विराटनगर । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे सामाजिक सञ्जालमा 'फोकटको सुझाव' दिएको भोलिपल्टै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलालाई रसुवामै बाढी प्रभावित क्षेत्रमा रहेका शव व्यवस्थापन गर्ने जिम्मेवारीमा सरुवा गरिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको काममा खटाएको हो । उनको तलब तथा भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ ।
रोचक संयोग के छ भने, रसुवा खटाउने निर्णय हुनुअघि निरौलाले फेसबुकमा विपद्का बेला शव व्यवस्थापनसम्बन्धी आफ्नै अनुभव र सुझाव सार्वजनिक गरेका थिए । उनले कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा देखिएका चुनौतीबारे उल्लेख गर्दै वर्तमान विपद्मा पनि मृतकको धर्म, संस्कार, परम्परा र परिवारको भावनालाई ध्यान दिनुपर्ने बताएका थिए ।
उनले फेसबुक स्टाटसको सुरुमै चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि आफूलाई ‘फोकटको सल्लाह दिन मन लागेको’ भन्दै फेसबुकमा लेखेका थिए । कोभिडकालमा मृत्यु भएकाको अन्तिम संस्कारका क्रममा परिवार र समुदायको भावना, धार्मिक संस्कार तथा स्थानीय अवस्थालाई ध्यान दिनुपर्ने आफ्नो अनुभव उनले सुनाएका थिए ।
महामारीका बेला मृतकको अन्तिम संस्कारका लागि एउटै विधि अपनाउँदा कतिपय ठाउँमा असहज अवस्था सिर्जना भएको र अहिलेको विपद्मा पनि सम्भव भएसम्म मृतक वा परिवारको धर्म, परम्परा रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्ने वातावरण बनाउनुपर्ने निरौलाको सुझाव थियो ।
उनले बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले आफ्ना प्रियजनको सास वा शव खोज्दै रसुवादेखि गण्डक ब्यारेजसम्म पुग्न सक्ने भन्दै शव व्यवस्थापनमा संवेदनशीलता अपनाउन आग्रह गरेका थिए । आफन्तको भावनामा चोट पुग्ने गरी निर्णय नगर्न पनि उनले सरकार तथा सम्बन्धित निकायलाई सुझाएका थिए ।
सचिव निरौलाले अहिले उक्त फेसबुक स्टाटस भने हटाइसकेका छन् ।
View : 461
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved