Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

अमेरिका भ्रमण डायरी

ओक्लाहोमादेखि वासिंगटन डीसीसम्म

गणेश बज्राचार्य
७ साउन २०८२, बुधवार

कोभिड–१९ का कारण २०७४ पछिको अमेरिका यात्रा रोकिए पनि, २०८१ मङ्सिर ८ मा भिसा स्वीकृत भएपछि दोस्रोपटकको यो सपना पूरा भयो । जेठ २ गते श्रीमती जमुना र बुहारी कञ्चनसहित हामी विराटनगरबाट काठमाडौं उड्यौं । खराब मौसमले एक दिनको ढिलाइपछि जेठ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज हुँदै दोहाका लागि प्रस्थान गर्‍यौं ।

लामो उडान र ओक्लाहोमा आगमन
५.५० घण्टाको उडानपछि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यौं । चार घण्टाको ट्रान्जिटमा बुहारी कञ्चनले विमानस्थलको भव्यता देखाइन् । जेठ ५ को राति १.२० बजे दोहाबाट अमेरिकाको डालासका लागि १५ घण्टाको लामो उडान सुरु भयो । सुरुवाती मौसमको असहजता चिर्दै हामी जेठ ६ गते बिहान ९.५० बजे टेक्सासको डालास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यौं ।

डालासमा चार घण्टा ट्रान्जिटपछि सोही दिन दिउँसो १.२९ बजे अमेरिकी वायुसेवाबाट २५ मिनेटमा ओक्लाहोमाको विल रोजर्स विमानस्थल पुग्यौं । छोरा प्रवीण हाम्रो आगमनको प्रतीक्षामा थिए । उनको न्यानो स्वागतपछि हामी उनकै गाडीमा घरतर्फ लाग्यौं ।

भर्जिनियाको सौन्दर्य र ऐतिहासिकता
ओक्लाहोमा पुगेको केही दिन जेटल्यागका कारण थकित भए पनि छोरा प्रवीणको डियरब्रुकस्थित नयाँ घरमा आराम गर्‍यौं । ब्लुग्रीन भ्याकेसनको समय सदुपयोग गर्न अमेरिकाको राजधानी वासिङ्टन डीसी जाने योजना बन्यो । जेठ १४ गते बिहान ५ बजे छोराको टोयोटा टुन्ड्रा गाडीमा सपरिवार ओक्लाहोमाको विल रोजर्स विमानस्थलतर्फ लाग्यौं । श्रीमतीलाई हिंड्न सहज होस् भनेर ह्विलचेयरको व्यवस्था गरिएको थियो ।

ओक्लाहोमाबाट ३.३० घण्टाको उडानपछि न्यूयोर्कको ला गार्डिया विमानस्थलमा उत्रेर अर्को जहाजबाट भर्जिनियाको नोरफोल्क विमानस्थल पुग्यौं । रिसोर्टमा जानुअघि बुहारी कञ्चन र नाति सफलले हार्पर रोडको आकाक्षा इन्डियन कुइसिन पु¥याए, जहाँ हामीले स्वादिलो खाजा खायौं । त्यसपछि प्याट्रिक हेनरी स्क्वायरको प्याट्रिक हेनरी स्क्वायर रिसोर्टको कोठा नं. १२१७ मा पुग्यौं, जुन पूर्ण सुविधायुक्त थियो ।

जेठ १५ गते हामीले भर्जिनिया राज्यको रिचमण्ड डाउनटाउन, क्यानल रिभरवाक, मेमण्ड पार्क र भर्जिनिया फाइन आट्र्स संग्रहालयको भ्रमण गर्‍यौं । भर्जिनिया, अमेरिकाको दक्षिणपूर्वमा आन्ध्र महासागरदेखि एप्लाचियन पर्वतकसम्म फैलिएको, प्रकृति, ऐतिहासिकता र आधुनिकताको सुन्दर सङ्गम हो । मेमण्ड पार्कको इटालियन र जापानी पार्क, कलात्मक शिला र राजहंसको बथानले हामीलाई मोहित बनायो ।

कला र बौद्ध दर्शनको झलक
भर्जिनिया फाइन आट्र्स म्युजियममा प्रवेश गर्दा स्पेनिस मूर्तिकार जुम प्लेन्साको विशाल शिरको मूर्तिले हामीलाई आकर्षित ग¥यो । रोमन देवता नेप्च्युनका मूर्तिहरूका साथै त्यहाँ ५,००० भन्दा बढी कलाकृतिहरू सङ्ग्रहित रहेछन् । १८औं शताब्दीका मूर्ति, चित्रकला, धर्मसंस्कृति र महान् व्यक्तिहरूको कलाकृतिले हामीलाई प्रभावित पार्‍ यो ।

बौद्ध धर्मावलम्बी भएकाले संग्रहालयको एउटा कक्षमा राखिएका जापानी कामाकुरा कालका समन्तभद्र बोधिसत्व, मञ्जुश्री बोधिसत्व र अवलोकितेश्वरका मूर्तिहरूले हाम्रो विशेष ध्यानाकर्षण गर्‍यो । जापानमा कोरियाली भिक्षुहरूमार्फत छैटौं शताब्दीमा बुद्ध धर्मको प्रचार भएको र पछि चीनमा विस्तार भएको जानकारी पनि त्यहाँ राखिएको थियो । यसले अमेरिकामा बुद्ध धर्मको लोकप्रियता स्पष्ट पा¥यो । ह्विलचेयरको व्यवस्थाले गर्दा श्रीमतीजीले पनि सहजै सबै अवलोकन गर्न सफल भइन् ।

राजधानी वासिंगटन डीसीको भव्यता
जेठ १६ गते बिहान १० बजे हामी अमेरिकाको राजधानी वासिङ्टन डीसीतर्फ प्रस्थान गर्‍यौं । फराकिला सडकका दुवैतर्फ हरिया रुखहरूले सहरलाई मनमोहक बनाएका थिए । भर्जिनियाबाट वासिङ्टन २.३० घण्टाको यात्रा भए पनि, शुक्रबारको जामले एक घण्टा ढिलो भयो । मेरिल्याण्डबाट दुलही कमला र नातिनी बबिताको निमन्त्रणा आएकाले हामीले सो रात मेरिल्याण्डमा बस्ने योजना बनायौँ र ढुक्कले वासिङ्टनका दर्शनीय स्थलहरू घुम्न थाल्यौं ।

हामीले वासिङ्टन डीसीका महत्वपूर्ण स्थानहरू जस्तै  अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस, अमेरिकी सरकारको केन्द्र क्यापिटल हिल, अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको ५५५ फिट अग्लो स्मारक र दोस्रो विश्वयुद्धका शहीदहरूको स्मृतिमा बनेको वार मेमोरियलको अवलोकन गर्‍यौं । यी सबै स्थानको ऐतिहासिक महत्व र भव्यताले हामीलाई मोहित बनायो ।

शीतल मौसममा सहर घुम्दाघुम्दै पानी पर्न थाल्यो । हामी सहर सरर घुम्दै पानीको विदाइसँगै मेरिल्याण्डस्थित दुलही कमला र नातिनी बबिताको घरतर्फ ४५ मिनेटको दूरी तय गरी लाग्यौं । मेरिल्याण्ड मेरिल्याण्ड पुग्दा साँझको ८ बजिसकेको थियो ।


 

View : 649

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved