विराटनगर । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको तेस्रो पूर्ण बैठकले लामो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यही माघ १६ र १७ गते काठमाडौंमा बसेको तेस्रो राष्ट्रिय बैठकले माघ २५ गतेदेखि फागुन ९ गतेसम्म आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
महासंघ राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा संसद्को हिउँदे अधिवेशनबाट संघीय शिक्षा ऐन जारी हुनुपर्ने, नेपाल शिक्षक महासंघसँग विगतमा भएका पटक पटकका सहमति र सम्झौता पालना गर्नुपर्ने माग गरिएको छ ।
विद्यालय कर्मचारी, बाल विकास शिक्षक, अस्थायी प्रकृतिका शिक्षकका सेवा सुविधा, शिक्षक सरूवा बढुवालगायतका विषयमा विगतमा भएका सहमति सरकार पक्षबाट उल्लंघन भएको ठहर गर्दै राष्ट्रिय समितिले आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार माघ २५ गते ७५३ स्थानीय पालिकामा ध्यानाकर्षणपत्र बुझाउने, माघ २९ गते विद्यालयमा विद्यालय व्यवस्थापन समिति अभिभावक विद्यार्थी लगायतसँग समस्याका विषयमा अन्तरक्रिया गर्ने, फागुन २ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण पत्र बुझाउने, फागुन ९ गते सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्री र मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउने, जुलुस निकाल्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
त्यसपश्चात् दोस्रो चरणको आन्दोलन काठमाडौं केन्द्रित गर्ने र फागुनको अन्तिम साता दोस्रो चरणका आन्दोलन घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।
View : 29
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved