Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

हिमालय रोडमा कोशी उत्सव, स्थानीय व्यापारीको विरोध

उद्‌घोष सम्वाददाता
१५ फागुन २०८१, बिहिवार

विराटनगर । विराटनगरको हिमालय रोडमा कोशी विचार उत्सव हुने भएको छ । बीना फाउण्डेसनको आयोजनामा बिहीबारदेखि तीन दिन सो उत्सव हुन लागेको हो ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै फाउण्डेसनका संस्थापक बरुण झाले क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवद्र्धन गर्न उत्सवको आयोजना गरिएको जानकारी दिए ।

जसमा केन्द्रीय र प्रदेशस्तरीय राजनीतिक नेतृत्व तथा विज्ञहरूको सहभागीतामा प्यानल छलफल हुने जनाइएको छ ।

उत्सवमा हुने छलफलमा कांग्रेस नेता डा शेखर कोइरालासहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले नेता प्रदीप ज्ञवाली, प्रतिनिधि सभामा सांसदहरू योगेश भट्टराई, मनिष झा, सुनिता बराल, शिशिर खनाल, निशा डाँगी, भगवती चौधरी, ज्ञानेन्द्र शाहीलगायत विषयविज्ञहरूले वक्ताका रुपमा सहभागी हुने कार्यक्रमकी संयोजक जेनिशा सुमनले जानकारी दिइन् ।

प्यानल छलफलको सहजीकरण समेत चर्चित पत्रकारहरू टीकाराम यात्री, दिलभुषण पाठक, जीवराम भण्डारी लगायतले गर्ने जनाइएको छ ।

कोशी प्रदेशमा पहिलो पटक हुन लागेको उक्त विचार उत्सवका लागि करीव २६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जनाइएको छ । 

खर्चको स्रोत जुटाउन विभिन्न तहका सरकारहरूसँग सहकार्य हुने र निजी क्षेत्रबाट समेत सहयोग हुने जनाइएको छ ।

स्थानीय व्यापारीको विरोध

यसैबीच, कोशी उत्सवका नाममा हिमालय रोडको व्यापार व्यवसायलाई प्रभावित गर्न खोजिएको भन्दै स्थानीय व्यापारीहरूले विरोध जनाएका छन् । 

उनीहरूले ठूलो तयारीका साथ रोडको यातायात आवागमन प्रभावित हुने गरी मञ्च लगायतका संरचना बनाइएकोमा असन्तुष्टि जनाएका हुन् । 

ठुलो आवाज आउने गरी साउण्ड सिस्टम जडान गर्न लागिएको प्रति समेत हिमालय रोडका व्यापारीहरूले विरोध जनाएका छन् । 

हिमालय रोडमा रहेका व्यापारीहरूको मर्कामा वेवास्ता गरेर स्थानीय सरकारले पटक–पटक विभिन्न कार्यक्रमको अनुमति दिंदा उनीहरूले संघर्ष समिति समेत बनाएर आन्दोलन गरेका थिए ।

View : 181

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved