उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव
विराटनगर । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले लोकतन्त्रलाई बलियो बनाउन मुलुकका संस्थाहरू बलियो बनाउनु पर्ने बताएकी छन् । त्यसका लागि संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षण अपरिहार्य रहेको बताएकी छन् ।
उद्घोष दैनिकको २२ औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै भुसालले राजनीतिक दल र सञ्चारमाध्यमबीच लोकतन्त्रको संरक्षणका लागि सहकार्य आवश्यक रहेको बताइन् ।
‘जुन देशमा संसद् कमजोर हुन्छ, न्यायपालिका कमजोर हुन्छ र प्रेस कमजोर हुन्छ, त्यो देशको लोकतन्त्र टिक्न सक्दैन,’ उनले भनिन् ।
पछिल्लो राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले जनताले स्थिर सरकारलाई दिएको मत सुशासन, समृद्धि र सुरक्षाको अपेक्षासहित आएको बताइन् ।
‘जनताले दिएको ठूलो मत केवल सरकार बनाउनका लागि होइन । त्यो मत सुशासन, भ्रष्टाचारमुक्त समाज, आर्थिक समृद्धि र सुरक्षाको अपेक्षासहित आएको हो,’ उनले भनिन् ‘तर पछिल्लो समय निजी क्षेत्रमाथि अनावश्यक दबाब दिने, प्रेसमाथिको भयको वातावरण लोकतान्त्रिक अभ्यासका लागि राम्रो संकेत होइन ।’
उनले राजनीतिक दलहरू मिलेर संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्नुपर्ने पनि उल्लेख गरिन् ।
‘भोलिको पुस्ताले फेरि सडकमा आएर लोकतन्त्र बचाउनुपर्ने अवस्था आउनु हुँदैन,’ उनको भनाइ थियो ।
View : 43
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved