एआई तस्वीर ।
विराटनगर । जब रोशन बिक चिप्स खाँदै हिमालय टाकिजबाट फिल्म हेरेर शनिबार आफ्नो घर बरगाछी जाने हेतुले ट्राफिक चोक हुँदै हिंडे, उनको चिप्स पञ्चमुखी हनुमान मन्दिरअगाडि अँएपछि सकियो । त्यसपछि उनले सो चिप्सको प्याकेट फ्याँक्न खोजे, त्यहाँ कुनै डस्टबिन (फोहोरदानी) थिएन ।
अगाडि फोहोरदानी होला नि ! भन्दै उनी हिंडिरहे । तर, उनी विराटनगर महानगरपालिकाको कार्यालय अगाडि अँइपुग्दासमेत फोहोरदानी कतै भेटेनन् । त्यसपछि उनले त्यो चिप्सको प्याकेट गोजीमा राखे । तर, त्यहीं फ्याँक्न सकेनन् । अरुले बाटोमा फोहोर त फालिरहेका थिए । भोला, खैनी, अँइसक्रिम र चिप्सकै प्याकेटसमेतका फोहोर यत्रतत्र थियो ।
२१ वर्षीय रोशनले सो चिप्सको प्याकेट कुनै थुप्रोमा फ्याँकेर अर्को फोहोरको चुली बनाउने कसरत गरेनन् । उनमा नागरिक सचेतना जिउँदो थियो । अन्ततः फोहोर आफ्नो गोजीमा राख्न बाध्य भए । फोहोरदानी उनकै गोजी भैदियो ।
यो घटना देशका छवटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको हो र भोग्ने समेत विराटनगरकै वासिन्दा हुन् । यो घटना ठूलो भने होइन । सुन्दा सामँन्य लाग्छ । आखिर एउटा चिप्सको प्याकेट फुटपाथमै फ्याँक्दा के हुन्थ्यो र ?
तर, जब उनी जस्ता दिनहुँ सो बाटो हुँदै हजारौंको संख्यामा पैदलयात्री हिंड्छन्, तब कोहीमा भने नागरिक सचेतनाको कमी हुन्छ । कत्तिले त आफ्नो घरलाई ‘डम्पिङ साइट’ बनाउँछन् र आफ्नो गोजीलाई फोहोरदानी । तर, सबैले त्यस्तो गर्छन् र ? गर्ने भए किन ठाउँठाउँमा फोहोरको थुप्रो चुलिएको हुन्थ्यो ?
जब नागरिक महानगरप्रति वफादार र महानगरको सरसफाइलाई प्राथमिकता दिएर समस्या समाधान गर्न खोज्छ, महानगरपालिका चाहिं वफादार र नगरवासीको हितकेन्द्रित हुनु पर्ने होइन र ?
अहिले विराटनगरका कुनै सडककिनार (फुटपाथ) मा डस्टबिन छैनन् । त्यस्तै महानगरको भीडभाड हुने ठाउँमा समेत डस्टबिनको अभाव देखिएको छ । मुख्य चोकमा समेत डस्टबिनको अभाव छ ।
विराटनगर महानगरपालिकाले पहिला डस्टबिनको व्यवस्था गरेको थियो । तर, नगरवासीको असहयोगले त्यसको सदुपयोग हुन सकेन ।
विराटनगर महानगरपालिकाका फोहोरमैला तथा सरसफाइ शाखाका प्रमुख पुनमकुमार दाहालले स्थानीय वासिन्दाको असभ्य कर्तुतले डस्टबिनको व्यवस्थापनमा समस्या भएको बताए ।
दाहालले दोकानमा किनेको सामग्रीको प्याकेट वा अन्य त्यसबाट निस्किएको फोहोर दोकानमै फाल्नु पर्ने कुरा बताए ।
उनले भने, ‘हामीले भनेका छौं, प्रत्येक पसलले डस्टबिन राख्नु पर्छ, पसलमा खाएर पसलमै फोहोर फ्याँक्ने, बाहिर फाल्ने होइन ।’ उनका निर्देशनले सबै फोहोरको संवोधन गर्न सक्ने अवस्था भने देखिंदैन ।
प्रमुख दाहालले विगतका दिनमा महङ्गा महङ्गा डस्टबिन राखिसकेको समेत दावी गरे । तर, सो अभ्यासले उल्टै आँसु झार्ने स्थिति बनेको बताए । उनले भने, ‘ड्रम राख्दा जाडो मौसममा त्यही डस्टबिनको प्रयोग गरेर आगो ताप्ने काम गरे । बिहान हेर्दा रुन मन लाग्यो ।’
जो सदस्य छैनन्, उनीहरुले नै जथाभावी फोहोर फ्याँक्ने भएको हुँदा महानगर सफा हुनबाट वञ्चित भएको प्रमुख दाहालले बताए ।
विराटनगर महानगरपालिकालाई सफा राख्ने उद्देश्यले रोटरी डाउनटाउन लगायतका दातृ निकायहरुले डस्टबिनसमेत हस्तान्तरण गरिसकेका छन् । यद्यपि आम नागरिकको लापरवाहीले महानगर नै अहिले ननिको साबित भएको देखिएको छ ।
त्यसबखत डस्टबिन रित्तो र फोहोरको चुली भने जताततै हुने गरेको र प्लास्टिक टिपेर हिंड्नेहरुले समेत सुटुक्क डस्टबिन लिएर हिंड्ने गरेको स्थानीय बताउँछन् ।
कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री भीम पराजुली नगरप्रमुख हुँदासमेत महानगरले झण्डै ४ लाख बराबरको लागतमा डस्टबिन राखेको थियो । महानगरले पटक–पटक प्रयास गर्दासमेत फोहोर व्यवस्थापनमा चुनौती देखिएको हो ।
प्रमुख दाहालले आगामी दिनमा फोहोर व्यवस्थापनको समितिका सदस्यहरू जब ३५ हजार पुग्छन् तब मात्रै डस्टबिन राख्न सम्भव हुने बताए ।
View : 153
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved