Biratnagar, Morang, Nepal
२८ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

परिवर्तनको अभियान जारी राख्ने डा. सुनिल शर्माको प्रतिबद्धता

उद्‌घोष संवाददाता
२७ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका डा. सुनिलकुमार शर्माले निर्वाचनमा आफूलाई विश्वास गरी मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन् ।

उनले पार्टीभित्र सकारात्मक परिवर्तन र संगठन सुदृढीकरणको अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै शर्माले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिको आकांक्षा मात्र नभई कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्प भएको बताएका छन् ।

उनले देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूले दिएको मत, माया र विश्वासलाई अमूल्य सम्पत्तिका रूपमा लिएको उल्लेख गरेका छन् । निर्वाचन अभियानमा अहोरात्र खटिएका अग्रज, साथी, सहयात्री तथा शुभेच्छुकहरूप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन् ।

निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको उल्लेख गर्दै शर्माले पदमा रहेर वा नरहेर पनि पार्टी र आम नागरिकको सेवामा समर्पित रहने बताएका छन् ।

महान् नेता बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ ।

आफूसँग उभिएका साथीहरूको प्रत्येक मत र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताउँदै शर्माले प्रतिस्पर्धामा सहभागी सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गरेर कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापित गर्न प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताको सेवा र देशको समुन्नतिका लागि निरन्तर अघि बढिरहने उल्लेख  गरेका छन् ।

View : 22

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved