विराटनगर । कोशी हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ ।
हिमपातका कारण इम्जा छे अर्थात् आइल्यान्ड पिक क्षेत्रमा रोकिएका सात विदेशी पर्यटकको उद्धार गरिएको छ ।
निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार उच्च हिमाली क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ ।
मौसम प्रतिकूल भएपछि प्रशासनले माथिल्लो क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाएको छ । स्थानीय तह, प्रहरी र स्थानीयवासीसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको प्रशासनले जनाएको छ ।
‘माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ ।
पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी थापा मगरले भने ।
भारी हिमपातका कारण इम्जा छे क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकलाई स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी थापा मगरका अनुसार उनीहरू चिनियाँ मूलका भए पनि युरोपेली नागरिक भएको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।
इम्जा छे, जसलाई आइल्यान्ड पिक पनि भनिन्छ, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको प्रमुख पर्वतारोहण गन्तव्य हो । समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको यो हिमाल आरोहणका लागि विदेशी पर्यटकसमेत जाने गर्छन् ।
दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ ।
पछिल्लो हिमपातले यही उच्च हिमाली क्षेत्रमा आवागमन थप कठिन बनाएको हो । प्रशासनका अनुसार अहिले सगरमाथा क्षेत्रमा १ हजार २ सयभन्दा बढी पर्यटक छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले मौसम प्रतिकूल भएपछि पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन आग्रह गरिएको बताए ।
‘मौसम प्रतिकूल भएकाले पर्यटकको सुरक्षालाई प्राथमिकता दिएका छौँ,’ उनले भने ‘जोखिमयुक्त अवस्थामा अनावश्यक रूपमा माथि नजान आग्रह गरिएको छ ।’
गाउँपालिकाका अनुसार थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा समेत हिमपात भइरहेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्र उच्च हिमाली पारिस्थितिक प्रणालीमा पर्छ । निकुञ्जको माथिल्लो भागमा हिमनदी, हिमाल र गहिरा उपत्यका छन् । इम्जा खोला प्रणाली पनि यही क्षेत्रको महत्वपूर्ण जलाधारमध्ये पर्छ ।
उच्च हिमाली भूगोलका कारण खुम्बु क्षेत्रमा मौसम छोटो समयमै परिवर्तन हुने गर्छ ।
वर्षा र हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका मार्गमा आवागमन कठिन हुनसक्ने भएकाले मौसमको अवस्था हेरेर यात्रा गर्नुपर्ने हुन्छ । प्रशासनले मौसम सामान्य नभएसम्म उच्च हिमाली क्षेत्रमा अनावश्यक आवागमन नगर्न आग्रह गरेको छ ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved