आँखा अस्पताल सिलबन्दी प्रकरण
विराटनगर । विराटनगरका सातवटा आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा प्रशासनबाट गरिएको सिलबन्दीप्रति एसोसिएशन अफ प्राइभेट हस्पिटल (अफिन) कोशी प्रदेश समितिले आपत्ति जनाएको छ ।
अफिन कोशी प्रदेशका सचिव प्रकाश दाहालले स्वास्थ्य संस्थामा समस्या वा कानुनी कमजोरी देखिए त्यसलाई सच्याएर अघि बढाउनु पर्नेमा नियमनका नाममा एक्कासी अस्पताल नै बन्द हुने गरी सिलबन्दी गरिनु दुःखद् भएको बताए ।
उनले सिलबन्दीमा परेका स्वास्थ्य संस्थाले जनस्वास्थ्य निर्देशनालय धनकुटाबाट अनुमति लिए पनि सरकारको बदलिंदो नीति नियमका कारण समयमा कानुनी प्रक्रिया पूरा नगर्न नसकेका र प्रक्रियामा रहेका संस्थालाई एकैचोटी बन्द गरिनु उचित नभएको बताए ।
‘कतिपय अस्पतालले त २०८४ सालसम्मको नवीकरण पनि गरिसकेका छन्, पछिल्लो कानुनी व्यवस्थालाई मात्रै टेकेर प्रशासनले बलपूर्वक अस्पताल सिलबन्दी गर्नु स्वास्थ्य क्षेत्रकै लागि दुःखद् हो’ उनले भने, ‘विराटनगरमा आँखा उपचारका लागि नयाँ प्रविधि र जनशक्तिका साथ स्वास्थ्य संस्थाहरूले खुल्नुलाई नै राज्यले नकारात्मक रुपमा लिएकोजस्तो हामीले महसुस गरेका छौं, आँखा उपचारजस्तो अत्यावश्यक सेवा दिइरहेका स्वास्थ्य संस्थालाई एउटा कारण देखाएर बन्द गराउन राज्य नै लाग्नुले हामीलाई निकै निरास बनाएको छ ।’
उनले गल्ती भएको भएपनि एकैपटक स्वास्थ्य संस्थामै ताला लगाउँदा सवैभन्दा महत्वपूर्ण उपचार सेवा प्रभावित भएको बताए । विराटनगरमा आँखा अस्पतालका कारण दुई हजार बढीले प्रत्यक्ष रोजगारी पाएको उनको दाबी छ । त्यस्तै दुई सय बढी स्वास्थ्यकर्मीले कामको अवसर पाएको र विराटनगरलाई आँखा उपचारको गन्तव्यका रुपका विकास गर्न सहयोग पुगेको बेलामा एक्कासी सिलबन्दी गरिनु उचित नभएको उनले बताए ।
‘नियमन गर्ने भन्दैमा अस्पताललाई बन्द नै गर्ने लेभलमा जानु हुँदैनथ्यो, यसले हाम्रो यहाँको उपचार सेवाप्रति नै खराब मानसिकता विकास हुनसक्छ,’ दाहालले प्रश्न गरे, ‘हामीलाई विश्वास गरेर आँखाको उपचार गर्न विरामीहरू आएमा कसरी सेवा दिने ?’
विराटनगरका आँखा अस्पतालहरूले नेपालसहित भारतबाट ठूलो संख्यामा आउने बिरामीलाई सेवा दिंदै आएका छन् । जसको परिणाम स्थानीय व्यापार व्यवसायमा समेत आर्थिक गतिविधि बढिरहेको र विदेशी मुद्रा आर्जनमा समेत योगदान पुगेको छ ।
सचिव दाहालले आँखा उपचार क्षेत्रमा कुनै विकृति वा कमजोरी नै नभएको भन्ने दाबीमा आफू नरहेको स्पष्ट पारे । तर बदलिंदो कानुनी व्यवस्थालाई देखाएर अस्पताल नै बन्द गरिदिनु उपयुक्त नभएको बताए ।
अनुगमन टोलीले बुधबार विराटनगर–१० स्थित सञ्जीवनी आई केयर प्रालि र विराटनगर–१३ स्थित हिमाल आँखा अस्पताल र विराटनगर–१४ स्थित विराट आँखा अस्पतालको प्रयोगशालामा सिलबन्दी गरेको थियो ।
बिहीबार थप चारवटा अस्पतालमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए ।
बिहीबार सिलबन्दी गरिएका अस्पतालमा विराटनगर–१५ स्थित इफराह आँखा अस्पताल प्रालि, विराटनगर–९ स्थित विराट रानी आँखा अस्पताल प्रालि, विराटनगर–१५ स्थित अखण्ड ज्योति आँखा अस्पताल प्रालि र विराटनगर–१३ स्थित नेपाल आँखा अस्पताल प्रालि रहेका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयसहितको छानबिन तथा अनुगमन टोलीले बुधबार र बिहीबार गरेर सातवटा आँखा अस्पतालमा सिलबन्दी गरिएको थियो ।
समितिले आँखा उपचारसम्बन्धी स्वास्थ्य संस्थाको अनुगमन तथा छानबिनका क्रममा आँखा उपचारसम्बन्धी सेवा सञ्चालनका लागि भएको कानुनी व्यवस्था पालना नहुँदा शिलबन्दी गरिएको उल्लेख गरेको छ ।
View : 71
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved