विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) बाट विराटनगर किंग्स बाहिरिएको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोज्को जितले विराटनगर किंग्ससहित पोखरा एभेन्जर्स पनि बाहिरिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको थियो ।
विराटनगर किंग्सका लागि चितवनको पराजय आवश्यक थियो । तर चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाटै बाहिरिएका हुन् । उनीहरू शीर्ष ४ मा पर्ने सम्भावना अब पूर्णरुपमा टरेको हो ।
जितसँगै चितवनले प्लेअफमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । काठमाडौं गुर्खाजसँग अझै एक खेल खेल्न बाँकी रहेको विराटनगर अहिलेसम्मका ६ खेलमा दुईवटामा मात्रै जित हाँसिल गरेर ४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
मार्की सन्दीप लामिछानेको कप्तानी रहेको विराटनगरले कुशल मल्लको काठमाडौंलाई हराए पनि ६ अंकमात्रै प्राप्त हुने हुँदा प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो ।
विराटनगरकै नियती पोखरा एभेन्जर्सलाई छ । उसले सुदुरपश्चिम रोयल्ससँग अन्तिम खेल खेल्न बाँकी रहेको र उक्त खेल जित्दा ६ अंक मात्रै हुने भएकोले बाहिरिनुपरेको हो ।
प्रतियोगिताको अंक तालिका अनुसार जनकपुर बोल्ट्स खेलेको ७ खेलमध्ये ५ वटा जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम रोयल्स अहिलेसम्मका ५ खेलमा ४ वटा जित हाँसिल ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
अंक तालिकाअनुसार चितवन राइनोज् तेस्रो, कर्णाली याक्स चौथो, काठमाडौं गुर्खाज पाँचौं, विराटनगर किंग्स छैटौं, पोखरा एभेन्जर्स सातौं र लुम्बिनी लायन्स अन्तिम तथा आठौं स्थानमा रहेको छ ।
View : 118
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved