Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सीमावर्ती क्षेत्रमा व्यक्ति कि पार्टी ?

नयाँ मतदाताले नयाँ उम्मेदवार खोज्दै, पुरानालाई पुरानाकै भर

पार्टीलाई भोट दिने कि व्यक्तिलाई रोज्ने भन्ने विषयमा गाउँस्तरमै मत विभाजन स्पष्ट देखिन थालेको छ ।
कमल रिमाल
१० फागुन २०८२, आइतवार

मोरङ जहदा–६ पोखरिया बजारमा स्थानीय युवा । तस्वीर : कमल/उद्घोष

विराटनगर । भारतसँग सिमाना जोडिएको मोरङको जहदा–६, पोखरियासहित दक्षिणी भेगका गाउँहरूमा आगामी निर्वाचनको माहोल तात्दै जाँदा मतदाताबीच रोचक बहस देखिएको छ । पार्टीलाई भोट दिने कि व्यक्तिलाई रोज्ने भन्ने विषयमा गाउँस्तरमै मत विभाजन स्पष्ट देखिन थालेको छ । युवाले युवालाई समर्थन गरेका छन् भने पुरानाले पुरानै उम्मेदवार र दललाई । यो दुई पुस्ता बीचको बहस अब गाउँभित्र पनि देख्न सकिन्छ ।

पोखरियाका २५ वर्षीय सुशान्त करदार यस पटक पार्टीभन्दा पनि व्यक्ति हेरेर मत दिने तयारीमा छन् । उनका अनुसार विगतमा अभिभावकहरूले पार्टीलाई आधार मानेर भोट दिदा अपेक्षित परिवर्तन र विकासले गति लिन सकेन । ‘परिवारमा चार जना मतदाता छौं, यसपटक सबैले फरक–फरक उम्मेदवार रोज्ने निर्णय गरेका छौं,’ उनले भने । तर, करदारकै उमेरका राजानन्द गच्छदार भने पार्टीमै अडिग छन् ।

‘भोट त पार्टीलाई नै दिने हो, तर पुरानो होइन नयाँलाई,’ उनले स्पष्ट पारे । उनका अनुसार पार्टीको संरचना र नीतिबिना व्यक्तिले मात्रै विकास गर्न सक्दैन । परिवारमा छ जना मतदाता रहेको बताउँदै उनले सबैले पार्टीकै पक्षमा मत हाल्ने बताए ।
कृषिमा संलग्न गच्छदारले स्थानीय सरकार बलियो बनेसँगै ग्रामीण क्षेत्रमा कालोपत्रे सडक विस्तार भएको उल्लेख गरे ।

तर, युवापुस्ताले सडकलाई मात्र विकासको मापन मान्न नहुने तर्क अघि सारेका छन् ।  यहाँका युवाले कृषि उत्पादनले बजार नपाउनु र खेतीको समयमा मल बीउको अभाव हुनुलाई पनि विकाससँग जोडेर हेर्दैछन् । 

धनपालथान गाउँपालिका–३ का अमितकुमार सिंह शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई वास्तविक विकासको आधार मान्छन् । ‘सडक बने पनि शिक्षा र स्वास्थ्यमा सुधार नहुँदा युवामा असन्तुष्टि बढेको छ,’ उनले भने । युवाको दबाबका कारण पुराना दलका केही कार्यकर्तासमेत भित्रभित्रै नयाँ दलप्रति आकर्षित भइरहेको उनको दाबी छ ।

स्थानीय सञ्जय सरदारका अनुसार गाउँमा नया र पुराना दलबीच प्रतिस्पर्धा चर्किंदै गएको छ । कतिपय मतदाता एक मत पुरानालाई र अर्को मत नयाँलाई दिने चर्चा चलिरहेको उनले बताए । दक्षिणी मोरङका युवामा दल र उम्मेदवार दुवै नयाँ चाहिने मनोविज्ञान देखिएको स्थानीय युवा मोतिलाल मण्डलको भनाइ छ ।‘नयाँसँग जादुको छडी छैन, तर पुरानाबाट पनि चमत्कारको अपेक्षा गर्न सकिदैन,’ उनले भने । 

नेपाली कांग्रेस जहदा गाउँपालिकाका सहसचिव राजेशकुमार मण्डल भने दलहरूको ऐतिहासिक योगदान युवालाई स्मरण गराउनुपर्ने बताउँछन् । ‘राणा शासनको अन्त्यदेखि गणतन्त्र स्थापना सम्मका परिवर्तन पुराना दलकै नेतृत्वमा सम्भव भएका हुन्,’ उनले भने । दलहरूको कमजोरीका कारण युवामा निराशा बढेको स्वीकार्दै उनले संवाद र स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए । युवालाई विश्वस्त पार्न नसकेकाले इतिहास बोकेका पार्टीहरूलाई आगामी निर्वाचनले धक्का दिन लागेको उनको भनाइ छ ।

सीमावर्ती भेगमा देखिएको यो मत–विभाजनले आगामी निर्वाचनलाई थप रोचक बनाएको छ । वर्षभरी कृषिकर्म गरेर बस्ने युवा पुस्ताले पनि यस पटक चुनावलाई बढी चासोपूर्ण रुपमा हेरेका छन् । पार्टीको पहिचान कि व्यक्तिको कार्यक्षमता ? मोरङ सीमावर्ती क्षेत्रका मतदाताले यस पटक कुन आधार रोज्ने हुन् भन्ने चासो बढेको छ । 

View : 232

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved