्सको कामको सम्मान गरौं, श्रम शोषण अन्त्य गरौं, विदेश जाने वातावरण हटाऊ’ र ‘श्रमको अवमूल्यन नगरौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योञ्जनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालहरूले अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने बताइन् । 

उनका अनुसार, निजी क्षेत्रमा कार्यरत नर्सहरू न्यूनतम पारिश्रमिक नपाई शोषणको शिकार हुँदै आएका छन्, जसले पेशामा असुरक्षा र निराशा बढाएको छ । 

उनले भनिन्, ‘नर्सहरूको पेशागत अधिकार र सम्मान सुनिश्चित गर्न सरकार र सम्बन्धित निकाय तत्काल जिम्मेवार बन्नुपर्छ ।’

संघले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेको मागपत्र र त्यससँगैको आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै नर्सहरूको न्यूनतम पारिश्रमिक, सेवा सुविधा र कार्यस्थलमा सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ । 

संघले यही कात्तिक ७ गते मन्त्रालयमा पेश गरेको मागपत्रमा उल्लेख गरिएका मुख्य बुँदाहरूमा सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै नर्सहरूको पेशागत हकहितका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा र महासचिव डा. देवकाकुमारी आचार्यले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार, मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन अनुसार मागहरू पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने चेतावनी दिइएको छ ।

संघले असोज ७ गतेदेखि पूर्ण मागपत्रसहित आन्दोलनको तालिका सार्वजनिक गरिएको छ ।

कात्तिक ९ देखि ११ गतेसम्म देशभरका अस्पताल र स्वास्थ्य संस्थामा नर्सहरूले कालोपट्टी बाँधी शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने र कात्तिक १२ गते मन्त्रालय अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

संघले कात्तिक १४ गतेभित्र मन्त्रालयबाट आवश्यक निर्णय गरेर अस्पताल र शिक्षण संस्थामा कार्यरत सबै नर्सहरूलाई न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा तत्काल प्रदान गर्न माग गरेको छ । 

लामो समयदेखि श्रमिकका रूपमा हेरिंदै आएका नर्सहरूलाई स्वास्थ्य ऐन अन्तर्गतको उचित व्यवस्था भित्र ल्याउन, नर्सहरूको विशिष्टता र योग्यता अनुसार सेवा प्रवाहको व्यवस्था मिलाउन, अनुसन्धान कार्यमा संलग्न नर्सहरूका लागि तथ्यमा आधारित अभ्यास (भ्खष्मभलअभ द्यबकभम एचबअतष्अभ० सम्बन्धी नीति बनाउन र कार्यस्थलमा दुर्घटनासम्बन्धी बीमा तथा सुरक्षा नीति लागू गर्न पनि संघले माग गरेको छ ।

संघले नर्सहरूलाई राष्ट्रको स्वास्थ्य प्रणालीको मेरुदण्ड भन्दै उनीहरूको योगदानलाई राज्यले सम्मानपूर्वक मूल्यांकन गर्नुपर्नेमा जोड दिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यावश्यक छ । उनीहरूको मनोबल घटाउने व्यवहार र असमान सुविधा नर्सिङ पेशामाथि नै अन्याय हो ।’

नेपाल नर्सिङ संघले यसअघि पनि मन्त्रालयसँग पटक–पटक संवाद र छलफलमार्फत मागहरू अघि सारेको थियो । तर, माग पूरा नहुँदा संघले यसपटक औपचारिक आन्दोलनमा जान बाध्य भएको जनाएको छ । 

संघले सरकारसँग तत्काल वार्ता गरी नर्सहरूको व्यावसायिक अधिकार र सम्मान सुनिश्चित गर्न विराटनगरका आन्दोलनरत नर्सहरूले भने माग पूरा नभएसम्म दैनिक रूपमा विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

View : 296

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved