Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मिल्स माविद्वारा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

उद्‌घोष सम्वाददाता
९ फागुन २०८१, शुक्रवार

विराटनगर । विराटनगर–१६ स्थित मिल्स माविले ७४ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरेको छ । 

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्वर्गीय योगप्रसाद उपाध्याय स्मृति उत्कृष्ट शिक्षक पुरस्कार शिक्षिका इन्दिरा गुरागाईंलाई प्रदान गरियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगद ११ हजार १ सय रुपैयाँसहित  उनलाई सम्मानपत्र प्रदान गरे । 

पूर्वविद्यार्थी एवं समाजसेवी प्रकाश दाहालले विद्यालयको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरेका हुन् ।

सोही अवसरमा शिक्षकहरू सुधीर यादव, ओमप्रकाश राजवंशीलगायत चार जनालाई उत्कृष्ट शिक्षक सम्मानबाट सम्मानित गरिएको थियो । 

मेयर कोइरालासहित महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीलगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

त्यस्तै कक्षा ७ मा अध्ययनरत युनिशा कार्कीसहित एक दर्जन उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुन सक्ने बताए । 

विद्यालयदेखि नै विद्यार्थीले सीपमूलक र रोजगारमूलक शिक्षा प्राप्त गरेमा उत्पादित जनशक्तिले विदेश गएर पनि राम्रो कमाइ गर्न सक्ने उनको भनाइ थियो । 

२००७ सालमा स्थापित मिल्समा हाल नर्सरी, केजी, कक्षा १, २, ६ र ७ मा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको प्रअ विन्दुकुमार लावतीले जानकारी दिए ।

पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमलाई विद्यालयले लागू गरेको प्रअ लावतीको भनाइ थियो । 

उनका अनुसार पढ्दै, पढाउँदै र कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षक विद्यार्थी मिलेर कम्प्युटर, ल्यापटप, मोवाइल मर्मत केन्द्र सञ्चालन गरिएको छ । साथै छतमा ड्रागन खेती र विद्यालयको खाली जग्गामा केरा खेती पनि सुरु गरिएको छ । 

वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विज्ञान, प्रविधि, कला र स्वास्थ्य प्रदर्शनी गरेका थिए । त्यस्तै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए । 

विद्यालयमा १ हजार १४६ विद्यार्थी अध्ययनरत छन् भने ५३ शिक्षक–कर्मचारी कार्यरत छन् ।

View : 13

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved