सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको आइतवारको खेलमा उर्लाबारी भेट्रानलाई शून्यका विरूद्व २ गोलको अन्तरले पछि पार्दै विराट भेट्रान बी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विराट भेट्रानद्वारा सुकुना खेल मैदानमा आयोजित प्रतियोगिताको प्रतिष्पर्धात्मक खेलको मध्यान्तरसम्ममा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
मध्यान्तरपछिको १२ मिनेटमा आयोजक बी तर्फका खेलाडी नगेन्द्र लिम्बूले पहिलो गोल गरेर आफ्नो टोलीलाई अगाडि बढाएका थिए । यसैगरी आयोजक बीको तर्फबाट मध्यान्तरपछिको खेलको १६ मिनेटमा महेन्द्र खवासले सानदार गोल गरेर आफ्नो टोलीलाई जितको यात्रा तय गराएका थिए ।
उपयुक्त खेलसीपबाट जवाफी गोल फर्काउन नसक्दा उर्लाबारीको टोली छिमेकी खेल मैदानमा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । उर्लाबारी मोरङले धेरै पटक गोल लगाउने अवसर पाए पनि खेलाडी बीचको उपयुक्त तालमेल नमिल्दा क्वाटरफाइनलको अवसरबाट पछि परेको हो ।
खेलको उत्कृष्ट खेलाडी आयोजक तर्फबाट गोलरक्षक सतिस बस्नेत घोषित भए । माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश वटा टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेता टोलीले १ लाख तथा उपविजेताले ५० हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने आयोजक क्लबका सचिव समीर बस्नेतले जानकारी दिए ।
View : 26
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved