सुनसरी । हिसान इटहरी ८ किलोमिटर रनमा बिदेशी खेलाडी च्याम्पियन बनेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्लातर्फ ८ किलोमिटर रनमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका हुन् । निर्धारित दुरी मौरीकीले २४ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए ।
दोस्रो भएका सरोज लिम्बूले २५ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गर्दा ओशन राईले २६ मिनेट ५ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भए ।
महिलातर्फ इन्द्रकला नेम्वाङ प्रथम हुँदा जुही राई दोस्रो र सकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दुरी ३१ मिनेट ३ सेकेण्ड, जुहीले ३२ मिनेट ३५ सेकेण्ड र सकुन्तलाले ३३ मिनेट ३१ सेकेण्डमा पूरा गरेका थिए ।
प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
सेकेण्डरी समूहअन्तर्गत ५ किलोमिटर दुरीमा कालुमान राई प्रथम र अमर यादव दोस्रो भए । तेस्रो स्थानमा विवाद परेकाले छानबिन भइरहेको जनाइएको छ ।
महिलातर्फको प्रथम स्थानमा पनि प्रोटेस्ट परेकाले घोषणा हुन नसकेको कार्यक्रम संयोजक सुवास लुईँटेलले जानकारी दिए ।
उक्त समूहमा बिनिता राई दोस्रो र तिर्सना राई तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाए । प्राइमरी समूहको ३ किलोमिटरतर्फ प्रथम स्थानका लागि प्रोटेस्ट परेको छ । सो समूहमा रोमन माझी दोस्रो र मनिष लिम्बू तेस्रो भए ।
महिलातर्फ रेस्मा दर्जी प्रथम, राधा माझी दोस्रो र करिना राई तेस्रो भए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा केही विदेशीसहित नेपालका विभिन्न जिल्लाका ८ सय बढी धावक धाविकाले प्रतिस्पर्धा गरेका थिए ।
View : 53
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved