Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

भोटेकोशी बाढी पीडितलाई विराट ग्रुपले दियो ७२ लाख

उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

विराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब स्वरूप संकलित ४७ लाख ५० हजार तथा ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीको व्यक्तिगत तर्फबाट २४ लाख ५० हजार गरी कुल ७२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए ।

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विराट ग्रुपले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूसँग आफूहरू साथमा रहेको जनाएको छ ।

यसअघि नै बिराट ग्रुपका अध्यक्ष डा. कार्कीले विपद्का कारण घाइते भई उपचार आवश्यक पर्ने नागरिकलाई सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले बाढीबाट घाइते तथा प्रभावितहरूको उपचारका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक तथा विशेषज्ञ सेवा, शल्यक्रिया, सघन उपचार (आईसीयू), अस्पताल शय्या तथा आवश्यक चिकित्सा उपकरण र पूर्वाधार तयारी अवस्थामा राखेको जनाएको छ ।

त्यसैगरी बिराट हेल्थकेयर इन्डस्ट्रिज प्रालिले बाढी प्रभावित महिलाहरूको महिनावारी स्वास्थ्यलाई समेत ध्यानमा राख्दै आवश्यक सेनेटरी प्याड तथा डाइपर लगायतका सामग्री सहयोग स्वरूप पठाएको जनाएको छ।  

विगत लामाे समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएको बिराट ग्रुप अन्तर्गत रहेको बिराट नर्सिङ होम, बिराट मेडिकल कलेज टिचिङ हस्पिटल, बिराट मेडिकल कलेज र बिराट हेल्थकेयर इन्डस्ट्रिज प्रालिले विगतदेखि नै विपद्का बेला प्रभावितहरूको उपचार र स्वास्थ्य सेवामा निरन्तर सहयोग गर्दै आएका छन् ।

View : 217

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved