कोशी प्रदेश ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टिम एपिएफ विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ११७ रन बनाएको थियो । कोशीका लागि सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरी ४३ रन बनाए ।
त्यस्तै अंकित सुवेदी ३२ र श्रवण यादवमा १९ रनमा आउट भए । प्लेयर अफ द म्याच घोषित एपिएफका भुवन कार्कीसहित यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमदले समान २–२ विकेट लिएका थिए ।
११८ रनको जवाफी लक्ष्यका लागि मैदान उत्रिएको एपिएफले १८ दशमलव ५ बलमा ६ विकेटको क्षतिमा जित निकालेको हो । एपिएफको जितमा पुरन विकले सर्वाधिक ३६ रन जोडे । प्रनित थापा मगरले २० र अरूण ऐरीले १५ रन बनाए ।
कोशीका फिर्दुस अन्सारीले ४ ओभरमा १६ रन दिंदै तीन विकेट लिएका थिए । त्यस्तै दिपेश कँडेलले एक विकेट लिए ।
एपिएफसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिदै छ । समूह ‘ए’ मा ३ खेल सकिंदा कर्णालीविरूद्धको उद्घाटन खेलमा पहिलो जित दर्ता गरेको कोशीले त्यसपछिका दुई खेलमा लगातार हार व्यहोरेको छ । कोशी अहिले दुई अंकका साथ तेस्रो स्थानमा रहेको छ । कोशीले लिगको अन्तिम खेल मंगलबार नेपाल आर्मीसँग खेल्दैछ ।
मंगलबारको पहिलो खेल कोशी र आर्मी तथा दोस्रो खेल वागमती र गण्डकीबीच हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहमद साद कुरैसीले जानकारी दिए ।
पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई दुई विकेटले पराजित गरेको थियो । जितसँगै सुदूरपश्चिम समूह ‘बी’ मा ४ खेलमा ३ मा जित दर्ता गर्दै ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
बागमती भने पछिल्ला दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ । बागमतीले अबका बाँकी दुई खेल जितेपनि खेलमा फर्किने सम्भावना टरेको जनाइएको छ ।
सोमबारको जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा नजिक पुगेको छ ।
अबको दुई खेलमा समूह बी कै पुलिसले लुम्बिनी र बागमतीलाई भारी अन्तरले जिते मात्रै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिने सम्भावना रहन्छ ।
टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । वागमतीका लागि शुभ कंसाकारले ३४ बलमा तीन छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ४१ रन जोडे । रविन जोशीले ३१ रनको योगदान दिए ।
प्लेयर अफ द म्याच घोषित सुदूरपश्चिमका नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए । नरेन साउदले पनि २ विकेट लिएका थिए ।
११८ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १९ दशमलव दुई बलमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्याएको थियो । सुदूरको जितमा नरेन भट्टले ३० रनको योगदान गरे । कसिलो बलिङमा उत्रिएको बागमतीले दिपक वोहोरालाई २२ रन, किरण ठगुन्नालाई २१ रन र नारायण जोशीलाई १६ रनमा पेभिलियन फर्काएको थियो ।
बागमतीका गौतम केसीले तीन विकेट लिएर दवाब सिर्जना गरेपनि जित उसको पक्षमा हुन सकेन । विपिन आचार्य र इशान पाण्डेले पनि सुदूरको २–२ विकेट लिएका थिए ।
View : 254
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved