Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

करिम अन्सारीः जसको बसले बोक्छ हजारौं मलामी

दिपक खड्का
२६ चैत २०८०, सोमवार

Advertisement

विराटनगर । विराटनगरका करिम अन्सारीको नाम झट्ट कतै सुने देखेजस्तो लाग्न सक्छ । कुनै समय यातायात क्षेत्रका एक सामन्य मजदुरको रुपमा रहेका करिम तिनै व्यक्ति हुन् जसले विराटनगरमा डेढ वर्षदेखि निःशुल्क मलामी बस सञ्चालनमा ल्याएका छन् ।

उनले सुरु गरेको सेवाका कारण घाटसम्म मलामी जान बसको व्यवस्था गर्न नसक्नेका लागि निकै राहत भएको छ । १६ महिनाको अवधिमा उनको बसले साढे तीन सय शवको मलामी बोकिसकेको छ । 

यो सेवा उनको निःशुल्क सेवा हो । यद्यपि सक्नेले दिने स्वेच्छिक सहयोग भने उनले स्वीकारेका छन् । 

‘खासमा पैसा नहुने गरिबका लागि मैले निःशुल्क मलामी बस सेवा सुरु गरेको हुँ’ करिम भन्छन्, ‘तर, मलामी बस भनेर धेरैले मगाउन थालेका छन्, कतिले तेल खर्च हुन्छ भनेर पैसा दिन्छन् ।’  

करिम आफू जन्मेको स्थान विराटनगरमा फरक प्रकारको सामाजिक सेवामा लागेका छन् । अन्य ठाउँमा जात र धर्मका नाममा मानिस विभाजित भइरहँदा करिमले सुरु गरेको यो मलामी बस सेवा भने सबै धर्म समुदायकाले लिने गरेका छन् ।

उमेरले ३५ वर्षका युवा करिम अन्सारीका विराटनगरमा तीन वटा बस सञ्चालनमा छन् । तीमध्ये एउटा बस उनले मलामी सेवाका लागि छुट्टाएका छन् ।

खासगरी विराटनगर र आसपासका क्षेत्रका गरिब, मजदुर, विपन्न वर्गका कसैको मृत्यु भएमा उनलाई सम्झने गर्दछन् । बस प्रयोग गरेवापत कुनै सेवा शुल्क लिने नगरेको उनले बताए । इच्छाले कसैले दिइहाले लिने नत्र करकाप नगर्ने उनी बताउँछन्  । 

१६ महिना अगाडिबाट शुरु गरेको यो अभियानमा उनले हालसम्म ३ सय ३४ जनाको शव निःशुल्क बोकिसकेका छन् । साधारण लेखपढ गर्न मात्र जान्ने करिम २० वर्षअगाडि यातायात क्षेत्रमा सह–चालकको रुपमा प्रवेश गरेका थिए । 

त्यसबेला मृतकको लाशलाई परिवारले गरिबीका कारण घाटसम्म लैजान समस्या भएको उनले देखे । जातीय परम्पराअनुसार क्रियाकर्म गर्न समेत मुस्किल भएको देखेपछि त्यतिबेला नै उनमा सेवा गर्ने इच्छा पलाएको थियो ।

तर विविध कारणले गर्दा तत्कालीन समयमा सुरु गर्न नसकेको अभियान हाल सफल हुँदै गएको उनी बताउँछन् ।  

मुस्लिम धर्मका उनी मर्दा पर्दा भने जाती, भाषा, धर्म भन्दा टाढा रही सेवामा खटिन पुग्छन् । उनको बुझाइमा मानव सेवाभन्दा ठूलो धर्म अरु छैन । सेवा नै धर्म हो  । 

यस्तो सेवा गर्दा आफूलाई मनमा शान्ति मिल्ने उनी बताउँछन् । करिमको यस प्रकारको सेवाबाट दीनदुखीलाई राहत मिलेको स्थानीय कामेश्वर राम बताउँछन् । उनले योबाहेक पनि चैत २७ गतेदेखि सुनसरीको चतरामा हुने १२ वर्षे कुम्भमेलामा जान आर्थिक रुपले असमर्थ भक्तजनलाई हप्ताको १ दिन शनिबार निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् ।

View : 167

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved