विराटनगर । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमै सर्वोत्कृष्ट बलर घोषित हुँदै विराटनगरका खेलाडी ललित राजवंशीले इतिहास रचेका छन् ।
यद्यपि ललितले यो उपलब्धि आत्मसात गरिरहँदा जनकपुर बोल्ट्स टिमका सदस्य रहे । उनकै टिम जनकपुरले शनिबार सुदूरपश्चिमलाई हराउँदै उपाधिसमेत जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपीएल सुरु हुँदै गर्दा विराटनगरका धेरै क्रिकेटप्रेमी बेखुस थिए । यसको प्रमुख कारण थिए ललित ।
शनिबार त्यही मैदानमा प्रतियोगिताको फाइनल हुँदै गर्दा विराटनगरका तिनै क्रिकेट फ्यान्स खुसी थिए । यो खुसीको कारण पनि उनै ललित थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै गर्दा यहाँका धेरै क्रिकेटप्रेमीले जनकपुरको जीतको कामना गर्दै सामाजिक सन्जालको भित्तोमा आक्रोश पोखेका थिए । विराटनगरकै बासिन्दा ललित राजवंशीलाई विराटनगरले टिममा नलिएको भन्दै धेरैले असन्तोष पोखेका थिए ।
यद्यपि विराटनगर किंग्सले ललितलाई टिममा लिन नपाउनुमा उसको नियत होइन, ‘भाग्य’ को दोष थियो । लक्की ड्रमार्फत ललित जनकपुर बोल्ट्समा आवद्ध हुन पुगेका थिए । विराटनगर टिमको यो प्राविधिक बाध्यता नबुझेका फ्यान्सले एकोहोरो ‘विराटनगरले ललितलाई नपत्याएको’ भन्दै खेदिरहे ।
पहिलो खेलमा ललितकै टिम जनकपुरसँग हारेको विराटनगरले प्रतियोगितामा राम्रो गर्न सकेन । ललितका समर्थकहरूले झनै खुसी मनाउँदै सामाजिक सन्जालमा भनिरहे ‘ललितलाई हेपेको टिमले बल्ल चाख्यो ।’
प्रतियोगिता चल्दै गर्दा स्थिति यस्तोसम्म बन्यो कि कोशी प्रदेशका ‘हाइप्रोफाइल’ नेता र व्यापारीहरू विराटनगरको पक्षमा प्रस्तुत हुँदा क्रिकेट मन पराउने धेरै सर्वसाधारण भने विपक्षमा उभिन पुगे ।
यसरी विराटनगर टिमसँग सुरुमा नाखुस बन्नेमध्येकै एक थिए ललितकै छिमेकी पूर्वमन्त्री जयराम यादव । जसपाका नेता यादव विराटनगर–१४ जतुवाका बासिन्दा मात्रै होइनन्, ललितका बुबाका साथी पनि हुन् ।
शनिबार त्रिवि मैदानमा फाइनल चल्दै गर्दा यादवले भने ‘विराटनगरले ललितलाई नलिएको, लिनै नचाहेको भन्ने सुनेपछि मैले त टिमका लगानीकर्ताहरूलाई फोन गरेरै यसबारे गुनासो गरेको थिएँ ।
तर, लक्की ड्रमार्फत जनकपुर पुगेको थाहा पाएपछि चाहिँ मेरो मन शान्त भएको थियो ।’ कोशीका पूर्व मन्त्री यादवको विराटनगर किंग्सका लगानीकर्ताहरूसम्म पहुँच थियो, त्यसैले उनले बेलैमा चाल पाए ।
तर, यस्ता धेरै फ्यानहरू भने अझै पनि ललितलाई विराटनगरले नपत्याएको भाष्यमै अडिइरहेका छन् । त्यसैले एनपीएलको सुरुमा ललितलाई विराटनगर टिममा देख्न चाहेकाहरू उनी नभएका कारण बेखुस बनेका थिए ।
शनिबार भने ललितको टिमले फाइनल खेलेको, उनकै टिमले जितेको र ललित नै प्रतियोगिताका सर्वोत्कृष्ट बलर बनेको खुसीयाली सामाजिक सन्जालमा प्रकट गर्नेहरू धेरै थिए ।
ललितको यो सफलताको साक्षी बन्न उनका बुबा जयनारायण राजवंशी शनिबार त्रिवि मैदानमा उपस्थित थिए । खेलअघि जयनारायणले ‘ललितले कार जितेको हेर्ने चाहना भएको’ बताएका थिए ।
‘छोराले राम्रो खेलिरहेको छ, कार पनि जितोस् भन्ने छ’, जयनारायणले भनेका थिए ‘तर, खेल हो, के भन्न सकिन्छ र ’ उनको यो कामना त पूरा भएन ।
सुदूरपश्चिम रोयल्सका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै कार हात पार्दा सर्वोत्कृष्ट बलर घोषित हुँदै ललितले बाइक र पाँच लाख रुपैयाँ हात पारे ।
छोराको यो उपलब्धिले बुबा जयनारायणलाई हर्षित पारेको छ । तीन छोरामध्येका कान्छा ललितले एनपीएलको पहिलो संस्करणमा बलमार्फत देखाएको जादुले सम्भव भएको तथ्यबारे जानकार जयनारायणले वाचा गरे ‘यसमै पनि खुसी छु । दुई तीन दिनमा विराटनगर आएर भेटौंला, कुरा गर्नुपर्छ ।’
एनपीएलमा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित प्रतियोगिताको सबैभन्दा धेरै विकेट लिने सूचीमा पनि सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै शीर्ष स्थानमै रहे । उनीहरू दुवैले समान १७ विकेट लिएका थिए ।
प्रतियोगितामा कुल १० खेल खेलेका ललितले सबै खेलमा गरी कूल ४० ओभर बलिङ गरे । अर्थात उनले आफ्नो पूरै ओभर बलिङ गर्दै १७ विकेट हात पारेका हुन् ।
त्यसक्रममा ५ ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए । उनीसँगै समान १७ विकेट लिएका स्कट कुगेलेइनले ९ खेलमा २८.५ ओभर बलिङ गर्दै २१० रन खर्चिएर १७ विकेट लिएका थिए । त्यसक्रममा उनको उच्च प्रदर्शन १८ रन खर्चेर ५ विकेट लिनु थियो ।
ललितले आफूले खेलेका १० मध्ये एउटा खेलबाहेक सबैमा विकेट लिएका थिए । पहिलो खेलमा विराटनगरविरूद्ध तीन विकेट लिएका उनले कर्णालीविरूद्ध एक विकेट, पोखराविरूद्ध तीन विकेट र लुम्बिनीविरूद्ध एक विकेट लिएका थिए ।
सुदूरपश्चिमविरूद्ध लिग चरणको खेलमा विकेटविहीन बनेका ललितले फाइनलमा भने ४१ रन बनाएर क्रिजमा जमिसकेका आक्रामक ब्याटर विनोद भण्डारीलाई बोल्ड गरेका थिए ।
काठमाडौंविरुद्ध ३ विकेट लिएका उनले चितवनविरूद्धको खेलमा ११ रन खर्चिएर दुई विकेट लिएका थिए । पहिलो क्वालिफायरमा सुदूरपश्चिमको एक विकेट ललितको नाममा रह्यो । गएको बिहीबार कर्णालीवरूद्धको खेलमा ललितले दुई विकेट लिएका थिए ।
एनपीएलको पहिलो संस्करणमा ललितले बलिङमार्फत देखाएको कौशलले विराटनगरका क्रिकेटप्रेमीलाई हर्षित तुल्याएको छ । ‘ललितले यसअघि पनि आफूलाई बारम्बार प्रमाणित गरिसकेका हुन्’, पूर्व क्रिकेटर रोशन बुढाथोकीले भने ‘एनपीएलले उनको आत्मविश्वास झनै बढाएको छ । सर्वोत्कृष्ट बलर बनेर उनले आफूलाई फेरि प्रमाणित गरेका छन् । हामी ज्यादै खुसी छौं ।’
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved