अभिषेक गिरी प्रकरण :
विराटनगर । विराटनगरका अभिषेक गिरीलाई काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि ‘तोकिएको रकम बुझाउन नसकेपछि’ उनी डिल्लीबजार कारागार पठाइएका छन् ।
प्रहरी स्रोतका अनुसार यो मुद्दामा धरौटीमा छुट्ने अवस्था भए पनि अर्को मुद्दामा प्रहरीले लगत्तै पक्राउ गर्ने तयारी गरेको जानकारी पाएपछि गिरी स्वयं कारागार जान सहमत भएका हुन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार उनी काठमाडौंमा हुँदाकै बखत मोरङ प्रहरीमा उनीविरुद्ध अर्को मुद्दा तयार छ । मुद्दाबारे उनले विस्तृत केही खुलाएनन् ।
विराटनगर–८ मधुमाराका ४८ वर्षीय गिरीमाथि निर्माण व्यवसायी सुवास श्रेष्ठले ठेक्का मिलाइदिने भन्दै विभिन्न प्रभाव प्रयोग गर्ने आश्वासन दिएर ठूलो रकम असुलेको आरोप लगाउँदै उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले असार २३ मा विराटनगरबाट गिरीलाई पक्राउ गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको दाबी गर्दै पीडितलाई क्षतिपूर्ति भराउने गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत साउन १४ गते गिरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
जतिबेला उनी धरौटीमा छुट्ने तयारीमा थिए, उनीविरुद्ध मोरङ प्रहरीले अर्को मुद्दा पनि तयार पारेर फेरि पक्राउ गर्ने तयारी गरेको थियो ।
यो जानकारी पाएका गिरीले धरौटी बुझाउनुको साटो डिल्लीबजार कारगार जाने विकल्प रोजेका थिए ।
प्रहरी अनुसन्धानअनुसार श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै गिरीले रकम लिएको आरोप छ ।
प्रहरी स्रोतले बताएअनुसार यो मुद्दामा धरौटीमा छुट्ने सम्भावना भए पनि मोरङमा जारी रहेको अर्को अनुसन्धानसँग सम्बन्धित मुद्दामा प्रहरीले लगत्तै पक्राउ गर्ने तयारी गरेको जानकारी गिरीले पाएपछि उनले धरौटी नबुझाई कारागार जाने निर्णय लिएका हुन् ।
अहिले पनि सीआईबीले गिरीको सम्पत्ति र कारोबारको विस्तृत अनुसन्धान गरिरहेको छ भने पीडित पक्षले क्षतिपूर्ति भराउन माग गर्दै आएका छन् ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved