Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

गौतम ऋषिको गायत्री साधना

डिल्लीराम अधिकारी
१८ भदौ २०८३, बिहिवार

Advertisement

एकपटक इन्द्रले लगातार १२ वर्षसम्म पृथ्वीमा वर्षा गराएनन् ।

यो अनावृष्टिका कारण पृथ्वीमा घोर दुर्भिक्ष पर्यो । सबै प्राणीहरू क्षुधा–तृष्णाबाट पीडित भएर एक अर्कालाई खान उद्यत भए ।

यस स्थितिमा केही ब्राह्मणहरूले यो विचार गरे, ‘गौतम ऋषि तपस्याका धनी छन् ।’

यस्तो विपत्तिको बेलामा हाम्रो सबैको दुःख यिनैले निवारण गर्न सक्दछन् । यी ऋषिले अहिले गायत्रीको उपासना गरिरहेका छन् ।

अतः हामी सबै यिनकै शरणमा जानु पर्दछ । 


यस्तो विचार गरेर अग्निहोमका सामग्री, आफ्ना कुटुम्ब, गाईहरू तथा दासदासीहरूलाई सँगै लिएर गौतम ऋषिको आश्रममा गए ।

यो विचार लिएर अनेक दिशाबाट एकत्रित धेरै ब्राह्मणहरू पनि त्यहाँ आए ।

ब्राह्मणहरूको यो विशाल समूह चारैतिरबाट आएको देखि गौतम ऋषिले उनीहरू सबैलाई प्रणाम गरेर आसन आदि दिएर अनेक प्रकारले उनीहरूको पूजा गरे ।

‘सबै ब्राह्मणहरू, तपाईंहरू मेरो आश्रममा किन आउनुभयो ?’

तब सम्पूर्ण ब्राह्मणहरूले आफ्नो दुःख ऋषिको सामुन्ने राखे । सबैको एकै प्रकारको दुःखदेखि सबैलाई अभय प्रदान गरेर, हे ब्राह्मण हो !

यो आश्रम अब तपाईंहरूकै हो । म तपाईंहरूको दास हुँ ।

म जीवित रहेसम्म तपाईंहरूले चिन्ता गर्नु पर्दैन भनी श्रद्धा र प्रेमपूर्वक ‘तपाईंहरू सबै यहाँ बस्नुहोला’ भनी म अव सन्ध्या आरती र जप गर्न जान्छु  तपाईंहरू यहाँ विनम्रपूर्वक बस्नुहोला भनी गौतम ऋषिले विनम्र भएर एक भक्ति भएर बेदमाता गायत्रीको स्तुति गरे ।

 गौतम ऋषिको भक्तिदेखि भगवती गायत्रीदेवी उनीसामु प्रकट भइन् ।


ऋषि गौतम अघि प्रसन्न भएर माता गायत्रीले एउटा यस्तो मनचिन्ते भाँडो दिइन्, जसको आश्रममा आएका सम्पूर्ण अतिथिहरूको भरण–पोषणको व्यवस्था होस् साथै गौतम ऋषिलाई भनिन् कि ’तिमीलाई जुन जुन वस्तुको इच्छा हुन्छ, त्यो त्यो वस्तु यो भाँडोले दिनेछ ।’

यति भनि श्रेष्ठ कला धारण गरेकी गायत्री देवी अन्तर्ध्यान भइन् । 


महात्मा गौतमले जुन जुन वस्तु जति परिमाणमा मागे पनि त्यो भाँडोले पु-याइदिन्थ्यो ।

 

वस्त्र, अन्न, द्रव्य आदि जे मागे पनि त्यो प्रचुरमात्रामा दिन्थ्यो । महात्मा गौतमले जे जुन वस्तु जति रूपमा मागे पनि सो सब प्राप्त हुन्थ्यो ।

त्यसबाट आश्रममा आगन्तुकहरु सेवा गर्दथे ।

उनले त्यहाँ आएका सबै ब्राह्मणहरूलाई बोलाएर उनीहरूको इच्छा अनुसार जसले जे माग्छ, उनीहरूलाई अन्न, धन, धान्यादि, वस्त्र, अलंकार, सुन, चाँदी, गाई आदि कुरा दिए ।

त्यसपछि ती सबै जना मिलेर गौतमको आज्ञानुसार यज्ञ अनुष्ठान सुरु गरे ।

गौतम ऋषिको आश्रममा नित्य उत्सव मनाउन थालियो । त्यो महायज्ञ देखेर देवी देवता प्रसन्न भएर गौतम ऋषिको भूरि–भूरि प्रशंसा गरेर तृप्त भए ।


यस प्रकार ऋषि गौतम ऋषिको आश्रममा दुर्भिक्षको १२ वर्षसम्म ती मुनिहरूको रक्षा पोषण व्यवस्था गर्दै गए ।

उनलाई यसको लेस मात्र पनि घमण्ड भएन । उनले आफ्ना आश्रमको सबै विशेषता गायत्रीकै उपासना लगाए ।

’भगवती जगदम्बाको उपासना सबै ब्राह्मण, मुनि र मनुष्यले गर्नुपर्दछ ।’ 


एकचोटि गौतमको आश्रममा देवर्षि नारद आए । नारदले ‘विना बजाएर भगवतीको उत्तम गान गायीरहेका थिए ।’

गौतमले नारदको उचित स्वागत सत्कार गरे ।

हे गौतम म इन्द्रलोक गएको थिएँ । उहाँले तपाईले यी व्राह्मणहरुको भरणपोषण गरेको देखेर खुसी हुँदै तपाईंलाई धन्यवाद दिनु भएको छ ।

यति भनेर नारदले पुनः गायत्री देवीको स्तुति गर्दै नारद त्यहाँबाट बिदा भए । 

 


त्यहाँ जति पनि वाह्मण थिए गौतमद्वारा सबैको भरण–पोषण राम्रै भएको थियो ।

ती मध्ये केही कृतघ्न ब्राह्मणहरू गौतम ऋषिको उत्कर्ष देखेर ईष्र्याले जले । ती कृतघ्न ब्राह्मणहरूले मिलेर एउटा मायाको गाई बनाएर उनको आश्रममा छोडिदिए ।

त्यतीखेर गौतम ऋषि ध्यानमा थिए ।

गौतम ऋषिले गाई मारे भनी ती कृतध्न ब्राह्मणहरुले हल्ला फिजाए ।  गौतम ऋषिले आश्चर्य मान्दै आफ्नो ध्यान दृष्टिले हेर्दा थाहा पाए कि यो त उनकै द्वेष राख्ने ब्राह्मणहरूको काम रहेछ भनेर ।

उनले ती ब्राह्मणहरूलाई श्राप दिँदै भने, ‘अरे ! पापी ब्राह्मणहरू, आजदेखि तिमीहरू वेदपाठ गर्न, तिमीहरूलाई वेदमाता गायत्रीको आराधना गर्न कुनै अधिकार नहोस् ।

गाईदान तथा पितृहरूको श्राद्धबाट विमुख रहन परोस् । तिमीहरू पिता, माता, पुत्र भाइ तथा कन्या पत्नी विक्री गर्ने समान हुन् । तिमीहरू नरकमा अनन्त कालसम्म निवास गर्नेछौ ।’ 


श्राप पाएपछि सम्पूर्ण ब्राह्मणहरू भयभीत भएर गौतम ऋषिको अगाडि आएर आफ्नो गल्तीको लागि क्षमा याचना गर्दै दण्डवत् प्रणाम गर्न लागे ।

तब दयालु गौतम ऋषिले भने, ’हे ब्राह्मणहरू हो !

जबसम्म श्रीकृष्णको अवतार यस धरातलमा हुन्न, तबसम्म तिमीहरूले कुम्भीपाक नरकमा अवस्य बस्नुपर्ने हुन्छ ।

किनभने मेरो वचन मिथ्या जाँदैन ।

यस पछि तिमीहरूले भूमण्डलमा कलियुग आएपछि जन्म लिनेछौ । भगवती गायत्री देवीको चरण कमलको सतत उपासना गर, त्यसैबाट तिमीहरूको कल्याण हुनेछ ।’


(देवी भागवतबाट)
 

View : 43

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved