Biratnagar, Morang, Nepal
१० असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सेन्ट्रल मलमा ‘योनो मार्ट’ सञ्चालन गर्ने चिनियाँ नागरिक पक्राउ

उद्‌घोष संवाददाता
९ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । सूचना प्रविधिसम्बन्धि काम गर्ने  कम्पनीमा वैदेशिक लगानी गर्ने अनुमतिका साथ नेपाल आएका एक चिनियाँ नागरिकले विराटनगरको सेन्ट्रल मलका ६ वटा सटर भाडामा लिएर व्यापार गरिरहेको पाइएपछि उनलाई पक्राउ गरिएको छ । 

जिङ्सियान सिए नाम गरेका चिनियाँ नागरिकले सटर भाडामा लिएर ‘योनो मार्ट’ संचालन गर्दै आएका थिए । उनले मार्टमा सामान खरिद गर्ने ग्राहकलाई बिल नदिएको घटना बाहिरिएपछि अनुगमनका लागि पुगेको सरकारी टोलीलाई अवरोध गरेका थिए । 

२०२६ जुलाई २२ मा बिजनेस भिसा लिएर नेपाल आएका सिएले भिसाको उद्देश्यविपरीत विराटनगरमा खुद्रा पसल संचालन गरेको र अनुगमनमा अवरोध गरेको आरोपमा बुधबार प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । 

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिजनेस भिसाको उद्देश्यअनुसार काम नगरी खुद्रा व्यापारमा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।

प्रहरीसहित जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त अनुगमन टोली मार्टमा पुग्दा चिनियाँ नागरिक सिएले अनुगमनमै अवरोध गरेको बताए ।

प्रहरीका अनुसार सेन्ट्रल मलको योनो मार्ट भने दोलखाको जिरीका धिरेन बिकेको नाममा दर्ता रहेको पाइएको छ । तर उक्त मार्ट भने चिनियाँ नागरिककै नेतृत्वमा उनको समूहले संचालन गर्दै आएको खुलेको हो ।

बिकेलाई चिनियाँ समूहले ‘डमी’ साझेदारका रूपमा प्रयोग गरेको प्रहरीको भनाई छ ।

अनुगमनका क्रममा ग्राहकलाई बिल नदिई बिल विजक छलेर व्यापार गरिरहेको पाइएपछि ‘योनो मार्ट’ मा सिलबन्दी गरिएको जनाइएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकले भने काठमाडौंमा सूचना प्रविधि कम्पनी दर्ता गरेर विराटनगरमा घरायसी सामग्रीको खुद्रा व्यापार गरिरहेको पाइएको प्रहरीको दाबी छ । तर, नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनअनुसार खुद्रा व्यापारमा विदेशीको प्रत्यक्ष लगानी स्वीकार्य छैन ।

प्रहरीका अनुसार उक्त समूहले २०८२ कात्तिक २३ गते ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ नामको कम्पनी स्थापना गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको पाइएको छ । 

कम्पनीले २४ वटा सफ्टवेयर उत्पादन गर्ने उल्लेख गरे पनि चीनबाट घरायसी सामान आयात गरी खुद्रा पसलहरू संचालन गरिरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले चिनियाँ नागरिक सिएलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको जनाएको छ ।

View : 51

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved