काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।
यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो ।
नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताए ।
उनले एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुङ्गाका रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताका लागि शुभकामना पनि व्यक्त गरे ।
सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् । रासस
View : 343
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved