Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

हुलाकी राजमार्गको कटहरी खण्ड

६ वर्षदेखि अधुरो सडक, दुर्घटनाको जोखिम

२१ कार्तिक २०८२, शुक्रवार

अजय शाह

हुलाकी राजमार्ग  नेपालको एक ऐतिहासिक र महत्वाकांक्षी परियोजना हो, जसले तराईका अधिकांश जिल्लाहरूलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने उद्देश्य राखेको छ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ जसमध्ये कटहरी खण्डको करिब ६ किलोमिटर पछिल्लो ६ वर्षदेखि अझै पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन ।

उक्त खण्डको ठेक्का सम्झौता पहिलोपटक २०७६ कार्तिक २४ गते गरिएको थियो, पटक–पटक सम्झौताको म्याद थपिए तापनि समयमा कार्य सम्पन्न गर्न नसकेको देखिन्छ ।

सडक निर्माणभन्दा अगावै सम्पन्न गरिसक्नुपर्ने कामहरू जस्तै बिजुली पोल सार्ने, खानेपानी पाइप व्यवस्थापन, सडक छेउको नाली निर्माण, जस्ता पूर्वाधारका कामहरु अझै पनि पूरा नभइसकेको हुँदा हालसम्म करिब २० प्रतिशत भन्दा तलमात्र काम सम्पन्न भएको पाइन्छ ।

निर्माण कार्य ढिलो हुनुमा सरकारी ढिलासुस्ती, योजनाको कमजोरी, बजेटको अनियमितता, र ठेकदारहरूको जिम्मेवारीप्रतिको बेवास्ता मुख्य कारण हुन् । स्थानीयहरुद्वारा पटक–पटक गरिएको आन्दोलन र सरोकारवालाहरुसँग गरिएको अनेकौं सहमति र सम्झौताहरु आजसम्म कार्यान्वयन भएको छैन। यसले तीनै तहका नेता र जनता बीचको विश्वासमा समेत असर पारेको छ ।

अल्पकालीन र दीर्घकालीन अप्ठ्यारा र समस्याहरू केयौं उत्पन्न भएका छन् जसलाई यहांका जनता तथा दैनिक यही बाटो हुंदै आवतजावत गर्नेहरु भन्दा बढी कसैले महसुस गर्न सक्दैन र फलस्वरुप स्थानीय जनतामा असन्तोष र निराशा बढ्दै गएको छ ।

पहिलो समस्याः दुर्घटनाको उच्च जोखिम

अव्यवस्थित सडकका कारण सवारीसाधन असन्तुलित भएर पल्टने, मोटरसाइकल चिप्लिने, पैदलयात्री ठक्कर खाने जस्ता संख्यौं दुर्घटनाहरु हालसम्म भइसकेका, कैयौंले त ज्यानसम्म गुमाउनु परेको र आजभोलि त्यस्ता घटनाहरु सामान्यजस्तै बनेका छन्। विशेषगरी वर्षायाममा सडकमा पानी जम्ने र हिलो हुने भएकाले दुर्घटनाको जोखिम झन् बढ्छ।

दोस्रो समस्या :  यातायात र आवागमनमा कठिनाइ

राजमार्गको सडक अधुरो भएकाले वर्षायाममा हिलो, धुलो र पानीका खाल्डा–खाल्डीले सवारी चलाउन निकै समस्या हुन्छ। यात्रुहरूले लामो दूरीको सस्तो र छिटो यातायात सुविधाबाट वञ्चित हुनुपरेको छ।

तेस्रो समस्याः आर्थिक गतिविधिमा अवरोध

सडक राम्रो नभएकाले गाउँ–सहरबीचको सामान ढुवानी महँगो र ढिलो हुन्छ। कृषकहरूले आफ्ना उत्पादन बजारमा लैजान गाह्रो हुने, व्यापारीहरूले पनि व्यापार विस्तार गर्न नसक्ने समस्या भोगिरहेका छन्।

चौंथो समस्याः सेवा र सुविधामा पहुँच नहुने

स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवासम्म पुग्न कठिनाइ हुने भएकाले ग्रामीण बासिन्दा अझै पनि मूलधारको विकासबाट टाढा रहेका छन्। आपतकालीन अवस्थामा एम्बुलेन्स वा उद्धार गाडी पुग्न पनि ढिलो हुन्छ।

पाँचौं समस्याः वातावरणीय र मौसमीय असर

सडक अधुरो रहँदा धुलो र हिलोले आसपासका बस्तीमा स्वास्थ्य समस्या बढाएको छ। सडक चौडा गर्ने क्रममा काटिएका रुख, भत्काइएका संरचना र बिग्रिएको जलनिकास प्रणालीले वातावरणीय असन्तुलन पनि ल्याएको छ।

यसका बावजुद अप्रत्यक्ष रुपमा अनेकन समस्याहरु श्रृजना भएको पाइन्छ। सडक नबन्दा यात्रुहरुलाई आवतजावतका लागि बढी इन्धन खर्चिनु पर्ने, सवारीसाधनको मर्मत सम्भारमा अनावश्यक रुपमा खर्चको आर्थिक भार बढाउने, निर्माण कार्यमा ढिलासुस्ती गर्दै सम्झौता नवीकरणको नाममा ठेक्का कम्पनीहरुद्वारा परियोजनाको लागत बढाउने जस्ता परिणामहरु सामना भएको छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने  हुलाकी राजमार्ग नेपालको सामाजिक–आर्थिक विकासको मेरुदण्ड बन्न सक्छ, तर यसको निर्माण ढिलाइले जनजीवनमा असहजता ल्याउनुका साथै मानवीय विषयलाई भरपूर वेवास्ता गरेको पाइन्छ। सरकार, ठेकेदार र सरोकारवालाहरूले सहकार्य गरेर छिटो र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्नुपर्ने अत्यावश्यक आवश्यक्ता देखिन्छ ।

(शाह पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय (पुस्याट) का सहप्राध्यापक हुन् ।)

View : 1290

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved