विराटनगर । विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ ।
करुणा फाउण्डेशनसंगको सहकार्यमा विराटनगर–१५ स्थित रानी अस्पतालबाट सुरु गरिएको पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर १९ वटै वडामा सञ्चालन गरिने मेयर नागेश कोइरालाले बताए ।
पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर महानगरले व्यापक रुपमा पाठेघरको मुखको क्यान्सरको जाँच सुरु गरेको उनको भनाइ छ ।
महानगरको स्वास्थ्य महाशाखा संयोजक डा दिलीपकुमार यादवका अनुसार पाठेघरको मुखको क्यान्सरको जाँच १९ वटै वडामा नियमित हुनेछ । त्यसका लागि महानगरले ४२ जना स्वास्थ्यकर्मीहरूलाई भीआईए परीक्षणसम्बन्धी तालिम दिइसकेको छ । त्यस्तै ५ जनालाई विशेष तालिम दिइएको महानगरको स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले जानकारी दिए ।
तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले महानगरअन्तर्गतका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट नियमित जाँच गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
३० देखि ६० वर्ष उमेर समूहका करिब ८० प्रतिशत महिलाहरूको जाँच गर्ने लक्ष्य राखिएको छ ।
शिविरमा नोवेल अस्पतालका दुईजना स्त्रीरोग विशेषज्ञसहित रानी अस्पतालका चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए । मंगलबार ५८ जनाले परीक्षण गरेको नर्सिङ अधिकृत मीना अधिकारीले जानकारी दिइन् ।
यसैबीच रानी अस्पतालमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको उपचारका लागि करुणा फाउण्डेसनले महानगरलाई दुई थान थर्मोकगुलेसन मेसिन हस्तान्तरण गरेको छ ।
फाउण्डेसनका कार्यकारी निर्देशक योगेन्द्र गिरीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई थर्मोकगुलेसन मेसिन हस्तान्तरण गरेका हुन् ।
View : 91
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved